जातीय पार्टी, फलामको चिउरा

आदिवासी जनजातिको अलग्गै पार्टी खोल्ने कसरत त भएको छ, तर यस्ता राजनीतिक समूहलाई नेपाली मतदाताले नपत्याउने गरेको विगत चुनावहरूको अनुभव छ ।

नेपाल आदिवासी जनजाति महासंघ, जनजाति गैरसरकारी संस्था महासंघ, जनजाति वकिलहरूको समूह र विघटित संविधानसभाको आदिवासी जनजाति सभासद् सभा (ककस) ले २१-२२ असारमा राजधानीमा गरेको राजनीतिक सम्मेलनले आदिवासी जनजातिको छुट्टै पार्टी आवश्यक भएको ठहर गर्‍यो । जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी विश्व आदिवासी दिवसको अवसर पारेर ९ अगस्त (२५ साउन) मा नयाँ पार्टी घोषणा गर्ने तयारी भइरहेको बताउँछन् । तर, जनजातिका नाममा यसअघि खुलेका पार्टीप्रति मतदाता त्यति आकषिर्त भएको देखिंदैन ।

२८ चैत २०६४ मा भएको संविधानसभा चुनावमा जातीय मुद्दा बोकेका सात वटा पार्टीबाट कसैले पनि प्रत्यक्ष निर्वाचन जितेनन् भने समानुपातिकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम) र राष्ट्रिय जनमुक्ति पार्टी(राजमुपा) का दुइ-दुइ तथा नेपाः राष्ट्रिय पार्टीका एक जना विजयी भए । निर्वाचनमा सात वटै दलले खसेको मतको एक प्रतिशत पनि पाएनन्, जबकि २०५८ सालको जनगणनाअनुसार नेपालमा आदिवासी जनजाति नै करीब ३७ प्रतिशत छन् ।

संविधानसभा चुनावमा संलोरामले ७१,९५८, राजमुपाले ५३,९१०, नेपाःले ३७,५५७, परशुराम तामाङको ताम्सालिङ नेपाल राष्ट्रिय दलले २०,६५७ र जनजाति उत्पीडन बारेको चर्चित किताब ‘नेपालमा अदेखा सच्चाइ’का लेखक गोपाल गुरुङको मंगोल नेशनल अर्गनाइजेशनले ११,५७८ नेपाल समता पार्टीले ४,६९७ र जनमुक्ति पार्टी, नेपालले ३,३९६ भोट पाएका थिए । यीबाहेक जातीय मुद्दा उठाउने प्रजातान्त्रिक जनमुक्ति पार्टी, नेपाल जागृति दल र नेपाली राष्ट्रिय जनभावना पार्टी स‌विधानसभा निर्वाचनमा सहभागी नै हुनसकेका थिएनन् ।

कुनै जाति, भाषा, धर्म, सम्प्रदायका व्यक्ति मात्र सदस्य रहेको दललाई निर्वाचन आयोगमा दर्ता गर्न नपाउने प्रावधानका कारण संविधानसभा निर्वाचनअघि गोपाल गुरुङको मंगोल अर्गनाइजेशनले जनतामा जाने अवसर पाएको थिएन । जातीय मुद्दा उठाउने दलका उम्मेद्वार त्यसअघिका आम निर्वाचनहरूमा पनि विजयी हुनसकेका थिएनन् । २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १३० स्थानमा उम्मेदवारी दिएको राजमुपाले ९४,८६० र २४ उम्मेदवार खडा गरेको जनमुक्ति पार्टी नेपालले ९,६१६ मत पाएका थिए । २०५१ को आम चुनावमा राजमुपाले ७९,९९६ र डा. हर्षहादुर बुढा मगरको राष्ट्रिय जनता पार्टी ­­(राजपा) ले १,५२५ मत पाएका थिए । २०४८ को आम निर्वाचनमा राजपाले ४,४०६, काजीमान कन्दङ्वाको नेपाल राष्ट्रिय जन पार्टीले ५,७३२ र एमएस थापाको नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाले ३४,५०९ मत ल्याएका थिए । थापा अहिले राजमुपाको नेतृत्व गर्छन् ।

बालुवाबाट तेल
माथिका दृष्टान्तले जातीय विषयमा मात्र केन्द्रित राजनीतिक दलप्रति कमै मतदाता आकषिर्त भएका देखाउँछन् । २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएयताका चार वटा निर्वाचनमा राजमुपा बाहेक अरूले निरन्तरता दिन समेत सकेको देखिंदैन । २०४८ मा नेपाल राष्ट्रिय जन पार्टीले मात्र चुनाव लड्न सक्यो भने २०५१ पछि राष्ट्रिय जनता पार्टीको अस्तित्व नै मेटियो । २०५६ र २०६४ मा चुनाव लडेको जनमुक्ति पार्टी नेपाल राजमुपाबाट विभाजित भएर बनेको हो । दुइ समानुपातिक सभासद् जितेको संलोराम माओवादीबाट बाहिरिएका लक्ष्मण थारू तथा राजमुपा छोडेका कुमार लिङ्देन र सन्जुहाङ पालुङ्वाले गठन गरेका थिए । राजमुपाका एक संस्थापक गोपाल किराती किरात वर्कर्स पार्टी हुदै अहिले एमाओवादी पोलिटब्यूरो सदस्य छन् ।

