एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे
नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित भएका छन्।
एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि आज निर्वाचन हुँदै छ। वरिष्ठ उपाध्यक्षमा पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका थिए।
बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वाचित भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए। “वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो, एक जनाले नाम फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ,” खतिवडाले भने।
एकीकृत समाजवादीमा १८ पदाधिकारी छन्। जसमध्ये अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल यसअघि नै चयन भएका थिए। अहिले वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्वाचित भएका छन्।
अब उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्षका लागि निर्वाचन हुँदै छ। त्यस्तै, पोलिटब्यूरोका ८४ सदस्यका लागि पनि निर्वाचन हुन लागेको एकीकृत समाजवादीको निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जनाएका छन्।
एकीकृत समाजवादीमा ३४४ केन्द्रीय सदस्य छन्। पदाधिकारी र पोलिटब्यूरोको निर्वाचनमा केन्द्रीय सदस्यले मतदान गर्नेछन्।