‘लिच्छवि अभिलेखले तात्कालिक शासकहरू जनप्रेमी रहेका देखाउँछन्’
‘अंग्रेजले जसलाई जिते, तिनका बारेमा बढी लेखेका छन्, तर जोबाट पराजित भए उनीहरूको इतिहास राम्रोसँग लेखिएको छैन।’
इतिहास संशोधन-मण्डलका संस्थापक सदस्य हुन्, नयनाथ पौडेल। संशोधन-मण्डलका आरम्भकर्ता नयराज पन्तले चलाएको संस्कृत पाठशालामा पढ्ने र इतिहास संशोधनपत्र निकाल्ने २१ जनामध्ये उनी पनि एक थिए। स्वास्थ्य क्षेत्रमा जागीर गर्ने क्रममा जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट राजा यक्ष मल्ल र उनको समय विषयमा विद्यावारिधि गरेका छन्।
१८ वर्षकै उमेरमा भाषा वंशावली सम्पादन गरेका उनले आठ वर्ष लागिमेली गरेर गत वर्ष लिच्छवि लिपि पुस्तक प्रकाशनमा ल्याए। नेपालको इतिहास लेखन, प्रवृत्ति लगायत विषयमा ऐतिहासिक पौडेलसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
लामो समय जनस्वास्थ्यविद्का रूपमा काम गरेपछि इतिहास अन्वेषण र लेखनमा फर्कनुभयो। के कुराले यतातिर फर्कायो?
इतिहास लेखनमा म पहिलेदेखि निरन्तर लागिरहेको हुँ। त्यसकारण इतिहास अन्वेषणमा फर्केको भन्न त अलि मिल्दैन। संस्कृत भाषाको अध्ययनबाट मेरो इतिहास लेखन शुरू भएको हो। नयराज पन्त गुरुले संस्कृत भाषामा अध्ययन-अध्यापन हुने पाठशालाको स्थापना गर्नुभयो। त्यस पाठशालाले अभिलेख सहित ऐतिहासिक स्रोतहरूको खोजी, प्राप्ति, लिप्यन्तरण, भाषान्तरण र प्रकाशन लगायतका इतिहासको अन्वेषण र अनुसन्धान कार्यमा संलग्न गरायो।
यस कामलाई विधिवत् रूपमा लैजाने उद्देश्यले विसंं २००९ मा इतिहास संशोधन-मण्डल संस्था स्थापना भयो। यस संस्थाको पहिलो अध्यक्ष मेरा बुबा भोलानाथ पौडेल हुनुभयो। नयराज गुरुले आफ्ना शिष्यहरूबाट छानेर उहाँलाई अध्यक्ष बनाउनुभएको थियो। यसकारण मेरो शिक्षाको औपचारिक/अनौपचारिक यात्रा बाल्यावस्थादेखि नै संस्कृत, संस्कृति र इतिहासको अध्ययनतिर जोडिन पुग्यो।
पछि जागीरको सिलसिलामा जगदम्बा प्रेसमा पनि आबद्ध भएँ। त्यहाँ काम गर्दैगर्दा २०३२ सालमा लोक सेवाको परीक्षामा शाखा अधिकृतमा मेरो नाम निस्कियो। सरकारी जागीर स्वास्थ्य मन्त्रालयबाट शुरू भयो। मन्त्रालयमा २१ वर्ष काम गरें। त्यही बीचमा अमेरिकाको हवाई विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरें। स्वास्थ्य मन्त्रालयमा काम गर्दाको अवधिमा इतिहासको अध्ययन र लेखनमा केही कमी आएकै हो। तथापि इतिहास सम्बन्धी अध्ययन गरी नै रहेको थिएँ।
पहिले तपाईंले इतिहास अध्ययन शुरू गर्दा र अहिलेको अवस्थामा इतिहास अनुसन्धान र लेखनमा के-कस्ता परिवर्तन आएको पाउनुभयो?
