नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
औद्योगिक नगर विराटनगरमा जन्मेहुर्केकी नूररानी ढुंगेलमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच सानैदेखि थियो। बुबाआमा नै शिक्षण पेशामा आबद्ध भएकाले आफूले पनि पढेर केही गर्नुपर्छ भन्ने हुटहुटी भरिएको थियो।
बुबाले भनिराख्थे- राम्रो पढ्नुपर्छ, आफ्नै देशमा काम गर्नुपर्छ र सकेसम्म अरूलाई पनि रोजगारी दिनुपर्छ।
त्यो सुन्दै हुर्किएकी नूररानीमा भविष्यमा उद्यम गर्ने सपनाले घर बनाउन थाल्यो। त्यही सपनाको प्रतिफल हो, प्राकृतिक तथा जैविक सामग्री बनाउने उद्योग ‘मदर्स म्याजिक’।
एक वर्षअघि सञ्चालनमा आएको उद्योगले ‘नौरा’ ब्रान्डमा नौ प्रकारका नुहाउने साबुन उत्पादन गर्दै आएको छ। तिनमा लालीगुराँस, लेभेन्डर, भाङ, चारकोल, बाख्राको दूध, बियर, केशर र बेसार, जौ र मह तथा कफीबाट बनाइएका साबुन छन्। पछिल्लो समय उद्योगले नरिवलको तेल पनि उत्पादन गर्न थालेको छ। तर उद्योगले साबुनको उत्पादन र प्रवर्द्धनमै प्राथमिकता दिइरहेको छ।
सबै साबुन हातले नै बनाइने नूररानी बताउँछिन्। “वनस्पतिबाट बनाइएकाले यी साबुन लाभदायक छन्, संवेदनशील छालालाई पनि असर गर्दैनन्,” उनी भन्छिन्।
मदर्स म्याजिकको कारखाना हेटौंडामा छ। कारखानामा चार जनाले रोजगारी पाएका छन्। जसमध्ये यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका दुई जना छन्। व्यवसाय बढ्दै जाँदा थप रोजगारी सिर्जना हुने देखेकी उनी अबका दिनमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई प्राथमिकता दिने बताउँछिन्।
यूरोप भ्रमणले खोलेको ढोका
नूररानी उद्योग खोल्ने निर्णयमा पुग्नुको पृष्ठभूमिमा व्यावसायिक पाटोसँगै अध्ययन र अभ्यास जोडिएको छ। उनले अन्तर्राष्ट्रिय वित्त व्यवस्थापनमा स्नातक सकेर स्ट्यान्डर्ड चार्टर्ड ब्यांकमा जागीर गरिन्। एमबीए पनि यही विषयमा गरिन्।
२०६९ सालमा विवाह भएर हेटौंडा पुगेकी उनले त्यहींको क्याम्पसमा ६ वर्ष पढाइन्। श्रीमान् प्लास्टिक उद्योग चलाउँथे। उनले केही समय उद्योगमा सघाइन्। त्यसले आफ्नै उद्यम चलाउने उनको विगतदेखिको रुचि थप जगायो। त्यो रुचिमा परिवारको साथले हौसला थपिदियो। तर केको उद्यम गर्ने भनेर टुंगोमा पुग्न सकेकी थिइनन्।
दुई वर्षअघि जेठाजुले पोर्चुगल घुम्न बोलाए। उनी परिवार सहित त्यहाँ पुगिन्। त्यहाँको डिपार्टमेन्ट स्टोरमा अर्गानिक नुहाउने साबुन देखिन्। उनले तत्क्षण निधो गरिन्, नेपालमा यस्तै साबुनको उद्योग चलाउने।
नेपाल फर्केपछि उनले साबुन कसरी बनाउने भनेर इन्टरनेटमा अध्ययन गर्न थालिन्। “भारतबाट किताब मगाएर पढें, अनलाइन कक्षा पनि लिएँ,” उनी भन्छिन्।
गहन अध्ययनबाट एक तहको सिकाइ हासिल भएपछि साबुन बनाइन्। शुरूआतको एक वर्ष उनले परिवारका सदस्य र छिमेकीहरूलाई परीक्षणका लागि प्रयोग गर्न दिइन्। सबैबाट राम्रो प्रतिक्रिया पाएपछि व्यावसायिक उत्पादन थालिन्। नाम जुराइन्, नौरा अर्थात् नेपालको ‘औरा’ (आभा)।
शुरूमा अनलाइन माध्यमबाट व्यापार गरिन्। बिस्तारै माग बढ्न थालेको उनको भनाइ छ। उत्साहित हुँदै सुनाउँछिन्, “पहिला कस्तो प्रतिक्रिया आउला भन्ने थियो, तर बजारमा आइसकेपछि धेरैको रोजाइमा परेको छ।”
विगतमा उनी देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा स्वदेशी उत्पादन किन्न खोज्थिन्। तर विदेशी कम्पनीका सामानको दबदबा देखेर खिन्न हुन्थिन्। आफ्ना उत्पादन ती ठाउँमा राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्। नौरा साबुन बिगमार्ट सहितका विभिन्न शपिङ सेन्टरमा बिक्रीमा राखिएका छन्। साबुनको मूल्य प्रतिगोटा ३०० देखि ५०० रुपैयाँसम्म पर्छ।
मदर्स म्याजिक उनले १० लाख रुपैयाँको लगानीमा शुरू गरेकी हुन्। उनका अनुसार एक वर्षमा २५ लाख रुपैयाँको व्यापार भयो, जसको २० प्रतिशत उनले कमाएको नाफा हो।
बजारमा साबुनको माग बढेसँगै पछिल्लो समय उनको व्यस्तता बढेको छ। उनको अठोट छ, नौरालाई नेपालको गुणस्तरीय र स्थापित ब्रान्ड बनाउने। “व्यवसाय विस्तार गर्दै व्यक्तिगत स्याहारका अन्य सामान पनि उत्पादन गर्नेछु,” उनी भन्छिन्।
नेपाली उद्यम शृंखलाका थप सामग्री :