सिल्विं लेविको ‘ल नेपाल्’ का थरीथरी अवतार
![सिल्विं लेविको ‘ल नेपाल्’ का थरीथरी अवतार](https://www.himalkhabar.com/uploads/posts/800X600/sylvain-levi_maheshraj-pant-main-1714904437.jpg)
मूल विषयका रूपमा फरासीस भाषा पढेकी, अङ्ग्रेजी जन्मभाषा अर्थात् मातृभाषा भएकी विदुषीले अङ्ग्रेजीमा गरेको उल्था पढ्न पाइयो, त्यही नै गनीमत छ। खालि ‘यान्ओटेशन्’ नगरीकनै गरेको भनी नलेखिदिएको भए राम्रो हुन्थ्यो।
११८ वर्ष भयो, सिल्विं लेवि (वि.सं. १९१९-१९९३) को ल नेपाल्, एत्यूद् ईस्तोरीक् दाँ र्वायोम् आँदू अर्थात् ‘नेपाल- एउटा हिन्दू राज्यको इतिहासको परिशीलन’ भन्ने पुस्तकका पहिला दुइ ठेली निस्केको (प्यारिसः एर्नेस्त लरू, ई.सं. १९०५)। यसको तीन वर्षपछि तेस्रो ठेलीे (प्यारिसः एर्नेस्त लरू, ई.सं. १९०८) निस्कँदा एक हजारभन्दा बढी पृष्ठमा फैलेको, लेविले लेखेको नेपालको इतिहास पूरा भयो।
पहिलो ठेली नेपालको साङ्गोपाङ्ग परिचयबाट शुरू हुन्छ। त्यसपछि समग्र नेपाल राज्यसहित नेपालखाल्डोको भुवनकोषीय वर्णन दिइसकेपछि नेपाली इतिहासका आकर अर्थात् स्रोत, नेपालका बासिन्दा खास गरी नेवार र लेविको भाषामा गोरखा अर्थात् पर्वतेको वर्णन गरिएको छ। अनि नेपालको अर्थ राजकाज र कानूनी व्यवस्था तथा अन्त्यमा यहाँका ग्रामदेवताहरूको विषयमा लेखिएको छ।
दोस्रो ठेलीको प्रारम्भ यहाँका मठमन्दिर र चाडपर्वबाट हुन्छ। त्यसपछिका धेरै पृष्ठ प्राचीनकालदेखि नेपालको इतिहासको शुरूआत गरी वि.सं. १९५८ मा चन्द्रशमशेर (वि.सं. १९२०-१९८६, शासनकाल वि.सं. १९५८-१९८६) श्री ३ महाराज भएसम्मको कुराले ओगटेको छ। त्यस ठेलीको अन्तिम अध्यायमा आफूले नेपालमा वि.सं. १९५४ को हिउँदमा बिताएका दुइ महीनाको डायरी लेविले दिएका छन्।
तेस्रो ठेलीमा चाहिँ आफूले पत्ता लगाएका २० वटा र भगवान्लाल इन्द्रजी (वि.सं. १८९६-१९४४) ले राजा मानदेव (निश्चित राज्यकाल वि.सं. ५२१-५६३) को चाँगुको ढुङ्गे खामोको पाठ छपाउँदा जमीनमुनि गडेको भाग छोडेकोमा त्यो भाग पनि पढी लिच्छविकालका जम्मा २१ वटा शिलालेखका फोटो, मूलपाठ, उल्था र व्याख्या छापिएको छ। परिशिष्टका रूपमा मूलसर्वास्तिवादविनयवस्तुमा आएको नेपालको वर्णन, चीनका बादशाह कुब्लै खाँ (वि.सं. १२७२-१३५०) को दरबारमा नेपालबाट गएको वास्तुविद्हरूको मण्डल, स्वयम्भूचैत्य, स्वयम्भूपुराण र नेपालका टकको विषयमा लेखिएको छ।
सिल्विं लेवि।मेरो नजरमा लेविको ल नेपाल्को वैशिष्ट्य आकरसम्म पुगेर इतिहास केलाउनु हो। नेपाली इतिहासका आकरलाई उनले यूरोपियन, चिनियाँ र तिब्बती तथा खूद नेपालका गरी तीन वर्गमा छुट्ट्याएका छन्। लेविले संस्कृत हुँदै महायानी बौद्ध वाङ्मयका लागि अपरिहार्य जस्तै भएका तिब्बती र चिनियाँ भाषा पनि पछि पढेकाले उनले ती भाषामा भएका नेपालसम्बन्धी आकर केलाउन सके। थरीथरी यूरोपियन भाषाको ज्ञानबाट उनलाई नेपाली इतिहासका पाश्चात्त्य आकरको विषयमा काम गर्न सजिलो बनायो। पछि मूलतः महायानको इतिहासमा एकोहोरिएका लेवि त्यसको एक शाखा नेपालखाल्डोमा जीवित रहेकाले नै यहाँको प्रामाणिक इतिहास लेख्न तम्सेका जस्तो मलाई लाग्छ।