अभिलेखहरूको खोजी र लिप्यन्तरणमा भन्दा पनि व्याख्यामा शैलीगत र विधागत प्रवृत्तिहरू देखिन्छन्। म सानै उमेरदेखि यस कर्ममा लागें। पाठशाला बिदा भएको दिन म बुबा र भाइहरूसँग घर नजिकै पर्ने भएर होला, अभिलेखहरूको खोजी गर्न भक्तपुर जान्थें। यस क्रममा भक्तपुर दरबारको मूल चोकमा राजा गीर्वाणयुद्धविक्रम शाहको एउटा ताम्रपत्र पाइयो। उक्त ताम्रपत्रमा परमनिर्गुणानन्दस्वामीको उल्लेख भएको देखियो। यसबाट राजा रणबहादुरको स्वामी भएपछिको नाम महानिर्वाणानन्द र परमनिर्गुणानन्द दुवै रहेछन् भन्ने थाहा भयो।
तिनताका भक्तपुर दरबारमा रहेका ताम्रपत्रहरूको लिप्यन्तरणमा निकै कठिनाइ भोग्नुपरेको थियो। ती ताम्रपत्र दरबारको मूल चोकमा रहेका कारण त्यहाँ सुरक्षार्थ खटिएका सिपाहीले व्यवधान गर्थे। ताम्रपत्र पढेर सार्न दिंदैनथे। त्यो स्थितिमा पहिलो लाइन पढ्ने, कण्ठाग्र गर्ने र बाहिर आएर लेख्ने, फेरि दोस्रो लाइन घोकेर बाहिर पुगेर लेख्ने गरेर हामीले कतिपय ताम्रपत्रहरूको लिप्यन्तरण गरेका थियौं। हामी फुच्चे भए पनि तलेजु भवानी मन्दिरका पुजारी उपेन्द्रराज राजोपाध्यायले सहयोग गर्नुभएको थियो।
अर्को अभिलेख पशुपतिनाथ क्षेत्रस्थित सूर्यघाटमा रहेको विजयवतीको शिलालेख भुइँमा गाडिएको अवस्थामा भेटियो। अहिलेको जस्तो राम्रो गुणस्तरको क्यामेरा नभएको त्यस वेला अभिलेख सफा गरी रोलरको माध्यमबाट लिपिको उतार गरियो। यो काम निकै कठिन थियो। अहिले आधुनिक प्रविधिले शिलालेखहरूको उतार र लिप्यन्तरण धेरै सहज बनाएको छ।
संशोधन-मण्डलमा आबद्ध रहेका वेला इतिहासप्रति तपाईंहरूको बुझाइ कस्तो थियो?
नयराज गुरुले शुरू गर्नुभएको संस्कृत पाठशालामा आठवर्षे पाठ्यक्रम तयार गरिएको थियो। आठ वर्षमा पढिसक्नुपर्ने मुख्य ग्रन्थहरूमा रघुवंश, अष्टाध्यायी, अमरकोष, भट्टिकाव्य थिए। सूचीमा तोकिएका अन्य १०० वटा किताब पनि पढ्नुपर्थ्यो। उक्त पाठ्यक्रम अनुसारको पढाइ पूरा गरेपछि गुरूले ‘ल अब तिमी मबाट स्नातक भयौ’ भनेर प्रमाणपत्र दिने चलन थियो।
अहिले मलाई के लाग्छ भने, शुरूमा त इतिहासको मूल्य र मर्म बुझेर हामी यसतर्फ लागेका थिएनौं। गुरुहरूले देखाएको बाटोमा हिंडेका मात्र हौं। अन्वेषणको काम शुरू गर्दा इतिहासको ज्ञान सीमित थियो, पछि अलि अलि बुझ्दै गइयो। गुरुहरूकै निर्देशनमा इतिहासका विविध काम गरियो। आफ्नो संस्थाले प्रकाशन गरेका इतिहास-संशोधन लगायतका पुस्तिकाहरू पनि बेच्नुपर्थ्यो। यी काम गर्दैगर्दा इतिहासका तत्त्वहरू केलाउन जानियो। अहिले आएर इतिहासको विधागत मूल्य पनि बुझ्दै गइयो।
इतिहासबारे तपाईंको त्यो बुझाइमा अहिले के फरक आएको छ?
इति + ह + आस मिलेर इतिहास शब्द बन्दछ। यसको अर्थ ‘पहिले यस्तो भएको थियो’ भन्ने हुन्छ। यही अर्थमा इतिहासलाई बुझ्ने पारम्परिक पद्धति हो। विगतका कमीकमजोरी वा सबल र दुर्बल पक्ष पर्गेल्ने माध्यम नै इतिहास हो भनेर छोटकरीमा बुझ्न सकिन्छ।
उदाहरणका लागि, विसंं १८२४ मा अंग्रेजसँगको लडाइँमा नेपालले अंग्रेजलाई दपेटेरै लखेट्यो भने १८७२ को लडाइँमा नेपाल नराम्ररी हार्यो। यहींनेर विजय र पराजयका कारण खोज्नुपर्छ र यसले भविष्यका लागि सही पाठ सिकाउँछ।
संशोधन-मण्डलले नेपाली इतिहास लेखनमा ठूलो गुन लगाएको छ। आलोचकहरू चाहिं ‘इतिहास भनेको तिनको व्याख्या र वर्तमानसँगको सम्बन्ध पनि हो, तर संशोधन-मण्डलको इतिहास लेखन मूलतः इतिहासका स्रोतको अर्थ लगाउनुमा सीमित छ’ भन्छन्। तपाईंको विश्लेषण के छ?
