भागबन्डा मिलाउन गण्डकीमा दुई मन्त्रालय थप्ने सहमति
गण्डकी प्रदेशमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भागबन्डा मिलाउन दुई मन्त्रालय थप्ने सहमति भएको छ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय छ। दुई वटा मन्त्रालय फुटाएर नौ बनाउने सहमति भएको हो।
एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको संख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए। उनले भने, “कांग्रेसले मुख्यमन्त्री सहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ।”
अहिले कांग्रेसबाट बिन्दुकुमार थापा सामाजिक विकासमन्त्री र टकराज गुरुङ आर्थिक मामिलामन्त्री छन्। त्यस्तै, नेपाल समाजवादी पार्टीबाट फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री छन्।
कांग्रेस र एमालेबीच सहमति हुँदा देवकोटा र गुरुङलाई पनि कांग्रेसकै कोटामा राखिएको छ। अहिले मुख्यमन्त्री पाण्डेले उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा भूमि व्यवस्था मन्त्रालय आफैसँग राखेका छन्।
अब एमालेबाट मात्रै चार मन्त्री नियुक्त हुनेछन्। आइतबारसम्म मन्त्रालयको बाँडफाँड टुंग्याएर मन्त्रीको शपथ गराउने तयारी भइरहेको न्यौपानेले बताए।
यसअघि एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालयको संख्या घटाइएको थियो। खर्च बढेको भन्दै १२ बाट सात मन्त्रालयमा झारिएको थियो। फेरि बढाएर नौ बनाउन लागिएको छ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र)का सभामुख बाहेक सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सांसद छन्।