लेविभन्दा अगाडि कसैले पनि नेपालको सिलसिलेवार इतिहास लेखेका थिएनन्। लेविको इतिहास फरासीस अर्थात् फ्रेन्च भाषामा भएकोले नेपाल-भारततिर मात्र होइन, फरासीस भाषा नबोलिने पश्चिमी मुलुकमा पनि अक्सर यसको गाथा गाउने काम मात्र भयो। त्यसैले आन्द्रास ह्योफर (वि.सं. १९९४-?) ले ‘नेपालको इतिहास र धर्मसम्बन्धी कुनै पनि नयाँ किताबको सन्दर्भग्रन्थसूचीमा सिल्विं लेविको ल नेपाल् राख्नुपर्ने नै भए पनि यो अगुवा पुस्तक दुर्भाग्यवश पढिनुभन्दा अक्सर यसको नाम लिने गरिन्छ’ (‘अन् रि-रीड्इङ् ल नेपाल्ः ह्वाट् वी सोसल् सायन्टिस्ट्स् ओ टु सिल्विं लेवि’, कैलाश, ७ ठेली ३-४ अङ्क, ई.सं. १९७९ पृ.बाट अनूदित) भनी लेखेको।
यस्तै भएर होला, बङ्गाली ऐतिहासिक रमेशचन्द्र मजुमदार (वि.सं. १९४५-२०३६) ले अर्का बङ्गाली ऐतिहासिक राधागोविन्द बासक (वि.सं. १९४२-२०३९) का सन्दर्भमा ‘आचार्य लेभीको फ्रेन्च भाषामा लेखिएको पुस्तकलाई बासकले नहेरेको हुँदा लेभीको वास्तव कुरा नबुझेर उनले अशुद्ध व्याख्या गरेका रहेछन् भन्ने कुरा यताबाट देखिन आउँछ’ (नयराज पन्त, लिच्छविसंवत्को निर्णय, काठमाडौँः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०४३, ३२३-३२४ पृ.मा अनूदित) भनी लेख्न भ्याएको।
*** *** ***
ल नेपाल्का तीनै ठेलीको उल्था अङ्ग्रेजीमा श्री ३ चन्द्रले गराएका हुन् भन्ने पहिल्यै सुनिएको भए पनि अनुवादकको नाउँ कहीँकतै नआएकोले त्यो गुमनाम मानिसको कृति हुन पुगेको छ। अनुवादक पत्ता लाउनेतर्फ प्रयत्न नभएका भने होइनन्-
ल नेपाल्को नेपाली उल्थाको ‘प्रकाशकीय’ अनुसार ‘यस पुस्तकलाई फ्रान्सेलीबाट अङ्ग्रेजी भाषामा उल्था गर्ने काम कुनै अज्ञात बङ्गाली बाबुद्वारा सन् १९१० तिर गरिएको अनुमान छ’ (डिल्लीराज उप्रेतीद्वारा अनूदित नेपाल : हिन्दू अधिराज्यको इतिहास, १ भाग, ललितपुरः हिमाल किताब, ई.सं. २००५)। एस. (समीर वा सुव्रत) मित्र भन्ने कुनै बङ्गाली मोशायले लेविको रेखदेखमा यो उल्था गरेको हो भनी ल नेपाल्मा गाभिएको, लेविको नेपालयात्राको डायरीको अङ्ग्रेजी उल्थाका प्रस्तोता हरिहरराज जोशी (वि.सं. १९९०-२०६७) र इन्दु जोशीले लेखेका छन् (नेपाल्, अ नोट्बुक् अफ् सोज्अर्न् बाइ सिल्विं लेवि, काठमाडौँः द नेपाल स्टड्इजः पास्ट यान्ड प्रेजन्ट, ई.सं. २००६, ९५ पृ.)।
छाप्ने उद्देश्य नराखिएको त्यस उल्थाको टाइप गरिएका प्रति श्री ३ चन्द्रले आफ्ना छोराहरूलाई बाँडिदिएका थिए। त्यसैले राणाकालमा कुनै कुनै भाग्यमानीले मात्र त्यो उल्था पढ्न पाई लेविको ग्रन्थको महत्ता बुझ्ने मौका पाए। त्यस्ता भाग्यमानीमा नयराज पन्त (वि.सं. १९७०-२०५९) पनि संयोगवश परेका थिए। श्री ३ चन्द्रका माहिला छोरा बबरशमशेर (वि.सं. १९४४-२०१७) कहाँ रहेको त्यस उल्थाको पुस्तक बबरशमशेरका जेठा छोरा मृगेन्द्रशमशेर (वि.सं. १९६३-२०३१) मार्फत रुद्रराज पाण्डेय (वि.सं. १९५७-२०४३) ले केही समयका लागि लिएर आए र त्यही पुस्तक उनका ठाहिँला भाइ तोत्रराज पाण्डेय (वि.सं. १९६७-२०१४) को नाम समेत हाली नयराज पन्तले नेपालको संक्षिप्त इतिहास (काशीः तोत्रराज पाण्डेय, २००४) लेख्दा उपयोग गर्न पाएका थिए। धेरै समय आफूसँग राख्न नपाइने हुनाले उनले त्यस उल्थाका ठाउँठाउँका अंश सारेका कापी अहिले लक्ष्मीपति-नयराजसंग्रहमा सुरक्षित छन्।
नयराज पन्तले नेपालको संक्षिप्त इतिहास लेख्दा बबरशमशेरकहाँको ल नेपाल्को अङ्ग्रेजी उल्थाको प्रतिको उपयोग गरेका थिए त धेरैपछि लिच्छविसंंवत्को निर्णय लेख्दा केसरशमशेर (वि.सं. १९४८-२०२१) को पुस्तकखाना अर्थात् केसर पुस्तकालयमा रहेको उल्थाको प्रतिबाट टाइप गराई नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा राखिएको प्रतिको उपयोग गरेका थिए (उही, उपोद्घात, ४५ पृ.)।
