इतिहास छोपिएका इतिहासकार
संशोधन-मण्डलको संस्थापक अध्यक्षका रूपमा नेपाली इतिहासको प्रामाणिक परिशीलनमा खटिएका भोलानाथ पौडेलको चर्चा ऐतिहासिक वृत्तमा जति हुनुपर्ने हो, भएको छैन।
नेपालको इतिहास लेखनमा संशोधन-मण्डलको जतिको शान र चर्चा छ, त्यति नै गुमनाम छन् यसका संस्थापक अध्यक्ष भोलानाथ पौडेल। संशोधन-मण्डलका तत्कालीन २१ सदस्यमध्ये ज्येष्ठतामा दोस्रो रहेका उनी रानीपोखरीस्थित संस्कृत पाठशालाबाट ज्योतिषमा मध्यमा तह उत्तीर्ण गरेपछि आफूभन्दा आठ वर्ष जेठा नयराज पन्तलाई गुरु थापी विद्यासाधनामा लागेका थिए (पूर्णिमा, अङ्क १३०, पृष्ठः १७९)।
भोलानाथको जीवन नियाल्दा उनले चाहेर पनि इतिहास अन्वेषणमा सोचे जति काम गर्न नसकेको प्रतीत हुन्छ। तापनि भक्तपुर क्षेत्रको इतिहास, खास गरी त्यहाँको राजकुलोको ऐतिहासिक अन्वेषणमा उनको विशेष योगदान पाइन्छ। आगम प्रकाशनबाट २०६५ सालमा प्रकाशित भक्तपुरको राजकुलो र इतिहासप्रधान पत्रिका पूर्णिमाका १ देखि १० सम्मका अङ्क नियाल्दा उनको योगदान प्रस्ट हुन्छ।
१९७८ जेठ २९ गते धर्मानन्द उपाध्याय र धनकुमारीको कोखबाट ललितपुर, लुभुमा जन्मिएका भोलानाथ पछि भोलागुरुका नामले परिचित भए। रानीपोखरीस्थित संस्कृत पाठशालाबाट औपचारिक शिक्षारम्भ गरेका उनले त्यहीं गुरु नयराजबाट ज्योतिर्विद्या पढी २००१ सालमा मध्यमा तह पूरा गरे। त्यसपछि औपचारिक पाठशाला छाडेर गुरु नयराजकै सान्निध्यमा रही शास्त्री तहको अध्ययन गरे। तर, नयराजले चलाएको अनौपचारिक पाठशालामा विद्यार्थीहरूलाई अङ्क वा प्रमाणपत्र दिने चलन थिएन (लिच्छवि संवत्को निष्कर्ष, पृष्ठ १८)।
भोलानाथ पछि २००५ सालमा बनारस गई सिद्धान्त ज्योतिषमा शास्त्री तहको अध्ययन पूरा गरी स्वदेश फर्किए (हिमालखबर, ‘जसले आफैंले लेखेको पुस्तक पढेर स्नातकोत्तर गरे’। सरकारी पाठशालाको तुलनामा नयराजले स्थापना गरेको पाठशालाका विद्यार्थीको पढाइ राम्रो देखेपछि योगी नरहरिनाथको नेतृत्वमा खुलेको ब्रह्मचर्याश्रम पाठशालाले पनि पढाइमा त्यही शैली अपनाउने निर्णय गर्यो। अनि नयराजले चेला भोलानाथ र ज्ञानमणि नेपाललाई २००६ सालमा त्यहाँ अध्यापन गर्न पठाए (ज्ञानमणि नेपाल, मेरो गुरुकुलीय शिक्षा र सहपाठी)।
तर, २००७ सालमा राणाशासन पतन भएको तीन महीनापछि उनीहरू दुवै जना त्यहाँबाट बाहिरिए। ब्रह्मचर्याश्रमका अधिकारीहरूले विद्यार्थीलाई राणाशासनको समर्थनमा प्रयोग गरेको कुरा भोलागुरु र ज्ञानमणिलाई असह्य भएपछि विरोध गर्दै उनीहरू बाहिरिएको ऐतिहासिक महेशराज पन्तको धारणा छ (पूर्णिमा, अङ्क १३०, पृष्ठ १७९)।