यथार्थको धरातलमा रहेर आलोचना गर्नुपर्छ। शुरूमा पाठशालामा पढ्ने विद्यार्थीमध्ये इतिहास संशोधनपत्र निकाल्ने २१ जना थिए। पछि त्यो संख्या घट्दै आएर नौ जनामा सीमित भयो। शुरूआती समयमा नेपालको इतिहास लेखनमा धेरैभन्दा धेरै जनशक्ति चाहिन्थ्यो। त्यसैले इतिहास संशोधन-मण्डल सीमित जनशक्तिको भरमा बढीभन्दा बढी काम गर्न प्रयासरत थियो। विशेषतः मूल स्रोत खोज्ने, लिप्यन्तरण-भाषान्तरण गर्ने, अनुवाद एवं व्याख्या सहित पुस्तकाकार रूपमा प्रकाशन गर्ने जस्ता इतिहास लेखनको मूल काममा केन्द्रित रह्यो संस्था।
यो पहिलो काम सकेपछि यसका आधारमा दोस्रो चरणमा इतिहासलाई विभिन्न कोणबाट व्याख्या गर्नुपर्ने हुन्छ। इतिहास संशोधन-मण्डल मूल स्रोतको परिशीलनमा लाग्यो, जुन यसको महत्त्वपूर्ण योगदान हो। विविध चुनौतीका बीच संशोधन-मण्डल आजपर्यन्त सक्रिय छ। भलै स्थापनाकालमा अपेक्षा गरे अनुरूपको परिणाम दिन नसक्नुका विविध कारण हुन सक्छन्।
लिच्छवि, मल्ल र शाहकालका इतिहास लेख्न चाहिने महत्त्वपूर्ण उपकरण र आकरहरूको परिशीलन र अन्वेषणमा संशोधन-मण्डलले ७० वर्ष व्यतीत गरेको छ। यसमा टेकेर इतिहासका विविध पक्षमा काम गर्न उसले बाटो बनाइदिएको छ। अब नयाँ पुस्ताले आआफ्नो दृष्टिकोणबाट इतिहासको व्याख्या गर्नुपर्छ। संशोधन-मण्डलले खोजी गरेका मूल स्रोतमाथि परीक्षण गर्न पनि रुचि जगाउनुपर्छ।
इतिहासको शोध र लेखनमा तपाईंको विधि के हो?
इतिहास संशोधन-मण्डलले मलाई प्रमाणहरूको खोजी र तिनको तुलनात्मक व्याख्या गर्न सिकायो। इतिहास संशोधनमा संशोधन-मण्डलको आफ्नै शैली र विधि छ, त्यसैलाई आजपर्यन्त अपनाएको छु। आज प्रचलित अनुसन्धान विधिहरूसँग पनि म परिचित नै छु।
जनस्वास्थ्यविद्का रूपमा तपाईंले लामो समय काम गर्नुभयो। त्यो अनुभवले स्वास्थ्यको दृष्टिकोणबाट इतिहास लेख्न हुटहुटी जगाएन?
बाल्यावस्थादेखि नै इतिहास र संस्कृतिको अध्ययनमा लागें म। जनस्वास्थ्य विषयमा त पछि मात्र जोडिएको हुँ। स्वास्थ्य विषयमा पनि लेख्ने अवसर त नआएको होइन। परम्परागत उपचार पद्धतिसँग सम्बद्ध धामी उपचार पद्धतिको अध्ययन गर्न मानसिक रोग विशेषज्ञ डा. विष्णुप्रसाद शर्मासँग छलफल भएको थियो, तर थप सहकार्य हुन सकेन। पछि डा.हेमांग दीक्षितसँग मिलेर वीर अस्पतालको प्रारम्भिक इतिहासबारे संक्षिप्त लेख प्रकाशन गरियो। स्वास्थ्यको दृष्टिकोणबाट इतिहासको अध्ययन गर्ने चाहना भए पनि त्यस्तो वातावरण मिलेन।
लिच्छवि लिपिबारे अध्ययन गरेर पुस्तक नै निकाल्नुभयो। लिच्छवि लिपिप्रति रुचि कसरी जाग्यो?
इतिहास लेखनको प्रमुख आधार लिपि नै हो। एउटा उदाहरण दिन्छु। काभ्रे, पनौतीको इन्द्रेश्वर मन्दिरमा एउटा ताम्रपत्र पाइयो। यसलाई पहिलो पटक हेर्दा ‘शाके ९६३’ अर्थात् विसं १०९८ र ‘पेक इह निगादु’ भन्ने शब्दावली भएको पाठ पढियो। यस पाठबाट कतिपय इतिहासकारहरूले उक्त अभिलेख प्राचीन नेवारी भाषाको पूर्व रूप हुन सक्ने अनुमान गरे। यस विषयमा प्राचीन मूर्तिविज्ञान लगायतका कोणबाट पनि हेर्ने प्रयास गरियो।
पछि संशोधन-मण्डलले लिपिको कोणबाट हेर्दा यो त्यति पुरानो होइन कि भन्ने लागेर पुनःपरीक्षण गर्यो। परीक्षणबाट उक्त ताम्रपत्रमा ‘शाके १६३४ एक दुहुनी गाई’ भन्ने पाठ रहेको प्रमाणित भयो। यति भएपछि यो अभिलेख विसं १७६९ को ठहरियो। त्यसले ताम्रपत्रमा रहेको भाषा प्राचीन नेवारी भाषाको पूर्व रूप हो भन्ने तर्कलाई खण्डन गर्यो। इतिहासको वस्तुनिष्ठ अध्ययनका लागि लिपिको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुराको दृष्टान्त हो यो।
इतिहासको विविध विधाको अध्ययनका लागि मूल स्रोतसम्म पुग्नुपर्ने हुन्छ। यसका लागि लिपिको ज्ञान जरूरी हुन्छ। लिपि पढ्न नसक्नेले मूल स्रोतको लिप्यन्तरण गर्न सक्दैन। लिपिको लिप्यन्तर गर्दा हुने त्रुटिले इतिहासको तथ्य नै तोडमोड हुने जोखिम हुन्छ। इतिहास अध्ययनको मूल आधार लिपि नै भएकाले मैले यसमा जोड दिएको हुँ। लिच्छवि लिपि सबैभन्दा प्राचीन लिपि भएकाले यसको अध्ययन झनै महत्त्वपूर्ण छ। यसैले अलि कठिन भए पनि लिच्छवि लिपिको अध्ययनमा म लागिरहेकै छु।
लिपिको अध्ययनले त ऐतिहासिक विकासक्रमबारे पनि संकेत गर्छ। लिच्छवि लिपिले त्यसअघिका इतिहासबारे के-कस्तो जानकारी दिन्छ?