श्री ३ चन्द्रले ल नेपाल्को अङ्ग्रेजी उल्था निजी उपयोगका लागि गराएकाले त्यो फरासीस नबुझ्ने तर नेपालको इतिहासमा रुचि भएका सबैको पहुँचमा पुग्ने कुरा भएन। यसैले पञ्जाबी ऐतिहासिक जयचन्द्र विद्यालंकार (वि.सं. १९५५-?) ले गोरखाली साम्राज्यको इतिहास लेख्न बस्दा फरासीस जान्ने आफ्ना एक मित्रको मुखबाट ल नेपाल्को आफूलाई चाहिने जति अंश सुनी काम चलाएका थिए (जयचन्द्र विद्यालंकार, गोरखाली इतिहास की मुख्य धाराएँ, जालंधर/इलाहाबादः हिन्दी-भवन, ई.सं. १९६२, छ-ज पृ.)।
हृषीकेश शाह (वि.सं. १९८२-२०५९) ले अङ्ग्रेजीमा गरेको भनी हवाई विश्वविद्यालयमा राखिएको ल नेपाल्को उल्था केसरशमशेरकहाँ रहेको प्रतिको सरोट हो भन्ने सुनिएको हो। त्यस्तै कनकमणि दीक्षितले ल नेपाल्को अङ्ग्रेजी उल्था छपाउँदै छन् भन्ने हल्ला ल नेपाल्को नेपाली उल्था (नेपाल : हिन्दू अधिराज्यको इतिहास, १ भाग, ललितपुरः हिमाल किताब, ई.सं. २००५, २ भाग, ई.सं. २००७) छापिनुभन्दा धेरै अगाडि सुनिएको हो। अङ्ग्रेजी उल्थाको त्यो प्रति श्री ३ चन्द्रका कान्छा छोरा मदनशमशेर (वि.सं. १९७५-२०१०) कहाँको हुनुपर्छ जस्तो मलाई लाग्छ। ल नेपाल्को अङ्ग्रेजी उल्था केसर पुस्तकालयमा रहेको प्रतिबाट वि.सं. २०३० वैशाखदेखि पुरातत्त्व-विभागको पत्रिका प्राचीन नेपालमा किस्ताबन्दीमा छापिन थाल्यो। २३ अङ्कदेखि बीबीचमा केही अङ्क छोडेर ११५ अङ्कसम्म ४४ किस्तामा छापिँदा वि.सं. २०४६ मा तीनै ठेलीका उल्था पूरा भए।
लेविले वि.सं. १९५४ मा गरेको नेपालयात्राको डायरीको मात्र अङ्ग्रेजी उल्था नेपाल् : अ नोट्बुक् अफ् सोज्अर्न् वाइ सिल्विं लेवि भन्ने नाउँले हरिहरराज जोशी र इन्दु जोशीले वि.सं. २०६३ मा प्रस्तुत गरे। यो उल्था र श्री ३ चन्द्रले गराएको उल्था दाँजेर हेर्दा वस्तुतः उस्तै भए पनि डायरीको भाषा कहीँ कहीँ अलि सुधारिएको देखिन्छ।
ल नेपाल्को दोस्रो ठेलीमा छापिएको, प्राचीन कालदेखि लिच्छवि राजा मानदेवको पालासम्मको इतिहासको थियोडोर रिकार्डी (वि.सं. १९९४-२०७७) ले गरेको अङ्ग्रेजी उल्था अनुवादकको वैदुष्यमय उपोद्घात र टिप्पणीसहित वि.सं. २०३१ मा छापियो (कैलाश, ३ ठेली १ अङ्क, ई.सं. १९७५, १-६० पृ.)। श्री ३ चन्द्रले गराएको उल्थाभन्दा रिकार्डीको उल्था कता हो कता राम्रो छ भनी पढ्ने जसले पनि भनिहाल्छ।
*** *** ***
कलियुगदेखि उठाएर नेपालका ने.सं. ५०९ अर्थात् वि.सं. १४४५ सम्मका घटना भ्रष्ट संस्कृत र तात्कालिक नेवारी भाषामा रचिएको इतिवृत्त हो, गोपालराजवंशावली। नेपालको पहिलो राजवंशको रूपमा गोपालवंशको कुरा लेखिएकाले यसले यो नाउँ पाएको हो। त्यस्तै सृष्टिदेखि शुरू गरेर नेपाली भाषामा नेपालको इतिहासका घटना लेखिएको इतिवृत्त छ, भाषावंशावली। पटक पटक गरी वि.सं. १९४८ सम्म पनि प्रतिसंस्कार हुँदै गरेको इतिवृत्त नेपालीमा लेखिएकैले यो भाषावंशावली नाउँले प्रसिद्ध छ।
