‘मजदूर मार्ग’ भएर रंगमञ्चमा उत्रिए कविता
![‘मजदूर मार्ग’ भएर रंगमञ्चमा उत्रिए कविता](https://www.himalkhabar.com/uploads/posts/800X600/majdur-marga-(1)-1714812582.jpg)
कवि राजु स्याङ्तानको कविता संग्रह ओ पेङ्दोर्जेका चार कविता रंगमञ्चको पर्दामा उत्रिएका छन्।
कविताको भावलाई सिर्जनात्मक तरीकाले नाटक मजदूर मार्गमा उतारेर रंगमञ्चमा प्रदर्शन गरिएको हो। पोखरा थिएटरमा गत वैशाख १९ गते मजदूर दिवसको अवसर पारेर नाटकको मञ्चन गरिएको थियो।
![masinya_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/masinya_2.jpg)
कवि स्याङ्तानका चार कवितालाई नाटकमा चार भागमा प्रस्तुत गरिएको छ। पहिलो भागमा पूर्व-पश्चिम जोड्ने राजमार्ग खन्ने कामको खोजीमा गाउँबाट झरेको रामबहादुर तामाङको कथा जोडिएको छ।
‘महेन्द्र राजमार्ग’ नाम दिएको सडक खन्न परिवारबाट टाढिएर पसिना बगाएर मेहनत गरेका रामबहादुर असन्तुष्टि पोख्छन् र भन्छन्, ‘यो बाटोको नाम रामबहादुर मार्ग हुनुपर्छ।’
![majdur marga_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/majdur marga_2.jpg)
सडकछेउमा भोलिपल्ट उही रामबहादुरको शव भेटिन्छ। घरमा श्रीमती, छोरा ठूले र सानी छोरी रामबहादुरको पर्खाइमा हुन्छन्।
रामबहादुरको कथासँगै उनको छोरा ठूलेको कथा पनि जोडिएको छ, मजदूर मार्गमा। मजदूरको परिवारको कथालाई नाटकमा गहिरो रूपमा विम्बात्मक तरीकाले देखाइएको छ।
![majdur marga_1.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/majdur marga_1.jpg)
नाटकको परिकल्पना तथा निर्देशन नारायण न्यौपानेले गरेका हुन्। नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, सुनीता थापा, कुमार तामाङ, रोशनी रामदाम, रमेश तिमल्सिना, राजकुमारी गहतराज, रोहित पौडेल, परिवर्तन, आकाश परियार, समीक्षा पौडेल र नारायण न्यौपानेले अभिनय गरेका छन्।
कविताबाट बनेको नाटकलाई दर्शकले मन पराएका छन्। पोखरा थिएटरमा ‘मजदूर मार्ग’ वैशाख २९ गतेसम्म चल्नेछ।
![majdur marga (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/majdur marga (3).jpg)