लिच्छविकालका २४० भन्दा बढी अभिलेख लिच्छवि लिपिमै लेखिएका छन्। लिच्छवि लिपिको विकासक्रमलाई डा.दिनेशचन्द्र रेग्मी लगायत कतिपयले पाँच चरणमा विभाजन गरे पनि मैले लिपिको विकासक्रमको आधारमा चार चरणमा विभाजन गरेको छु। लिच्छविकालका अभिलेखहरू संस्कृत भाषामा लेखिएका पाइन्छन्। तर राष्ट्रभाषा संस्कृत हुँदैमा त्यति वेला अन्य भाषा थिएनन् भन्ने हुँदैन। फेरि, सबै जनसाधारणले संस्कृत भाषा नै बोल्थे भन्ने त हुँदैन। जनसाधारणले बोल्ने भाषा बेग्लै थियो भनेर त्यस वेलाका अभिलेखहरूबाट थाहा पाइन्छ।
लिच्छविकालका अभिलेखहरू संस्कृत भाषामा मात्र लेखिएका पाइए पनि कतिपय अड्डाखानाहरूलाई बुझाउने तात्कालिक नामहरू जस्तै लिंग्वल, शोल्ल, माप्चोक, कुथेर आदि शब्दहरू संस्कृत भाषाइतरका देखिन्छन्। यी शब्द लिच्छविकालभन्दा पहिलेका जनसमुदायले बोल्ने भाषाभित्रका हुन्। लिच्छविकालका अभिलेखहरूमा पहाड-पर्वत बुझाउन शब्दको अन्त्यमा चो वर्ण प्रयोग गरिएको देखिन्छ, जस्तै- मिंदिचो, खाह्रिचो, मोगुंचो आदि।
त्यस्तै, गाउँहरूको नामको अन्त्यमा ङ् अक्षर आएको देखिन्छ, जस्तैः कादुङ्, जोल्प्रिङ्, तेस्तुङ् आदि। यसरी पर्वत वा स्थानका नामहरू संस्कृत मूल भाषाबाट आएको नभई स्थानीय भाषाबाट आएका हुन्। अतः भाषिक पुरातत्त्वको आधारबाट पनि लिच्छविकाल र त्यसभन्दा पहिलेको सभ्यताको अध्ययन गर्न यिनै सामग्रीको उपयोग गर्नुपर्ने हुन्छ।
लिच्छविकालअघिको प्रामाणिक इतिहासको अध्ययन गर्न लिच्छवि लिपिमा लेखिएका अभिलेख नै मूल आधार हुन्। यसैले प्राचीन नेपालको इतिहास, संस्कृति एवं जनजीवनका विषयमा अध्ययन गर्न लिच्छवि लिपि जान्नु अपरिहार्य भएको छ। हुन त पौराणिक स्रोतहरूको आधारबाट पनि लिच्छविपूर्वको इतिहास अध्ययन गर्न केही सहयोग पुग्न सक्छ। तर तात्कालिक अभिलेखहरू नै प्रमुख आधार हुन्।
लिच्छविकालका अभिलेखबाट त्यो वेलाको समाज र मानिसबारे कस्तो संकेत वा जानकारी मिल्छ?