प्राचीन इतिवृत्त गोपालराजवंशावली र अर्वाचीन इतिवृत्त भाषावंशावलीको साधर्म्य र वैधर्म्यको परिशीलन गर्नाले नेपालको इतिहासलेखनको परम्परा बुझ्न निकै मदत मिल्ने हुनाले यिनमा लेखिएका कुरा कहाँ कहाँ मिल्छन् भन्ने विषयमा वि.सं. २०२९ तिर मैले काम गर्न थालेँ। खोज्दै जाँदा लेविले उपयोग गरेको, वि.सं. १८९१ मा लेखिएको प्रति भाषावंशावलीका पाइएसम्मका प्रतिमध्ये सबभन्दा पुरानो भन्ने ठहर भयो। त्यसैले भाषावंशावलीको त्यस प्रतिको विषयमा लेविले के लेखेका रहेछन् भनी बुझ्न म उनको ल नेपाल् पल्टाउन पुगेँ। अनि भाषावंशावलीको त्यस प्रतिको विषयमा लेविले लेखेका वाक्य देवनागरीमा उतारेर र उनको फरासीसको नेपाली उल्थासमेत गरी वि.सं. २०३१ मा प्रकाश भएको लेखमा हालेँ (‘गोपालराजवंशावली र भाषावंशावलीको साधर्म्यका केही उदाहरण’, पूर्णिमा ३१ पूर्णाङ्क, १६४-१६५ पृ.)। मलाई थाहा भएसम्म फरासीस भाषाबाट ल नेपाल्को नेपालीमा उल्था गर्ने कामको श्रीगणेश सानो अंशको भए पनि मेरो हातबाट भयो।
लिच्छविकालमा यहाँ चलेका संवत्को निर्णय गर्ने प्रसङ्गमा लेविको मतको पनि परीक्षा गर्नु जरुरी भएकोले यस विषयमा ल नेपाल्मा लेखिएको लामै अंश नयराज पन्तको लागि फरासीस भाषाबाट त होइन, श्री ३ चन्द्रले तयार पार्न लगाएको अङ्ग्रेजी उल्थाबाट नेपालीमा गरेर ठाउँठाउँमा लेविको लेखाइमा परेका असङ्गतिमा टिप्पणी पनि हाली तयार गरेँ। त्यो अंश पछि वि.सं. २०४३ मा लिच्छविसंवत्को निर्णयका ३०५-३१७ पृष्ठमा प्रकाशित पनि भयो।
*** *** ***
समग्र ल नेपाल्को मूल फरासीसबाट नेपालीमा गरिएको उल्थाको लागि भने पूरै एक सय वर्ष कुर्नुपर्यो। खुलाएर भन्दा, त्यसका दुवै ठेलीको उल्था फ्रान्सको सीएन्आर्एस् अर्थात् सँत्र नासिओनल दे ला रशेर्शे साँतिफिक (शास्त्रीय अन्वेषणसम्बन्धी राष्ट्रिय केन्द्र) ले डिल्लीराज उप्रेती (वि.सं. १९८७-२०६५) द्वारा गरायो। अनि ‘पाण्डुलिपिको प्रारम्भिक सम्पादन पेरिसमै कार्यरत फ्रान्सेली भाषाका अर्का नेपाली जानकार प्रमोद खकुरेलबाट भएको थियो। भिक्टर प्रधानको कठोर परिश्रम र सम्पादन सीप यसमा नपरेको भए यो पुस्तक यस रूपमा निकाल्न सम्भव हुने थिएन। त्यसबाहेक सम्पादन कार्यमा वसन्त थापाको पनि महत्त्वपूर्ण योगदान रहेको छ।
यसप्रकार यस कृतिको नेपाली संस्करण तयार गर्नमा धेरै जनाको परिश्रम परेको छ’ भनी नेपाली उल्थाको पहिलो खण्डमा ‘प्रकाशकीय’ मा लेखिएको छ। ‘साथै पुस्तकको प्रारम्भिक सम्पादन गर्नुहुने श्री प्रमोद खकुरेल पनि धन्यवादका पात्र हुनुहुन्छ। तर यस पुस्तकलाई प्रकाशन योग्य बनाउने सिलसिलामा भाषा, शैली र तथ्यातथ्यलाई बडो सूक्ष्मतासाथ केलाई परिश्रमसाथ सम्पादन कार्य गर्ने श्री भिक्टर प्रधान र श्री वसन्त थापालाई विशेष कृतज्ञता ज्ञापन गर्दछु’ भनी त्यसै खण्डमा ‘अनुवादकको भनाइ’ मा लेखिएको छ।
यताबाट अनुवादकबाहेक अरू तीन जनाको पनि यस उल्थामा परिश्रम परेको देखिन्छ। ‘अनुवादक डिल्लीराज उप्रेती’ र ‘सम्पादनः प्रमोद खकुरेल, भिक्टर प्रधान, वसन्त थापा’ भन्ने लेखी पहिलो ठेली वि.सं. २०६२ मा र दोस्रो ठेली वि.सं. २०६४ मा प्रकाशित गराइयो, तेस्रो ठेलीको उल्थाचाहिँ किन हो कुन्नि अहिलेसम्म छापिएको छैन।
त्यस उल्थाको पहिलो खण्डमा सीएन्आर्एस्का दुइ जना ख्यातनामा नेपालविद् मार्क गाबरियो र जेरार्ड तोफाँको पाण्डित्यमय प्रस्तावना छापिएको छ (xi-xxxi पृ.)। त्यसमा खास गरी लेविको चरित अर्थात् जीवनी, ल नेपाल् लेख्नाको उद्देश्य र ल नेपाल्मा ओगटिएको विषयमा बढी खोजी गरी पछि छापिएका कृतिको विवरण दिइएको छ। तर त्यसमा पाश्चात्त्य भाषामा लेखिएका कृतिको मात्र चर्चा गरिएको र खास गरी संशोधन-मण्डलको परम्पराबाट भएको नेपालको इतिहासको अन्वेषणले निकै फड्को मारिसकेको अवस्थामा त्यो विवरण निकै अपूरो छ भनी भन्नैपर्छ।