खास धार्मिक र जातीय अधिकारका लागि पार्टी खोल्ने चलन पुरानै हो । र्सार्क राष्ट्रहरू भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमा पनि यस्ता पार्टी क्रियाशील छन् । भारतीय जनता पार्टी (बिजेपी) त्यस्तै एउटा पार्टी हो, जो राष्ट्रिय दृष्टिकोणका साथ अगाडि बढेर प्रभावशाली भएको छ । तर नेपाली समाजको मिश्रति संरचना, जातीय मुद्दाप्रति राष्ट्रिय पार्टीको संवेदनशीलता र जातीय पार्टी खोल्ने नेताहरूको लघुदृष्टिकोणले हुनसक्छ, नेपालमा त्यस्तो स्तरमा जातीय पार्टीको विकास भएको छैन । नेपालमा चर्को जातीय नाराका साथ जातीय दल खोल्नेहरूमा प्रायःजसो दरबार समर्थक र अवसरवादी राजनीतिकर्मी छन् ।

पछिल्लो समयमा गैर-सरकारी संस्थामा क्रियाशील ‘एक्टिभिष्ट’ हरूले पनि जातीय दलको पैरवी गरिरहेका छन् । विजय गच्छदारको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), जेपी गुप्ताको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र शरतसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टीको माउ उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम, नेपाल पनि शुरूमा गैरसरकारी संस्था नै थियो । मधेश आन्दोलनलगत्तै दल दर्ता भएको फोरमले संविधानसभा निर्वाचनमा पाएको सफलता र त्यसपछि मधेशवादी नेताहरूले गरेको रजगज देखेर पनि कतिपय जनजाति ‘एक्टिभिष्ट’ हरूले आदिवासी जनजाति महासंघलाई पार्टीको रुप दिन चाहेको हुनसक्छ । जनजाति पार्टीमा एक दशक बिताएका नाम उल्लेख गर्न नचाहने एक नेता भन्छन्, “संविधानसभा निर्वाचनपछि सत्ताको आधा हिस्सा मधेशी नेताका लागि आरक्षित भएको सबैले देखेका छन् । तर आदिवासी जनजाति राजनीतिक सम्मेलनलाई चाहिं बालुवाबाट तेल निकाल्ने प्रयास भन्नुपर्छ ।”

ती नेताको विश्लेषणमा, गैससका ‘एक्टिभिष्ट’ हावी भएका राजनीतिक सम्मेलनको अवधारणापत्र नेपालका उत्पीडित समुदायको सामूहिक आवाज भए पनि त्यो राजनीतिक दर्शनविहीन छ । “दर्शनविनाको दल र तिनका नेता अवसरवादी र मौसमी मात्र हुनपुग्छन्”, उनी भन्छन्, “मौसम हेरेर सःशुल्क ‘एक्टिभिज्म’ वा राजनीति गर्नेहरूले दल खोल्दैमा उत्पीडितहरूको उत्थान हुन्छ भन्न सकिन्न ।”

वाहुनवादी, पितृसत्तावादी र एकल उच्चजातीय प्रभुत्ववादी नेतृत्वको कब्जामा रहेका प्रमुख राजनीतिक दलहरूले सिंगो मुलुकलाई समेट्न नसकेको हुँदा मानवअधिकार, सामाजिक न्याय, समानता र आदिवासीवादमा आधारित, समानुपातिक र समावेशी राजनीतिक दलको निर्माण आवश्यक भएको भन्ने सम्मेलनको ठहर थियो । त्यही सम्मेलनले साँघुरो जातिवादको शिकार भएका जनजातिमा एकता र राष्ट्रिय दृष्टिकोण तथा तिनका नेता-कार्यकर्तामा दूरदृष्टि र राजनीतिक चरित्रको अभावलाई समस्याको रूपमा औंल्याएको छ । अवधारणापत्रले आदिवासी जनजाति पार्टी जातीय मुद्दामा मात्र केन्द्रित हुनु र सामाजिक न्याय तथा राज्य सञ्चालनका बृहत्तर मुद्दामा अस्पष्ट हुनुलाई जनजाति पार्टी खोल्न नसक्ने कारण मानेको छ ।

संस्थापनसँग असन्तुष्ट एमाले पोलिटब्यूरो सदस्य विजय सुब्बा पार्टी खोल्ने अवस्था आएमा नेतृत्वतहमै अन्य जातिको पनि समानुपातिक सहभागिता गराउने विधान बनाइने बताउँछन् । सम्मेलनको अवधारणापत्र लेख्नेमध्येका एक खगेन्द्र माखिम पनि मेची-काली समेटेर राष्ट्रियस्तरको पार्टी बनाउने दाबी गर्छन् । माखिम अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउन चाहने संलोरामका महासचिव हुन् । तर, साउनमा नयाँ पार्टी घोषणा गर्न तयार पारिएको अवधारणापत्र जनजातिको अधिकार भन्दा बाहिर निस्कन सकेको छैन । अर्कोतिर, एमाले र नेपाली कांग्रेसका असन्तुष्ट बाहेक एमाओवादी र नेकपा-माओवादीका जनजाति नेताले यसमा रुचि देखाएका छैनन् ।