लिच्छविकालका अभिलेखबाट तात्कालिक समाजबारे जानकारी पाउन सकिन्छ। परिवारको लापरवाहीका कारण कुनै गर्भवतीको ज्यान गएमा राज्यले उक्त परिवारलाई दण्ड दिने व्यवस्था रहेको लिच्छवि अभिलेखमा उल्लेख छ। यसबाट गर्भवतीको स्वास्थ्यबारे सरकार कति संवेदनशील रहेछ भन्ने थाहा पाइन्छ।
पशुपतिनाथलाई चढाउनुपर्ने अक्षता र फलफूल, सरकारलाई करका रूपमा तिर्नुपर्ने कमेरोको माटो, द्वादशतैल्यघट अर्थात् तेलका घडा लगायत अन्य विविध किसिमका कर एवं जनजीवनसँग जोडिएका अन्य सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक विषयहरू पनि अभिलेखमा अभिव्यक्त भएका छन्। तात्कालिक सामाजिक र जातीय इतिहासको अध्ययनका लागि यस्ता घटना र प्रसंग महत्त्वपूर्ण छन्।
अभिलेखहरू हेर्दा लिच्छविकालका शासकहरूको आदर्श जनतालाई कसरी खुशी राखौंं, सुखी पारौं भन्ने रहेको देखिन्छ। ज्ञान आर्जन गर्ने र पैसा कमाउने बाटो बेग्लै हुन्छ। अंशुवर्मा आफू लक्ष्मीभन्दा पनि सरस्वतीको उपासक रहेको भन्न रुचाउँथे। त्यसै कारण उनले आफूलाई ‘श्रीकलहाभिमानी’ (लक्ष्मीसँग कलह गर्न गर्व गर्ने) विरुदावलीले विभूषित गराएका थिए। त्यस्तै, ‘कथम् प्रजा मे सुखिता भवेदिति’ अर्थात् कसरी मेरा प्रजाहरू सुखी रहलान् भनेर चिन्ता गर्ने अंशुवर्माको भनाइले उनी प्रजाप्रेमी रहेको देखाउँछ।
लिच्छवि लिपि त्यो कालभन्दा पछि किन प्रयोगमा आएन? वा त्यसको अंश अरू कुनै भाषामा बाँकी छ कि?
लिपिको आफ्नै विकासक्रम हुन्छ। लिपि विशेषज्ञका अनुसार हरेक १०० वर्षमा लिपिको स्वरूपमा परिवर्तन भइरहेको हुन्छ। लिच्छवि लिपिको सन्दर्भमा पनि यही लागू हुन्छ। नेपाल संवत्को शुरूआती काल (विसं ९३६)सम्म आइपुग्दा लिच्छवि लिपिको चार चरणमा स्वरूप परिवर्तन भएको मान्न सकिन्छ।
नेपाल संवत्पछि लेख्य सामग्रीमा आएको परिवर्तनसँगै लिपिका विभिन्न शैली र स्वरूप देखा परे। डिको र मात्रा दिने शैलीमा आएका विविध परिवर्तनका कारण यसका विविध लेख्यशैली विकसित हुन पुगे। फलस्वरूप रञ्जना, भुजिंमोल, पाचुमोल एवं नेवारी लिपिहरूको विकास भयो। यी सबै लिपिको पूर्व रूप लिच्छवि लिपि नै हो। लिच्छवि लिपिको पूर्व रूप ब्राह्मी लिपि हो। त्यसकारण समय समयमा लिपिको स्वरूपमा परिवर्तन भइरहने स्वाभाविक विकासक्रम अनुसार नै लिच्छवि लिपिपछि अन्य लिपि प्रचलनमा आएका हुन्।
लिच्छविकालमा चलेको संवत् विवादबारे तपाईंको धारणा के हो?
राजा जयवर्माले प्रयोग गरेको संवत् १०७ कै निरन्तरतामा राजा मानदेवले चलाएको संवत् ३८६ उल्लेख गरिएको एकथरी र अंशुवर्माले चलाएको, संवत् २९ उल्लेख गरिएको अर्कोथरी संवत् गरी लिच्छविकालमा दुईथरी संवत् प्रचलनमा रहेको देखिन्छ। लिच्छविकालका अभिलेखहरूमा संवत् मात्र उल्लेख भएको पाइन्छ, यो कुन संवत् हो त्यसको नाम लेखिएको भेटिंदैन। यही परम्परा अनुसार अंशुवर्माले प्रचलनमा ल्याएको संवत्को नाम पनि पहिले राखिएको थिएन। पछिका मानिसले यस संवत्लाई मानदेव संवत् भनी नाम दिए। सुमतितन्त्र ग्रन्थमा यही कुरा उल्लेख छ।