भारतीय पुस्तकव्यवसायीले गरेको ल नेपाल्को पुनःप्रकाशन त मसँग पनि छ (नयाँ दिल्लीबाट एसियन एड्युकेशन सर्भिसद्वारा ई.सं. १९९१ मा प्रकाशित)। ल नेपाल्को नेपाली उल्थामा गाँसिएको, मार्क गाबरियो र जेरार्ड तोफाँको प्रस्तावनाबाट के थाहा भयो भने यिनै दुइ नेपालज्ञको प्रस्तावनासहित ल नेपाल्को दोस्रो संस्करण छापिएको रहेछ (xxxi पृ.)।
ल नेपाल्को नेपाली उल्थाको पहिलो खण्ड छापिएको केही समयपछि नै देवेन्द्र भट्टराईले त्यसको मीमांसा गरी अलि लामै लेख निकाले (‘इतिहास, सिल्भाँ र त्रुटीहरू’, बहाः जर्नल, ३ वर्ष ३ अङ्क, २०६३, ९१-९८ पृ.)। त्यस पुस्तकमा भएका त्रुटिको सङ्कलन गर्ने काममा दिनेशराज पन्त, शिव रेग्मी (वि.सं. १९९८-२०७५) र अनुवादक डिल्लीराज उप्रेतीबाट समेत सहयोग पाएका (उही, ९८ पृ.) भट्टराईले गरेको त्यो मीमांसा धेरै हदसम्म प्रामाणिक छ।
ल नेपाल्को नेपाली उल्था गराउन धन जुटाउने, सीएन्आर्एस्का पदाधिकारी त्यस उल्थाबाट सन्तुष्ट भएनन् भन्ने कुरा मार्क गाबरियोको तलको भनाइबाट बुझिन्छ-
‘म नेपाल जाँदा डिल्लीराज उप्रेती पेरिसको युनेस्कोमा थिए। उनले कहिल्यै राम्रो फ्रान्सेली बोलेनन्। ... उप्रेती युनेस्कोमा काम गर्ने हुनाले सधैँ अंग्रेजी बोल्थे। तैपनि अन्ततः उनले सिल्भाँ लेभीका पुस्तक नेपालीमा अनुवाद गरे। मैले पनि त्यो किताब निस्कियो भनेर सुनेँ तर हेर्न चाहन्नँ। मेरा सहयात्रीहरू जसले हेरे त्यो किताबको अनुवाद देखेर त्यति सन्तुष्ट छैनन्’ (ददि सापकोटा, त्यो नेपाल (फ्रान्सेली अनुभव), ललितपुरः जगदम्बा प्रकाशन, २०६८, २८० पृ. = त्यो नेपाल- नेपाललाई कर्मथलो बनाएका फ्रान्सेली अनुभव, काठमाडौँः फाइनप्रिन्ट बुक्स, २०७९, ३६९ पृ.)।
श्री ३ चन्द्रले गराएको ल नेपाल्को अङ्ग्रेजी उल्थाको विषयमा ‘त्यसरी अङ्ग्रेजी उल्था गर्ने अनुवादकको फ्रान्सेली भाषाको ज्ञान कुन स्तरको थियो र सो अनुवाद कति सटिक थियो भन्ने कुरा आफ्नो ठाउँमा छँदै छ’ (हिन्दू अधिराज्यको इतिहास, १ खण्ड, ‘प्रकाशकीय’) लेखी ‘त्यस अङ्ग्रेजी उल्थाको विश्वसनीयतामा नेपाली उल्थाको ‘प्रकाशकीय’ मा शङ्का उठाइए पनि त्यस नेपाली उल्थाबाट म पनि सन्तुष्ट भइनँ। त्यसैले बौद्ध नेवारहरूको जातिव्यवस्थाको विषयमा लेविले लेखेको कुराको विमर्श गर्न बस्दा त्यस उल्थामा लेविको पुस्तकबाट जातिनाम निकै गल्ती गरी उतारिएकोले मैले यस्तो टिप्पणी गरेको थिएँ-
‘विद्वद्ग्राह्य मूल पुस्तकको उनले प्रकाशमा ल्याएको नेपाली उल्था पण्डितराज जगन्नाथको रसगङ्गाधरबाट शब्द सापटी लिएर भन्ने हो भने पामरश्लाघ्य बन्न गएको छ भन्ने प्रमाणको लागि मूल पुस्तकका बन्द्य, बिखु, भिक्षु, तामकर्मी, छिवर त्यस उल्थामा क्रमशः बन्ड्या, भिखु, विक्सु, तमकर्मी, शिव मात्र देखाए पनि पर्याप्त होला’ (‘इटुंबहालको प्रज्ञापारमिता- खस-नेवारसम्पर्कको नतीजा’, पूर्णिमा, १३४ पूर्णाङ्क, २०६९, २६० पृ.)।
![Sylvain-Levi-1714908622.jpg](https://www.himalkhabar.com/uploads/posts/Sylvain-Levi-1714908622.jpg?timestamp=1714908622865)
त्यस उल्थामा जातिनाम निकै गल्ती गरी उतारिएको कुरामा मात्र प्रसङ्गवश त्यस लेखमा मैले टिप्पणी गरे पनि लेविले उद्धरण गरेका शास्त्रीय शब्द र वाक्यको मात्र होइन, व्यवहारमा चलेका शब्दको पनि निकै दुर्गति भएको छ। संस्कृतभाषाबाट पूरै पराङ्मुख अनुवादक र सम्पादकहरूले रोमन लिपिमा लेखिएका संस्कृत शब्दलाई देवनागरीमा उतार्न जति परिश्रम गर्नुपर्थ्यो त्यति नगरेकाले छ्यासछ्यासती गल्ती भएका छन्।
