काठमाडौंको असमझदारीले सुदूरपश्चिममा अन्योल
नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूबीच केन्द्रमा देखिएको असमझदारीले सुदूरपश्चिम प्रदेश सभामा अन्योल सिर्जना भएको छ।
एमाले, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समर्थनमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी वैशाख ६ मा सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री सोडारीले आउँदो जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ। त्यसअघि नै दुई पटक विश्वासको मत लिने प्रयास गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २१ गते प्रदेश सभाको बैठक बोलाइएको थियो। तर एमालेका नेताहरूले सहमति जनाएनन्। बरु एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौं गए।
वैशाख २२ मा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका रावलले तत्काल विश्वासको मत नदिने प्रतिक्रिया दिए। ओलीसँगको भेटपछि रावलले भनेका थिए, “छलफलका क्रममा अध्यक्ष कमरेडले विश्वासको मत दिने विषयमा हतार नगर्न भन्नुभएको छ।”
त्यसपछि विश्वासको मत लिनका लागि वैशाख २२ गते बेलुका ५ः३० बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। तर सत्तारूढ गठबन्धनभित्र सहमति नबन्दा बैठक स्थगन भयो। अर्को सूचना प्रकाशन नभएसम्म प्रदेश सभाको बैठक स्थगन गरिएसँगै विश्वासको मतको प्रस्तावका विषयमा अन्योल उत्पन्न भएको छ।
अहिले एमाले संसदीय दलका नेता रावल प्रदेश राजधानी धनगढी फर्किएका छन्, तर अन्य दलका नेता काठमाडौं गएका छन्। केन्द्रीय नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री सोडारी पनि काठमाडौं पुगेका छन्।
त्यस्तै, सत्तारूढ माओवादी र नाउपाका नेता पनि काठमाडौं गएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता पनि केन्द्रीय नेतृत्वसँग छलफल गर्ने भन्दै संघीय राजधानी पुगेका छन्।
माओवादी संसदीय दलका उपनेता अक्कल रावल केही दिनमै विश्वासको मत लिइने बताउँछन्। “मुख्यमन्त्रीले केही दिनमै विश्वासको मत लिनुहुन्छ,” उनी भन्छन्, “तर मिति तय भइसकेको छैन।”
विश्वासको मतलाई लिएर एमाले भने अझै सहमत भएको छैन। अध्यक्ष ओलीसँग छलफल गरेर काठमाडौंबाट सुदूरपश्चिम फर्किएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल केही समय पर्खिने बताउँछन्। “विश्वासको मत लिने समय अझै छ, अहिले हतार गर्दैनौं,” उनी भन्छन्।
एकीकृत समाजवादीका नेता भने केही बोल्ने अवस्थामा छैनन्। उनीहरू छलफल चलिरहेकाले छिटै विश्वासको मत लिने बताउँछन्।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका ११ र माओवादीका सभामुख बाहेक १० सांसद छन्।
त्यस्तै, एकीकृत समाजवादीका चार र नाउपाका सात सांसद छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद मात्रै सरकारको समर्थनमा छन् भने संरक्षक रेशम चौधरी पक्षका पाँच सांसद विपक्षमा छन्।
त्यस्तै, कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन्। एक जना स्वतन्त्र सांसद छन्।