त्यसपछि भोलागुरुले २००८ सालतिर गुरु नयराजकै शैली र पाठ्यक्रम पछ्याउँदै आफ्नै गाउँ लुभु (ठूलाघर)मा गुरुकुलीय पाठशाला स्थापना गरे। त्यहाँ पढ्नेमा विशेष गरी नयनाथ पौडेल, लक्ष्मण सत्याल र अक्रूर कुइँकेल बढी चर्चित छन् (भक्तपुरको राजकुलो, दोस्रो खण्डको पृष्ठ: १२)। नयनाथ भोलानाथका छोरा हुन्। भोलानाथले स्थापना गरेको पाठशालामा आवश्यक निर्देशन दिन नयराज आफैं जान्थे जहाँ पूर्व १ नम्बरसम्मका विद्यार्थी पढ्न पुग्थे। त्यही क्रममा नयराजको मासंगल्लीस्थित पाठशाला र भोलागुरुको पाठशालाका केही विद्यार्थी मिलेर इतिहास संशोधनपत्र निकाल्न थाले।
पछि लुभुको पाठशाला बन्द हुँदा त्यहाँ पढेका लक्ष्मण, अक्रूर र नयनाथहरू नयराजकै मार्गनिर्देशनमा इतिहास अनुसन्धानमा लागिपरे। २००९ असोजदेखि प्रकाशन हुन थालेको इतिहास संशोधनपत्र संग्रहका लागि २१ जनाको समूह बनाइएको थियो जसमा भोला गुरुसँगै उनका चेलाले पनि परिश्रम गरे (इतिहास संशोधनको प्रमाण प्रमेय, २०१९)। त्यहाँबाट लुभु पाठशालाका विद्यार्थीले मात्र ११ वटा संशोधनपत्र छपाएका थिए जुन पछि अभिलेख पत्रसंग्रह पुस्तकमा समेटेर प्रकाशन गरिए। यिनमा “श्री बालचन्द्र शर्मा स्वास्नीलाई आमा भन्नुहुन्छ” शीर्षक लेख निकै चर्चित थियो (इतिहास संशोधन, पत्रसंख्या ३)। इतिहास संशोधन, पत्रसंख्या ४ चाहिं भोलानाथको सम्पादन र धनवज्र वज्राचार्यको सहसम्पादनमा प्रकाशन भएको थियो। त्यस्तै व्याकरण संशोधन (२०१२ साल) मा पनि भोलागुरुको सम्पादकीय भूमिका देखिन्छ।
पण्डित नयराजको सक्रियतामा २०१८ सालमा समूहका सदस्यहरू अझ जुझारु भएर इतिहास-लेखनमा लागिपरे। सोही साल संशोधन-मण्डल विधिवत् रूपमा दर्ता हुँदा भोलानाथ संस्थाका अध्यक्ष भएको स्वामी प्रपन्नाचार्यले उल्लेख गरेका छन् (मिल्केका झिल्का, पृष्ठः ५६१)। इतिहास संशोधन पुस्तिकाको प्रस्तावनामा भोलानाथले ‘मेरो हकमा त जस्तोसुकै खिचलो परे पनि, पाटीवास भोग्नुपरे पनि आफ्नो विद्याको पठनपाठनमै लागिरहनेछु’ भनी सङ्कल्प गरेका छन्।
उनले सहकर्मीसँग मिलेर दर्जनभन्दा बढी पुस्तक-पत्रिकामा काम गरेका छन् जसमा अभिलेख पत्रसंग्रह, पूर्णिमा (अङ्क १ देखि १०), ऐतिहासिक पत्रसंग्रह, गल्लीमा फ्याँकिएका कसिङ्गर, इतिहास संशोधनको प्रमाण प्रमेय, व्याकरण संशोधन, इतिहास संशोधन, पञ्चाङ्ग संशोधन, सावधान पत्र आदि छन्। पूर्णिमाको अङ्क १ देखि १० सम्म १० वटै लेख छपाएका भोलानाथ २०२३ साउनसम्म संशोधन-मण्डलमा आबद्ध रहेको देखिन्छ।
किन बाहिरिए?