मूलको ‘वाग्वती-माहात्म्य’ (१ खण्ड, २०५, २०६ पृ.) उल्थामा ‘भगवती-महात्म्य’ (१ खण्ड, १२८, १२९ पृ.), मूलको ‘सनत्कुमार’ (२०६ पृ.) उल्थामा ‘सनतकुमार’ (१२९ पृ.), मूलको ‘वाग्वती’ (२०६ पृ.) उल्थामा ‘बागमती (वागमती)’ (१२९ पृ.), मूलको ‘विश्रवस्’ (२०६, २०७ पृ.) उल्थामा ‘विश्रवास’ (१२९ पृ.), मूलको ‘श्लेष्मान्तक’ (२०६ पृ.) उल्थामा ‘श्लेषमान्तक’ (१२९ पृ.), मूलको ‘धनद’ (२०७ पृ.) उल्थामा ‘धनदा’ (१२९ पृ.), मूलको ‘कैलास’ (२०७ पृ.) उल्थामा ‘कैलाश’ (१२९ पृ.) हुनु त्यसका केही उदाहरण हुन्। संस्कृत उद्धरणको हेरिनसक्ना बिजोगको दृष्टान्त त मूलका २०८-२०९ पृष्ठको देवनागरीमा उतार उल्थाका १३०-१३१ पृष्ठमा भएकोमा पाइन्छ।
ल नेपाल्बाट प्राचीनकालको इतिहासको केही भाग अङ्ग्रेजीमा उल्था गर्ने थियोडोर रिकार्डी भने त्यस नेपाली उल्थाबाट त्यति असन्तुष्ट थिएनन् भन्ने कुरा तल उद्धरण गरिएका, उनका वाक्यबाट बुझिन्छ-
‘यसको गरिमा भए पनि यो फरासीसमा लेखिएकोले नपढिईकन नेपालमा यसै रहिरह्यो। यसको अङ्ग्रेजी उल्था उपलब्ध भए पनि पहिलोपटक अहिले नेपालीहरूले यो गहकिलो पुस्तक आफ्नै भाषामा पढ्ने मौका पाएका छन्। फ्रान्समा लामो समयदेखि बसेका डिल्लीराज उप्रेतीले लेविको फरासीस स्पष्ट र सापेक्षतः सरल नेपालीमा उल्था गरेका हुन्। उल्था उत्कृष्ट हुँदाहुँदै पनि मूल भाग खास गरी टिप्पणीहरू वर्णविन्याससम्बन्धी र छपाइसम्बन्धी गल्तीले गर्दा ध्वस्तै छन्।
यसका पछि छापिने संस्करण र छापिन बाँकी दुइ ठेलीबाट यस्ता गल्ती हटाउनुपर्छ। सबै जना दोस्रो र तेस्रो ठेली आतुरिई पर्खिरहेछन्’ (टेड रिकार्डी, ‘अफ् स्कलर्शिप् यान्ड् पोलिटिक्स्ः द रिलेन्ट्लेस् पर्स्यूट्’, हिमाल् साउथ्एशियन्, १९ ठेली ४ अङ्क, ई.सं. २००६ जुलाई, ७५ पृ. बाट अनूदित)।
जे जस्तो भए पनि ल नेपाल्को नेपाली उल्था छापिएकोले मूल फरासीस वा त्यसको अङ्ग्रेजी उल्थामा पहुँच नभएका, तर लेविको पुस्तक भने पढ्न खोज्ने नेपालीको ठूलो उपकार भएको छ भनी भन्नैपर्छ।
*** *** ***
एक महीना जति भयो, ल नेपाल्को नयाँ अङ्ग्रेजी उल्था बजारमा आएको (मेअरी ह्यारिसद्वारा अनूदित, दीपक शिंखडाद्वारा सम्पादित नेपाल्ः हिस्टोरइक्ल् स्टड्इ अफ् अ हिन्डू किङ्डम् (काठमाडौँः मण्डल बुक पोइन्ट, ई.सं. २०२४)। यस पुस्तकका सम्पादकले लेखेअनुसार क्यालिफोर्निया विश्वविद्यालयबाट फरासीस भाषामा एम्.ए. गरेर स्कूलमा फरासीस र स्पेनिश पढाई रिटायर भएकी मेअरी ह्यारिसलाई दिन काट्न गाह्रो भएकोले दीपक शिंखडाको सल्लाहमा ई.सं. १९८३ मा उनीले ल नेपाल्का अघिल्ला दुइ ठेलीको अङ्ग्रेजीमा उल्था गर्ने काम थाली वर्ष दिनभन्दा बढी समय लगाएर पूरा गरेकी रहिछन्।
अनुवादिकाले हातले लेख्दै जाँदा १२३२ पृष्ठमा पूरा भएको त्यो उल्था प्रकाशित गर्ने विचार भएकोले प्रकाशककहाँ बुझाउन टाइप गराउनुपर्ने भएछ। शिंखडाले विनाखर्च गराएको त्यो उल्था टाइप गराउन भने थुप्रै खर्च लाग्ने भएछ। यस्तै अलमलमा ई.सं. १९९८ मा अनुवादिका पनि बितिछन्। वर्षौं वर्षपछि तीनवटा संस्थाबाट खर्च जुटाई शिंखडाले लेखोटको टाइप गराएछन्। अनि तिनै तीन संस्था र प्रतापादित्य पालले खर्च बेहोरेकाले मेअरी ह्यारिसले गरेको उल्था ई.सं. २०२२ मा क्यालिफोर्नियाबाट छापिएछ (उही, xxxi-xxxii, xli-xlii पृ.)। पहिलोपटक छापिँदाका विसङ्गति जति हटाई दुइ वर्षपछि अहिले काठमाडौँबाट मण्डल बुक पोइन्टद्वारा प्रकाशित त्यही उल्था मसँग छ।