लिच्छविकालमा चलेका दुईथरी संवत्बारे इतिहासकार नयराज पन्तले लिच्छवि संवत्को निर्णय नामक एक प्रामाणिक ग्रन्थ नै लेख्नुभएको छ। पहिलोथरी संवत्लाई नयराज गुरुले तथ्यप्रमाण सहित शक संवत् भनेर निर्णय गर्नुभएको छ। अंशुवर्माले चलाएको दोस्रो संवत्का विषयमा भोटको स्रोतबाट पनि यस समयमा नयाँ संवत् चलेको भनेर थाहा पाउन सकिन्छ। नेपाल संवत् शुरू नहुन्जेल अंशुवर्माले चलाएको संवत् मानदेव संवत् नामले चलिरह्यो।
यही संवत्को विषयमा थप तथ्य निस्किएला कि भनी मैले कम्बोडिया, भियतनामतिरका प्राचीन अभिलेखहरूको अध्ययन गरिरहेको छु। कम्बोडियाको सबैभन्दा पुरानो मिति सहितको अभिलेखमा ‘त्रैत्रिंशोत्तरपञ्चशतशकपरिग्रह माघ शुक्लत्रयोदशी पुष्यनक्षत्र तुलालग्न’ भन्ने उल्लेख छ। यसबाट शक संवत् ५३३ मा यो अभिलेख राखियो भन्ने हुन्छ। यस अभिलेखमा यो शक संवत् हो भनी स्पष्टसँग उल्लेख गरिएकाले यहाँ संवत्बारे प्रश्न उठाउन परेन। हामीकहाँ संवत्को अगाडि वा पछाडि नाम लेख्ने प्रचलन नभएकाले विद्वान्हरूबीच विवाद भइरहने गर्छ।
प्राचीन कालमा कम्बोडिया, इन्डोनेशिया, जावा, सुमात्रा, थाइल्यान्ड जस्ता मध्यएशियाका देशहरूमा ब्राह्मी लिपि विविध शैली र स्वरूपमा विस्तारित देखिन्छ। त्यस समयमा यस क्षेत्रमा संस्कृत भाषामा लेखिएका सयौं अभिलेख पाइएका छन्। यी अभिलेखले चारै वेद, उपनिषद्, रामायण, महाभारत, काव्य, धर्म, दर्शन आदि प्राच्य विद्याका विधाहरूमा प्राचीन कालमा राम्रो उन्नति भएको थियो भन्ने दर्शाउँछन्। हालको भियतनाममा प्राप्त अभिलेख अनुसार पाँचौं-छैटौं शताब्दीमा त्यस क्षेत्रमा भद्रवर्मा, शम्भुवर्मा लगायतका वर्मा नामान्तधारी राजाहरू देखिएका र उनीहरूले शम्भुभद्रेश्वर नामक शिवलिंगको स्थापना गरेका थिए। हाम्रो लिच्छविकालका अभिलेखहरूमा उल्लेख गरिएका अड्डा-अदालतको कामका लागि प्रयोग हुने कुमारमन्त्री, बलाध्यक्ष जस्ता विविध पद कम्बोडियाका प्राचीन अभिलेखमा पनि पाइन्छन्।
यी प्राचीन अभिलेखमा बारको उल्लेख भएमा गणनापद्धतिबाट संवत्को वर्ष खुट्याउन सकिन्छ। लिच्छविकालका अभिलेखहरूमा अहिलेसम्म दुई ठाउँमा मात्र बारको उल्लेख भएको पाइन्छ– (१) अंशुवर्माको संवत् ३१ को चाँगुको अभिलेखमा ‘माघशुक्ल त्रयोदशी आदित्यबार पुष्य नक्षत्र’ र (२) नेपाल राष्ट्रिय अभिलेखालयमा रहेको सुश्रुतसंहिता ग्रन्थको पुष्पिकावाक्यमा ‘संवत् ३०१ वैशाख शुक्ल सप्तमी पुष्य नक्षत्र रविबार सिद्धयोग’।
बारको उल्लेख भएको अंशुवर्माको अभिलेख शक ५२९ र अर्को सुश्रुतसंहिताको अभिलेख शक ७९९ को देखिन आउँछ। यस प्रसंगमा कम्बोडियातिरका प्राचीन अभिलेखहरू पढ्ने मनसाय के हो भने हाम्रो अभिलेखमा बारको उल्लेख भएका दुई मितिसँग मिल्ने अर्थात् सोही दिनका कम्बोडियातिरको शक संवत् उल्लेख भएको कुनै अभिलेख पाइएमा लिच्छविकालमा चलेको पहिलो संवत् शक संवत् हो भनी निर्णय भइसकेको कुरामा अझ अकाट्य प्रमाण हुन्छ।
गुरु नयराज पन्तले लिच्छविकालमा चलेको पहिलो संवत् शक संवत् नै हो भनेर प्रमाणित गरिसक्नुभएको छ। तैपनि केही विद्वान्ले यस सम्बन्धमा प्रश्न उठाइरहेका छन्। तात्कालिक अन्य थप प्रमाणले अन्यथा प्रमाणित नगरेसम्म अहिलेलाई विद्वान्हरूले मानिआएको शक संवत् र मानदेव संवत्को अवधारणा नै कायम गरिराख्नु उपयुक्त देखिन्छ।
नेपाल संवत् वा अन्य कुनै संवत् जनमानसमा प्रचलित हुँदा पनि राज्यको पूर्वाग्रह जस्तो देखिन्छ नि। किन होला?