संशोधन-मण्डल जुन गतिमा दौडिरहेको थियो, पछि सदस्यहरूले त्यही गतिमा संस्था छाड्ने क्रम बढ्यो। नयराज स्वयंले इतिहास संशोधनका प्रमाण प्रमेयमा यसको सङ्केत गरेका छन्। संशोधन-मण्डलका २१ जना संशोधकमध्ये २०२१ सालमा पूर्णिमा प्रकाशन हुँदासम्म नौ जना बाँकी थिए। तीमध्ये पनि अङ्क ६ को प्रकाशनपछि नयनाथ र अङ्क १० पछि भोलानाथले छाडे। त्यस्तै, शंकरमान राजवंशी अङ्क २० र धनवज्र वज्राचार्य अङ्क २४ सम्म मात्र संलग्न रहेको देखिन्छ।
नयनाथले सदस्यहरूले संशोधन-मण्डल छाड्नुमा मूलतः आर्थिक समस्या र उक्त संस्थाको शैक्षिक उपलब्धिलाई विश्वविद्यालयले मान्यता नदिनुलाई कारण बताउँदै आएका छन्। उनका बुबा भोलानाथको हकमा पनि आर्थिक कारण नै हुन सक्ने अनुमान गर्न सकिन्छ। उनको जीवनी नियाल्दा पनि यसको अलि अलि छनक पाइन्छ। ‘जस्तोसुकै खिचलो परे पनि आफ्नो विद्याको पठनपाठनमै लागिरहने’ सङ्कल्प गरेका भोलागुरुले संशोधन-मण्डल छोडेको घटनालाई स्वामी प्रपन्नाचार्यले भने समयको खेल भनेका छन् (मिल्केका झिल्का, पृष्ठः ५६१)।
महेशराजले भोलागुरुको सम्झनामा लेखेको एउटा आलेखमा अन्य सदस्यले जस्तै उनले पनि आर्थिक कारणले नै छाडेको तर्क गरेका छन् (पूर्णिमा, अङ्क १३०, पृष्ठः १८१)। नयराजले चाहिं यसरी सदस्यको संख्या घट्नुमा संस्थाले अपनाएको विषयप्रति उनीहरूको असन्तुष्टि रहेको तर्क पनि गरेका छन्। तर, विषयप्रति असन्तोष हुन्थ्यो त शुरूमा पढ्नै किन आए त भन्ने प्रश्न पनि स्वाभाविक हुन आउँछ।
सुरेन्द्र केसीले चाहिं मूलतः उक्त पाठशालाको अध्ययन विधिमा जटिलता र प्रमाणपत्रविहीन परीक्षा प्रणाली लगायत कारणले सदस्य संख्या घटेको औंल्याएका छन् (नेपालको इतिहास लेखनमा धनवज्र वज्राचार्यको योगदान, पृष्ठ: ८५)। यस तर्कलाई केही हदसम्म महेशराजले पनि स्विकारेका छन्। यद्यपि सदस्यहरूलाई व्यक्तिगत जीवनवृत्तिमा लाग्न संशोधन-मण्डलको कुनै व्यवधान थिएन। नयराज पनि सरकारी सेवक नै थिए। तर, अन्यत्र खटिंदा इतिहासको गहिरिएर अन्वेषण गर्ने संस्थाको मर्ममा असर अपरोस् भन्ने आशय चाहिं रहेको प्रकाशित विवरणहरू पढ्दा थाहा हुन्छ। पछि शंकरमान र धनवज्रहरूले पनि सारमा आर्थिक पक्षलाई नै कारण देखाएर संशोधन-मण्डल छाडेको देखिन्छ (हिमालखबर, ‘इतिहासकार शंकरमान राजवंशी जसको मृत्यु कुनै खबर बनेन’)।
असफल राजनीति