अमेरिकन संस्करण छपाउँदा जजसले खर्च बेहोरेका थिए, तिनीहरूले र अरू थप तीन जनाले यसपटक छाप्दा केही सहयोग गरेको कुरा यस पुस्तकको भित्री मुखपृष्ठबाट थाहा हुन्छ। यो उल्था अघिल्ला दुइ ठेलीको हो भनी गातामै र सम्पादकको प्रस्तावनामा लेखिए पनि दोस्रो ठेलीको अन्तिम अध्याय अर्थात् लेविको पहिलो नेपालयात्राको डायरी न यसमा परेको छ, न यो नगाभ्नुको कारण कतै खुलाइएको छ।
ह्यारिसको उल्थासँगै छापिएको, प्रतापादित्य पालको पुरोवाक् (फोर्वर्ड्) xv-xxii पृ.) निकै चाख मानी पढेँ। वि.सं. १९७८ मा लेवि दोस्रोपटक काठमाडौँ आउँदा उनकी पत्नी देजिरी (वि.सं.१९२३-२०००) पनि सँगै गएको, भारतवर्षको आफ्नो यात्राको वृत्तान्त उनीले लेखेको र त्यो छापिएको दाँ लिँदे (दे सेलन् ओ नेपाल्), प्यारिसः रीदर, ई.सं. १९२६) पनि मैले यही पुरोवाक्बाट थाहा पाएँ। सात वर्ष आठ महीनाअघिदेखि एक वर्षअगाडिसम्म पनि लेविको विषयमा लेख्दा देजिरीको विषयमा मलाई त्यति थाहा थिएन। मलाई त नाजी जर्मनीले वि.सं. १९९७ मा फ्रान्स कब्जा गरेपछि लेविकी पत्नीले आफ्ना दिवङ्गत पतिका कागजात नष्ट गरिन् भन्ने मात्र थाहा भएकोले मैले त्यति मात्र लेखेको थिएँ (‘लेविमा लाञ्छना’, राजधानी दैनिक, १६ वर्ष ८५ अङ्क, २०७३।५।११।७, ३-४ पृ.; नेपाली इतिहासको परिवेश, १ संस्करण, २०७७ = २ संस्करण, २०८०, काठमाडौँ, मार्टिन चौतारी, ६५, ८० पृ.)।
लेवि दोस्रोपटक काठमाडौं आउँदा उनीसँग प्रबोधचन्द्र बागची (वि.सं. १९५५-२०१२) पनि आएका थिए भन्ने पनि मैले प्रतापादित्य पालको यही पुरोवाग्बाट थाहा पाएँ। अघिल्लो साल कलकत्ता विश्वविद्यालयबाट प्राचीन भारतीय इतिहास र संस्कृतिमा सबभन्दा राम्रोसँग एम्.ए. पास गरेका प्रबोधचन्द्र त्यही विश्वविद्यालयमा लेक्चररमा नियुक्त भएछन्। त्यसताका लेविले शान्तिनिकेतनमा पढाउँदा उनको क्लासमा प्रबोधचन्द्र बस्ने गरेका रहेछन्। नेपालका कुनै कुनै मठमन्दिरमा विधर्मीका लागि प्रवेशनिषेध गरिएकोले प्रबोधचन्द्रलाई सँगै लिएर आउँदा त्यस्ता ठाउँमा उनलाई भित्र पठाई अभिलेखको खोजमेल गराउन लेविलाई सजिलो भयो।
प्रबोधचन्द्रका केही कृति मैले पढेको मात्र होइन, उनको गवेषणाबाट फाइदा पनि उठाएको छु। सत्रौँ शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल (वि.सं. १६५५-१७१७, राज्यकाल वि.सं. १६७७-१६९८) को पालामा काष्ठमण्डप बनेको भनी हाम्रा वंशावलीमा लेखिएको कुराको खण्डन संशोधन-मण्डलको परम्पराबाट तोत्रराज पाण्डेय र नयराज पन्तको नेपालको संक्षिप्त इतिहास (३३ पृ.) मा गरिनुभन्दा १६ वर्षअगाडि नै प्रबोधचन्द्रले गरिसकेका रहेछन् (‘अन् दि यान्टिक्विटि अफ् द नेम् “काष्ठमण्डप अर् काट्मान्डु”’, दि इन्डिअन् हिसट्र्इक्ल् क्वार्टर्लि, ७ ठेली ४ संख्या, ई.सं. १९३१, ७४१-७४२ पृ.) भन्ने कुरा मैले वि.सं. २०४८ मा मात्र थाहा पाएँ। अनि एक वर्षजति पछि नै उनको त्यो अङ्ग्रेजी लेख नेपालीमा उल्था गरी आफ्नो लामो टिप्पणीसहित छपाएँ (‘यसको यशको पात्र को ? लक्ष्मीनरसिंह मल्लको पालादेखि यस शहरको नाउँ काष्ठमण्डप रहन गयो भन्ने कुराको खण्डन प्रबोधचन्द्र बागचीले वि.सं. १९८८ मै गरिसकेका थिए’, पूर्णिमा, ८२ पूर्णाङ्क, २०४९, ५६-६६ पृ.)