एमालेबाट राजीनामा दिएर छुट्टै पार्टी बीनाउन सक्रिय पूर्वसभासद् पासाङ शेर्पा भने प्रमुख दलहरूबाट जनजातिले अधिकार पाउँछन् भन्ने विश्वास हराएकोले नयाँ पार्टीको भविष्य देख्छन् । २९ प्रतिशत भोट पाउने एमाओवादी संविधानसभामा सबभन्दा ठूलो दल बनेको अवस्थामा ३७ प्रतिशत जनजातिको राजनीति चानचुने नहुने शेर्पाको बुझाइ छ । कांग्रेस नेता भीमबहादुर तामाङ भने जनजातिले प्रमुख दलहरूमै बसेर अधिकार खोज्नुपर्ने बताउँछन् । नेता तामाङ भन्छन्, “लोकतन्त्र र राष्ट्रिय हित नहेर्ने कुनै पनि पार्टी स्थायी हुँदैन ।”

१–१५ साउन २०६९ को हिमाल खबरपत्रिकाबाट

  • http://www.facebook.com/surasundari Sura Sundari

    यो तथ्याङ्क गलत छ, नेपा राष्ट्रिय पार्टीले लाख भन्दा बढी मत ल्याएको थियो

  • Khas nepali

    यो Sura Sundariको नाममा कमेन्ट लेख्ने मान्छे पनि हावा रैछ । ५३,९१० भोट पाएको राष्ट्रिय जनमुक्ति पार्टीले दुइ सभासद पाउँदा एक लाख भन्दा बढी ल्याएको भए कति सभासद हुन्थ्यो ? बुद्धरत्न मानन्धर वाहेक त कोही थिएन त नेपा पार्टीको सभासद ? सपनामा के कमेन्ट गर्नु हो ?

  • manoj

    it has already been 5 years since the last election and many things have happened since then. People have learnt, realised and understood a lot..therefore this time around the situation will be different and YOU as a journalist cannot negate the upcoming result comparing with your historical results

  • Anil thapa

    Very good analysis. keep it up Santa Gaha ji.

  • Aadivaasinepali

    hoinaa santaji hijo ra aajaamaa aakaa jamin farak chha ,pahilaa sabai janajaati dalit madhesi aadivaasile kaangressmaa biswaas gare tespachhi emaalemaa ani maaobaadimaa tara uniharuko jiumaa eksaro aangdhaakne khasena ,tesle thulo chetanaa diyo ,yi partiharule kehi nagarne rahechhan bhanera ,raastriya janamuktile uthaaeko maag haru sahi chha samaantaa taa ko naaraa uthaaune paarti kasari jaatiya parti bhayo ,je hos hijo maancheko chet fireko thiyena tesaile kam bhot aayo aba hernus ko kahaa pugachha bhanera ,aadivaasi janaajaati jaage ,kaangres emaale maaobaadi sabai baahun baadi paarti hun ra baahunko rashaakolaagi maatra baneko ho bhanne sabailaaii chetanaa bhayaa…aadivaasi nepali

  • Motilal Rana Magar

    २०६४ र अहिलेको परिस्थितिमा अत्यन्तै परिवर्तन आईसकेको छ र समाज खुला भईसकेको छ। जनता ईतिहासका निर्माता हुन् र पुरानै ईतिहास दोहोरिनु पर्छ भन्ने पनि छैन, जनताले नयाँ ईतिहास कायम गर्न सक्छन्। दलका उच्च तहका नेताहरुको पनि आफ्नै दलमा सुनुवाई हुन सक्दैन भने आफ्ना अधिकारहरुको सँरक्षणको निमित्त नयाँ जनजातिय दलको विकल्प छैन, यो वाध्यात्मक परिस्थिति हो। उपेक्षित जातिहरुको हकहितको आवाज उठाउँदैमा राष्ट्रिय हित धरापमा पारेको हैन। प्रजातिय तत्वको समुन्नत विकास विना देशको विकास सम्भव छैन।

  • Brian Powell

    kura sahi ho “manis thulo dila le huncha Jaatale hudaina ” ,We Nepalese should choose leaders based on their honesty and ability not coz of their caste ,It will invite conflict among us which will be a disaster.United Nepal.

  • PRASANT

    46 saal ma 1 gareko prayaas ra ahileko awastha laai kina bujhpachayeka holan?naya party khlidaima yiniharulaai k ko pir? bichar namile pachhi arko party nakholera k hotel kholchhan ta rajniti garne harule ?yo sab samarthak haaruko bhutne asaphal prayaas matra hun!

  • nagendra rai

    भीमवहादुर तामाङको भनाई कांग्रेस वा एमालेमै वसेर जनजातीले सती जानुपर्ने जस्तै हो ।

  • nagendra rai

    janamukti le ni 56 saal ko nirbachan ma 1 lakh jyada mat lyako thio yo jhuto samachar .ho