भोलागुरुले २०२३ साउनमा संशोधन-मण्डल छाडेपछि राजनीतिमा भाग लिएको देखिन्छ। सदस्यहरूले राजनीति र धर्मनीतिमा हात हाल्नु संशोधन-मण्डलको नीति विपरीत हुने भएकाले उनले राजनीतिमा लाग्नकै लागि संस्था छोडेका हुन् कि भन्ने अनुमान गर्ने ठाउँ पनि छ (भक्तपुरको राजकुलो, दोस्रो खण्ड, पृष्ठ: १५)। तर, नेपालका सन्दर्भमा राजनीतिमा चाहिने कुटिलता नजानेको, सोझा प्रवृत्तिका भोलागुरु त्यसमा टिक्ने सम्भावना खासै थिएन। भयो पनि त्यस्तै, २०२३ सालको ग्रामपञ्चायतको चुनाव उनी हारे (मिल्केका झिल्का, पृष्ठः ५६१)।
राजनीतिमा विफलता बेहोरेपछि उनले २०२४ सालदेखि लुभुको महालक्ष्मी माविमा केही समय अध्यापन गरे। त्यहाँ पनि विद्यालयको आन्तरिक राजनीतिले उनलाई टिक्न दिएन। त्यसै कारण करारको जागीर गुमेपछि उनी कहिले बनारस त कहिले काठमाडौं गर्दै जीवन बिताइरहे। बनारसमा छँदा पनि जीविकाका लागि शिक्षणकार्यमै लागेका थिए। यस्तैमा २०४६ मंसीर ८ गते उनी सन्न्यास धारण गरी ज्ञानानन्द नाममा तीर्थाटन गर्न निस्किए (भक्तपुरको राजकुलो, दोस्रो खण्ड, पृष्ठ: ८४)।
केही समय काठमाडौं बाहिरै रहेका उनी बिरामी परेकाले पछि परिवारले पोखराको रामघाटबाट घरै फर्कायो। सन्न्यास ग्रहण गरिसकेको व्यक्ति परिवारसँग एकाघरमा बस्न नमिल्ने भएकाले छेवैमा प्रेसको टहरामा राखिएको उनैका छोरा गुहनाथ पौडेलले सम्पादन गरेको भक्तपुरको राजकुलोमा उल्लेख छ। त्यहीं २०६६ वैशाख २ मा उनको निधन भयो।
भोलाकी गृहिणी
भोलागुरुको अध्ययन-अध्यापन र समग्र परिवार व्यवस्थापनमा उनकी धर्मपत्नी लीलादेवीको महत्त्वपूर्ण योगदान देखिन्छ। मूलतः विद्यासाधना र इतिहास अन्वेषणमा लागेका भोलागुरु आध्यात्मिक प्रवृत्तिका थिए। पैसा कमाउने उद्यममा थिएनन्। यस्तोमा आर्थिक अभावकै बीच लीलादेवीले अनेक हन्डर खाएर पनि परिवार थामिरहिन्। अर्कातिर, संशोधन-मण्डलको सान्निध्यमा रहेकाले उनमा पनि इतिहास र प्राज्ञिक विषयप्रति झुकाव थियो। पतिले संशोधन-मण्डलकै शैलीमा खोलेको पाठशालाले पनि उनलाई ऐतिहासिक परिवेश र उपकरणसँग परिचित गरायो। यसैको परिणाम- लिच्छविकालको इतिहास अध्ययनमा महत्त्वपूर्ण मानिने शिवदेव प्रथम र अंशुवर्माको संवत् २६ को लेलेको अभिलेख र अनन्तलिङ्गेश्वरको अभिलेख उनैले पत्ता लगाउन सकिन् (गुहनाथ पौडेल, औंसीको रात, पृष्ठः १५)।
पछि त्यसलाई रामजी तिवारी, देवीप्रसाद भण्डारी, भोलानाथ, महेशराज, नयनाथ आदिले लिप्यन्तरण र भाषान्तरण गरेका थिए। यी अभिलेखको प्राप्तिलाई निकै ठूलो उपलब्धि मान्दै नयराजले भोलानाथले लुभुमा पाठशाला खोलेकै कारण उनकी गृहिणीले तिनलाई पत्ता लगाउन सकेको भनी खुशी व्यक्त गरेका छन् (लिच्छवि संवत्को निर्णय, पृष्ठ: १४)। लिच्छविकालको संवत् विवाद निरूपणमा यस अभिलेखको ठूलो महत्त्व रहेको नयराजको ठहर छ।