‘नाउँ थाहा नभएका कुनै मानिसले ल नेपाल्को अङ्ग्रेजी उल्था गरेका थिए। त्यस उल्थाको टाइप गरिएको प्रति काठमाडौँ केसरमहलमा केसर पुस्तकालयमा राखिएको थियो। ... त्यो पुस्तक केसरशमशेर आफैँले उल्था गरेको भन्ने हल्ला छ। जोसुकैले त्यसको उल्था गरेको भए पनि केसरशमशेर जीवित हुँदा त्यो उल्था उनका परिवारकालाई र छानिएका अत्यन्त कम मानिसलाई मात्र उपलब्ध हुनाले यसको उपयोग अत्यन्त सीमित थियो’ (xxiv-xxv पृ. मा ६ टिप्पणीबाट अनूदित) भनी एक ठाउँमा र ‘केसरशमशेर जङ्गबहादुर राणाको पुस्तकखानामा रहेको, लेविको ल नेपाल्को अङ्ग्रेजी उल्था मैले नहेरे पनि त्यो उल्था खूद केसरशमशेरले नै गरेको हो भन्ने हल्ला छ।
सर्वसाधारणको लागि पढ्न यसको प्रकाशन भएको छैन’ (xxxiii पृ. मा १९ टिप्पणीबाट अनूदित) भनी अर्को ठाउँमा ह्यारिसको अङ्ग्रेजी उल्थाका सम्पादकले लेखे पनि केसरशमशेरकहाँको अङ्ग्रेजी उल्था भित्रै होइन, त्यो त ‘प्राचीन नेपालमा छापिएका उल्था जस्ता नभई मेअरी ह्यारिसका उल्था ग्रन्थकारको मूल ग्रन्थका दुरुस्त उल्था हुन्’ ( xxx पृ.बाट अनूदित) भनी उनले हियाएको उल्थाकै मूल टाइप कपी हो। यो कुरा प्राचीन नेपालमा ल नेपाल्को अङ्ग्रेजी उल्था छाप्न थाल्दा सँगै छापिएको टिप्पणी (२३ संख्या, २०३०, ५६ पृ.मा १ टिप्पणी) बाट स्पष्ट हुन्छ।
प्राचीन नेपालमा ४४ किस्तामा छापिएको, ल नेपाल्को उल्थालाई पुरातत्त्व-विभागद्वारा अनूदित (xxv पृ.मा ७ टिप्पणी) भनी ह्यारिसको उल्थाका सम्पादकले अर्को गल्ती गरेका छन्। ल नेपाल्को दोस्रो ठेलीमा अन्तिम अध्यायको रूपमा छापिएको, लेविको नेपालयात्राको वृत्तान्तको हरिहरराज जोशी र इन्दु जोशीद्वारा प्रस्तुत अङ्ग्रेजी उल्थालाई ‘ट्रान्स्लेट्इड् इन्टु इङ्ग्लिश् बाइ हरिहर् राज् यान्ड् बिन्दु जोशी’ अर्थात् ‘हरिहरराज र बिन्दु (इन्दु हुनुपर्ने) जोशीद्वारा अङ्ग्रेजीमा उल्था गरिएको’ (उही) भनी सम्पादकले झन् अर्को गल्ती गरेका छन्। यात्रावृत्तान्तको उल्थाको त्यस पुस्तिकामा उनीहरूले कहीँ पनि यो उल्था आफूहरूले गरेको भनी दाबी गरेका छैनन्, उल्टो आफूहरूको नाउँको अगाडि ‘प्रेज्न्ट्इड् बाइ’ अर्थात् ‘प्रस्तोता’ मात्र लेखेका छन्।
ह्यारिसको यस उल्थामा सम्पादकलाई ‘टीकाकार’ वा ‘टिप्पणीकार’ (‘एड्इट्इड् यान्ड् यान्ओटेड्इड् बाइ दीपक् शिंखडा, पीएच्.डी.’) पनि भनिएको छ। अप्रकाशित पुस्तक ल्याई प्रकाशित गरेपछि सम्पादक त भई नै हालियो, त्यसमा कुनै विप्रतिपत्ति छैन। बाँकी रह्यो, यस पुस्तकमा ‘यान्ओटेशन्’ गरिएको छ कि छैन भन्ने।
छोटकरीमा भन्दा, यस्तो सन्दर्भमा पछि पछि भएका अन्वेषणको आधारमा मूल ग्रन्थमा लेखिएका कुराको पुष्टिका लागि बढी प्रमाण जुटाउने र गल्ती देखिएमा तिनको सप्रमाण खण्डन गर्ने काम ‘यान्ओटेशन्’ को परिधिभित्र पर्छ। थियोडोर रिकार्डीले ल नेपाल्को केही भागको उल्था गरी कैलाशमा छपाएको खण्ड पूरै ‘यान्ओटेशन्’सहित छ। खुलाएर भन्दा, ल नेपाल्को रिकार्डीले गरेको उल्थाले ३८ पृष्ठ ओगटेको छ त उनले लेखेको ‘नोट्स्’ ले १२ पृष्ठ ओगटेको छ। त्यसैले ‘प्रशस्त ‘यान्ओटेशन्’सहित केही वर्षअगाडि (वि.सं. २०३१ मा) रिकार्डीले अङ्ग्रेजी उल्था प्रकाश गरे’ (कैलाश, ७ ठेली ३-४ अङ्कमा १ टिप्पणीबाट अनूदित) भनी आन्द्रास ह्योफरले लेखेको पूरै सार्थक ठहर्छ।
लेविले झण्डै सवा सय वर्षअगाडि लेखेको यस पुस्तकमा यसपछिको यति लामो अवधिभर भएका अन्वेषणको आधार लिई यस उल्थामा रिकार्डीले देखाएको बाटो पछ्याउँदै प्रशस्त ‘यान्ओटेशन्’ गर्न सकिन्थ्यो, गरिएन ठीकै छ। मूल विषयको रूपमा फरासीस भाषा पढेकी, अङ्ग्रेजी जन्मभाषा अर्थात् मातृभाषा भएकी विदुषीले अङ्ग्रेजीमा गरेको उल्था पढ्न पाइयो, त्यही नै गनीमत छ। खालि ‘यान्ओटेशन्’ नगरीकनै गरेको भनी नलेखिदिएको भए राम्रो हुन्थ्यो भन्ने मात्र मेरो जिकिर हो।
याे पनि:
‘मुकाम रणमैदान’ नियाल्दा
साधनमाला छिचोल्दा