पूर्वाग्रह नै भन्न त अलि नमिल्ला। नेपाल संवत्बारे भुवनलाल प्रधानले विस्तृत रूपमा लेख्नुभएको छ। उहाँका अनुसार अंशुवर्माले चलाएको संवत् पहिलो नेपाल संवत् हो भने अहिले प्रचलनमा रहेको नेपाल संवत् दोस्रो हो। नेपालमण्डलमा चलेको नेपाल संवत् सामाजिक व्यवहारका लागि अभिन्न अंग हुन पुग्यो। नेपाल संवत् मात्र होइन, नेवारी लिपि र नेपाल भाषा पनि जनसमुदायमा भिजिरहेकै छ। समुदायलाई संवत्, भाषा र लिपिले नै समेटिरहेका हुन्छन्।
राजा धर्म मल्ल, जितामित्र मल्ल र भूपतीन्द्र मल्लहरूले शाके संवत्, विक्रम संवत्, कलिगत संवत् र नेपाल संवत्हरूको प्रयोग गरेका छन्। सामाजिक व्यवहारमा नेपाल संवत्ले राष्ट्रिय मान्यता पायो। अहिले पनि नेपालभाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरेर राष्ट्रिय मान्यता प्रदान गरिएकै देखिन्छ।
उत्पत्तिको ठेगाना र इतिहास नै नभएको विक्रम संवत्मा राज्यको मोह किन होला?
मोह नै कसरी भन्नुभयो? मैले माथि नै भनें- मल्लकालमा पनि विक्रम संवत् प्रचलनमा थियो। पृथ्वी मल्ल, पुण्य मल्ल जस्ता खस राजाहरूले शाके संवत् प्रयोग गरेका थिए। त्यस्तै, कुनै समय शाह राजाहरू पनि शाके संवत् नै चलाउँथे। काठमाडौं उपत्यकामा लिच्छविकालमा शाके संवत् र मल्लकालमा मुख्यतया नेपाल संवत् प्रचलनमा रह्यो। यस अवधिमा अरू संवत् पनि प्रचलनमा नभएका होइनन्।
पृथ्वीनारायण शाहका मुद्राहरूमा शक संवत्को प्रयोग भएको देखिन्छ भने उनका लालमोहरहरूमा चाहिं विक्रम संवत् चलाइएको पाइन्छ। शुरूमा शाह राजाहरूका मुद्राहरूमा शाके संवत् नै उल्लेख गरिएको पाइन्छ। पछि राजा पृथ्वी वीरविक्रमको पालादेखि मुद्रामा विक्रम संवत्को प्रयोग भएको देखिन्छ। राणा शासकले विक्रम संवत्लाई प्राथमिकता दिए, र हालसम्म पनि यही प्रचलनमा छ।
नेपालको इतिहास लेखनमा विदेशी इतिहासकार पनि सक्रिय देखिन्छन्। तिनको भूमिका कस्तो देख्नुहुन्छ?
नेपालको इतिहास लेखनमा विदेशी इतिहासकारहरूको पनि उत्तिकै योगदान छ। विशेषतः इतिहास लेखनमा शंका र प्रश्न हुनुपर्छ। जस्तै- कुनै इतिहासकारले पढेको अभिलेखको पाठ त्रुटिपूर्ण हुन पनि सक्छ। त्यसैले मूल स्रोतमा गएर इतिहास लेख्नुपर्छ। तर सबैले इतिहासको मूल स्रोतमा गएर इतिहास लेख्ने अवसर नपाउन सक्छन्, त्यो क्षमता नहुन पनि सक्छ। तर मूल स्रोतमा पुगेर लेख्ने बानी भयो भने इतिहासमा प्रामाणिकता र शुुद्धता कायम राख्न सकिन्छ।
विदेशी इतिहासकारहरूले लेखेको नेपालको इतिहासमा उनीहरूको आफ्नै दृष्टिकोण, मूल स्रोतमा सीमित पहुँच आदिका कारण कतिपय अवस्थामा दृष्टिदोष देखिन्छ। राष्ट्रिय विभूतिको प्रसंगमा पनि विवाद नभएको होइन। अंग्रेजले जसलाई जिते, तिनका बारेमा बढी लेखेका छन्, तर जोबाट पराजित भए उनीहरूको इतिहास राम्रोसँग लेखिएको छैन। हाम्रो आँखाबाट हेर्दा जसले अंग्रेजलाई हरायो, त्यसको पो मूल्यांकन हुनुपर्ने हो। नेपालको इतिहासप्रति पश्चिमा र हाम्रो दृष्टिकोणबीच तुलनात्मक अध्ययन गरी पक्षधरता नलिई इतिहास लेखिनुपर्छ।
नेपालको इतिहासको कालविभाजनबारे पनि प्रश्न उठ्ने गर्छ। यसबारे तपाईंको धारणा के छ?
लिच्छविहरूले शासन गरेको काललाई लिच्छविकाल भनिन्छ। यसलाई कतिपयले प्राचीन कालको संज्ञा दिएका छन्। त्यस्तै गरी मध्यकाल, मल्लकाल, शाहकाल गरी पारम्परिक कालविभाजनका आधारबाट नेपालको इतिहासलाई बुझ्ने गरिन्छ। हुन त राजवंशको नामका आधारमा कालविभाजन गर्नु कति उचित भन्ने प्रश्न पनि गर्न सकिएला। तर अहिलेसम्म यही चलिरहेको छ। कालविभाजनको यस अवधारणालाई परिवर्तन गर्नै हुँदैन भन्ने होइन। परिवर्तन गर्दा यसभन्दा बढी वैज्ञानिक हुनुपर्छ।
इतिहास लेखनको अहिलेको मूल प्रवृत्ति कता ढल्केको छ?
