कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा)
काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।
परीक्षा हलबाट निस्किने बित्तिकै आलिया बशर नमाज पढ्न थालिन्। उनीसँगै अन्य विद्यार्थी पनि जोडिए। “व्रत बसेर परीक्षामा सहभागी हुँदा रमाइलो नै भइरहेको छ,” बशर सुनाउँछिन्।
यति वेला रमजान चलिरहेको छ। बशरका लागि अझ महत्त्वपूर्ण वार्षिक परीक्षा पनि सञ्चालन भइरहेको छ। कक्षा ६ को परीक्षा सकेर बशरले विद्यालयमै नमाज पढिन्। “नमाजका लागि १ बजे घर पुग्नुपर्ने हतारो छैन, विद्यालयले नमाज पढ्ने व्यवस्था गरिदिएको छ,” उनी भन्छिन्।
अहिले देशभरका विद्यार्थी वार्षिक परीक्षामा जुटिरहेका छन्। बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म परीक्षा चल्छ। रमजानको समय भएकाले ठ्याक्कै १ बजे मुस्लिम समुदायका विद्यार्थीले नमाज पढ्ने गर्छन्। यसका लागि कन्या मन्दिरले स्कूलमा नमाज पढ्नका लागि सभाकक्षको व्यवस्था गरेको छ।
नमाज पढ्ने कोठाको व्यवस्था गरिएकाले सजिलो भएको अर्की विद्यार्थी सल्मा खातुन सुनाउँछिन्। मध्याह्न १ बजे नमाज सकेपछि हिमालखबरसँग कुराकानी गर्दै खातुनले खुशी जनाइन्। “नमाजका लागि मात्रै होइन, अन्य कुरामा पनि सजिलो छ,” उनी भन्छिन्, “आफ्नै पोशाकमा पढ्न पाइरहेका छौं।”
कक्षा ८ मा अध्ययनरत खातुन विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि अप्ठ्यारो महसूस नहुने गरेको बताउँछिन्। उनले हिजाब लगाएरै खेलकूद प्रतियोगितामा भाग लिने गरेकी छन्। “अन्य स्कूलमा पढ्दा खेलकूद प्रतियोगितामा भाग लिन पाउँदैनथ्यौं, यहाँ आएदेखि खेलकूदमा पनि सहभागी हुन पाएका छौं,” खातुन भन्छिन्।
कन्या मन्दिर माविमा कक्षा ७ मा पढिरहेकी जास्मिन शेख पनि हिजाबमै लेखपढ र अतिरिक्त क्रियाकलापमा सहभागी हुने व्यवस्था हुँदा सहज भएको सुनाउँछिन्। “हाम्रो विद्यालयमा कुनै भेदभाव छैन, हरेक धर्मका विद्यार्थीलाई समान नजरले हेरिन्छ,” शेख भन्छिन्।
हिजाब र मास्क लगाएर आउने गरेकी अर्की विद्यार्थी मुस्कान खातुन स्कूलमा सुरक्षित महसूस हुने गरेको बताउँछिन्। भारतको बेतियाकी खातुन परिवारसँगै काठमाडौंमा बस्दै आएकी छन्। यही स्कूलमा पढ्दा सजिलो भएको उनी सुनाउँछिन्। “कुनै रोकटोक छैन, स्कूल पनि घर जस्तै लाग्छ,” खातुन भन्छिन्।
रमजानमा मुस्लिम समुदायका व्यक्तिले बिहान ४ः५५ बजेअघि नै खाना खाइसक्ने परम्परा छ। त्यसपछि दिनभर निराहार बस्छन्। मध्याह्न १ बजे नमाज पढ्छन्। साँझ सूर्यास्तपछि मात्रै भोजन गर्छन्।
परीक्षामा सहभागी विद्यार्थी पनि दिनभर निराहार हुन्छन्। उनीहरूका लागि परीक्षा सकिने बित्तिकै नमाज पढ्ने सभाकक्षको व्यवस्था गरिएको छ। रमजानको वेला मात्रै होइन, यो स्कूलले सात वर्षदेखि मुस्लिम समुदायका विद्यार्थीलाई सहज हुने वातावरण बनाएको छ। “हिजाबमै पढ्न पाउने सँगसँगै नमाज पढ्ने छुट्टै सभाकक्षको व्यवस्था गरेका छौं,” सहायक प्रधानाध्यापक भगवानबाबु अधिकारी भन्छन्।