नयराजले लीलादेवीबारे उल्लेख गरेको अर्को एक प्रसङ्ग अनुसार भोलागुरु सन्न्यासी भएपछि उनी निकै चिन्तित भइन्। त्यो पीडा भुलाउन नयराजले उनलाई पाठ घोक्ने काम दिए। लीलादेवीले नयराजले श्री ५ पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखेका ३८० श्लोकको काव्य कण्ठस्थ पारिन्। २०४७ साउन ६ गते त्यो पाठ सुनाउन उनी छोराहरू नयनाथ, रुक्मनाथ र हेलिनाथलाई साथ लिएर गुरुको घर पुगिन्। साढे दुई घण्टामा सबै श्लोक सुनाएपछि उनी घोप्टो परी रुन थालिन्। नयराजले उनलाई सम्झाइ-बुझाइ गरी टीका-दोसल्ला लगाइदिएर सम्मान गरे (औंसीको रातमा, २०६०, पृष्ठः १९)।
त्यति वेला लीलादेवीलाई दिइएको सम्मानपत्रको बेहोरा यस्तो छ-
नेपालराष्ट्रान्तर्गत लुभु ठूलाघर बस्ने पण्डित भोलानाथ पौडेलकी गृहिणी वर्ष ६६ की लीलादेवीले वि.संं. २०४७।४।६ गते शनिबारका दिन श्री ५ पृथ्वीनारायण शाहको उपदेशको नयराज पन्तले बनाएको नेपाली पद्यमयी व्याख्या हाम्रो अगाडि सम्पूर्ण कण्ठस्थ सुनाएको हो।
सम्मानपत्रको मुनिपट्टि नयराजसँगै ज्ञानमणि नेपाल र दिनेशराज पन्तको नाम छ।
अहोरात्र साधक
अहिलेको समयबिन्दुबाट हेर्दा ऐतिहासिक अध्ययनमा भोलानाथले दिएको उपलब्धि कुन तहको हो, मूल्याङ्कनकर्ताका अनेक राय हुन सक्लान्। तर, एउटा तथ्य चाहिं इतिहास स्वयंले नकार्न सक्दैन कि उनी कुनै वेला ऐतिहासिक अन्वेषणमा अहोरात्र खटिएका साधक हुन्। नेपालको इतिहास लेखनलाई प्रामाणिक बनाउन भोलानाथको पनि अर्थपूर्ण समर्पण छ।
उनले जसरी संशोधन-मण्डलका अरू कुनै सदस्यले पाठशाला चलाउन सकेनन्, त्यो पनि ठ्याक्कै उही शैलीमा। न त अन्य सदस्यले आफ्ना सन्तानलाई समेत यस पेशामा लगाउन सके। भोलानाथका हकमा उनले समग्र परिवारलाई नै इतिहास र संस्कृतिको परिशीलनमा लगाए। नयराजमा विषयवस्तुप्रति जति ज्ञान थियो, उनमा पनि त्यो केही हदसम्म रहेको अध्येताहरू मान्छन्। छोरा नयनाथ आफ्ना पितालाई गणितको राम्रो ज्ञान रहेको सम्झना गर्छन्। स्वामी प्रपन्नाचार्यका अनुसार नयराज र भोलानाथमा केही गुणको सादृश्य थियो, त्यसै कारण पनि नयराजको कठोर नियम पालना गरी उनीसँग पढ्न भोलानाथ तयार भएका हुन् (मिल्केका झिल्का, पृष्ठः ५५६)।
इतिहासविद् महेशराज पनि भोलानाथको विद्वत्ता र व्यक्तित्वका आधारमा उनले इतिहास लेखनमा जति योगदान गर्न सक्थे, त्यति गर्न नसकेको मान्छन्। तर, उनले जति योगदान गरेका छन्, त्यति मात्रै पनि उनलाई सम्झाइरहन पर्याप्त छ।