पहिले पहिले वंशावली र पौराणिक साहित्यलाई आधार मानेर इतिहास लेख्ने प्रवृत्ति थियो। आधुनिक समयमा अभिलेख र प्रमाणलाई आधार मानेर इतिहास लेख्ने पद्धति विकास भएको छ। विसं १९३७ मा इतिहासकार भगवान्लाल इन्द्राजी भट्टले लिच्छविकालका १५ वटा अभिलेखको प्रकाशन गरेपछि नेपालमा अभिलेख अध्ययनको शुरूआत भयो। पछि, इतिहास शिरोमणि बाबुराम आचार्यले पनि अभिलेख्य प्रमाणलाई जोड दिनुभयो। संशोधन-मण्डलले अभिलेखहरूको अन्वेषण र लिप्यन्तरमै ७० वर्ष व्यतीत गरेको छ। पछिल्ला कालका इतिहासकारहरूले संशोधन-मण्डलले गरेको काममै टेकेर इतिहासलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्ने गरेका छन्।
शासकको इतिहास लेख्ने क्रममा आमनागरिकको इतिहास खोज्ने प्रयास पनि भएको छ। यस्तै, काठमाडौं बाहिर निस्केर क्षेत्रीय इतिहास पनि लेख्न थालिएको छ। जातीय सांस्कृतिक इतिहास लेखनमा विभिन्न व्यक्ति र संस्था लागिपरेका छन्। विश्वविद्यालयहरूको स्नातकोत्तर र विद्यावारिधि तहका शोध लेखनमा सामाजिक, सांस्कृतिक र मानवशास्त्रीय दृष्टिकोणबाट इतिहास लेख्ने प्रवृत्ति पनि बढेको देखिन्छ।
तपाईंहरूले स्थापना गर्नुभएको इतिहास संशोधन-मण्डल अहिले महेशराज पन्त र दिनेशराज पन्तले मात्रै चलाइरहनुभएको छ। त्यसमा फेरि जोडिने योजना छ कि?
त्यस वेलाका संशोधन-मण्डलका सदस्यहरूले एकपछि अर्को गरी छाड्दै गएपछि संस्था चलाउने जिम्मा वा बाध्यात्मक परिस्थिति उहाँहरूकै काँधमा आयो। यस संस्थामा वृत्तिविकासको वातावरण बन्न सकेको भए शायद मैले संशोधन-मण्डल छोड्ने थिइनँ कि भन्ने कहिलेकाहीं लाग्छ। २१ जनाले संशोधनपत्र निकालेर शुरू भएको संस्थाको स्थापनाकालमा नौ सदस्य रहेकामध्ये हाल दुई जना मात्र बाँकी हुनुका कारणहरूको खोजी हुन सके राम्रो हो। जुन उत्साहले संस्थाको स्थापना गरियो, सोही उत्साहमा सदस्यहरूलाई टिकाउन सकिएन।
संशोधन-मण्डलमा फेरि जोडिन अब विचार भएर पनि के गर्नु! सक्नु पनि पर्यो। तर सहकार्यको सम्भावना नभएको होइन। किनकि आफ्नै संस्था हो, संस्थापक सदस्य हुँ। फेरि सहकार्यको प्रस्ताव आएमा नजाने भन्ने होइन। अहिले संशोधन-मण्डलभन्दा बाहिरका इतिहासकारका लेख पनि पूर्णिमामा प्रकाशन भएको देख्दा त्यहाँ जोडिने सम्भावनाको ढोका खुलै देखिन्छ।
संशोधन-मण्डलको अभ्यासलाई मूल्यांकन गर्नुपर्दा यसको शक्ति, सामर्थ्य र सीमा के हो?
नेपालको इतिहास लेखनमा संस्कृत भाषाको उच्चस्तरीय ज्ञान हुनु अनिवार्य हुन्छ। संस्कृतको उच्चस्तरीय ज्ञान राख्नु नै संशोधन-मण्डलको शक्ति हो। इतिहास लेख्न चाहिने तात्कालिक मूल स्रोतहरूको खोजी गरी तिनलाई व्याख्या एवं अनुवाद सहित प्रकाश गर्नु, गराउनु सामर्थ्य हो। संशोधन-मण्डलको अन्वेषण कार्य काठमाडौं उपत्यकामा मात्र सीमित हुनु यसको सीमा भन्न सकिएला। तर यहींकै सामग्रीको अनुसन्धान र प्रकाशन कार्य सकिएको छैन भने बाहिर जाने कुरा त त्यसपछिको हो।
नेपालको इतिहास लेखनमा संशोधन-मण्डलको तुलनामा अरू कसैले योगदान गरे जस्तो लाग्दैन।