संस्कृति र संस्कारको संरक्षण गर्दै विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्नु नै विद्यालयको लक्ष्य रहेको अधिकारी सुनाउँछन्। सहज वातावरण बनाउँदा पोशाकले विद्यार्थीलाई अप्ठ्यारो नहुने उनको भनाइ छ। “हिजाबले विद्यार्थीलाई कुनै किसिमको अवरोध गरेको छैन,” अधिकारी भन्छन्, “खेलकूदका साथै अधिकांश कक्षामा अग्रस्थान हासिल गर्ने मुस्लिम समुदायका बालिका छन्।”
यसले विद्यार्थीको आकर्षण पनि बढेको छ। आठ वर्षअघि कन्या मन्दिरमा विद्यार्थीको संख्या कमै थियो। सबैलाई सहज हुने वातावरण बनाएपछि विद्यार्थी बढेको उनी बताउँछन्। “हिजाब र नमाजको व्यवस्था गरेपछि कन्या मन्दिर मावि मुस्लिम बालिकाको रोजाइमा परेको छ,” उनी भन्छन्।
यो विद्यालयमा एक हजार १७० विद्यार्थी छन्। जसमा मुस्लिम समुदायका २४५ जना बालबालिका रहेको प्रधानाध्यापक घनश्याम न्यौपाने बताउँछन्।
प्रधानाध्यापक न्यौपानेका अनुसार पहिले मुस्लिम समुदायका थोरै बालिकाले पढ्ने गरेका थिए। उनीहरूका लागि अध्ययनमा सहज वातावरण बनाउन हिजाब लगाउने दिने र नमाज पढ्ने व्यवस्था गरिएको उनी बताउँछन्। “बालबालिकामा मानवीय समवेदना, सद्व्यवहार, सामाजिक सद्भावको विकास स्कूलमै हुने हो,” प्रधानाध्यापक न्यौपाने भन्छन्, “हामीले त्यसका लागि वातावरण बनाउन खोजेका मात्रै हौं।”
यसले बालिकालाई पनि एकअर्काप्रति सद्भाव राख्न, एकअर्काको धर्म, संस्कृति र संस्कारको सम्मान गर्न प्रेरित गरिरहेको उनी बताउँछन्। यससँगै मुस्लिम समुदायका बालिकाले पठनपाठनमा सहज महसूस गरेको उनको अनुभव छ। “मुस्लिम समुदायका बालिकाले आफूलाई सुरक्षित महसूस गरिरहेका छन्,” प्रधानाध्यापक न्यौपाने भन्छन्।
मुस्लिम समुदायको बाक्लो बसोबास रहेको तराई-मधेशमा मदरसा सञ्चालन भइरहेका छन्। मदरसामा धार्मिक विषय समेटिने भएकाले मूलधारको शिक्षामा प्रवेश गर्न समस्या सिर्जना हुने गरेको विद्यार्थी सुनाउँछन्।
तहगत रूपमा पनि मान्यता नभएकाले सरकारी सेवामा प्रवेश गर्न गाह्रो हुने गरेको छ। त्यसैले मुस्लिम समुदायका बालिका मदरसाभन्दा सामुदायिक तथा निजी विद्यालयमा पढ्न रुचाउँछन्। तर सहज वातावरण हुने गरेको छैन।
मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान न्ह्योखास्थित कन्या मन्दिर माविले उदाहरणीय काम गरेको बताउँछिन्। यो विद्यालयले जस्तै अन्यले पनि व्यक्तिगत मान्यता र संस्कारलाई सहज हुने वातावरण बनाउनुपर्ने अध्यक्ष खानको भनाइ छ।
“हरेक बालबालिकाको संवैधानिक अधिकारलाई संरक्षित गर्दै सुविधामुखी बनाएर शिक्षालय आउने वातावरण बनाउनुपर्छ,” खान भन्छिन्, “सरकारी र निजी क्षेत्रका विद्यालयले समावेशी शिक्षा नीति अवलम्बन गर्दै नेपालको सामाजिक विविधता झल्किने वातावरण सिर्जना गर्नुपर्छ।”