पितृसत्तासँग जुध्न सिकाउने ‘लापता लेडिज’
किरण रावको निर्देशनमा बनेको चलचित्रले महिलाको व्यक्तिगत पहिचानसँगै महिलाबीचको सम्बन्ध र सूक्ष्मतालाई नजिकबाट देखाउँछ।
सन् २००१। भारतको एक गाउँमा नवविवाहित जोडी दुलहीको घरबाट अन्मिएर दुलहाको घरतिर लाग्दै छ। न जन्ती न लोकन्ती। घुम्टोले थिचिएकी बेहुली देख्न सक्छे त केवल पतिको खुट्टा र भुइँ। त्यही पदचाप र आवाज पछ्याउँदैै, घरी डुंगा त घरी बस चढेर ऊ पुग्छे रेल स्टेशन। उसलाई थाहा छ, रेलयात्रा निकै लामो हुनेवाला छ। अनि यो यात्रा टुंगिएपछि एउटा अन्जान ठाउँमा एउटा अन्जान मान्छेसँग त्योभन्दा धेरै लामो यात्रा तय गर्नु छ।
रेलकै डिब्बामा दुलहा-दुलहीको भेट अन्य दुई नवविवाहित जोडीसँग हुन्छ जो उसैगरी अन्मिएर घरतिर जाँदै छन्। अरू दुई दुलही पनि उस्तै छन्- रातो सारी लगाएका अनि रातै घुम्टोले छोपिएर बाहिरी संसारसँग लुकिरहेका। रेलमा तीनै जोडी सँगै बस्छन्। अनि झर्ने ठाउँ आएपछि माथि उल्लिखित पहिलो दुलहाले दुलहीलाई इशारा गर्छ। दुवै झर्छन्। घर पुगेर घुम्टो निकाल्दा थाहा हुन्छ- जसलाई उसले रेलबाट सँगै लिएर आयो, त्यो त उसकी दुलही नै होइन। अर्काकी दुलही ल्याएछ, आफ्नी चाहिं रेलमै छाडेछ।
गाडीमा उस्तै खाले जेब्रा झोलाहरू साटिनु नौलो होइन। केही महीनाअघि प्रदर्शनमा आएको बलिउड चलचित्र लापता लेडिजमा भने यसरी दुलही नै साट्टिन्छन्। लोकमा झट्ट सुन्दा अविश्वसनीय लाग्ने यो कथा चलचित्रले निर्माण गरेको संसारमा भने पत्यारिलो लाग्छ।
त्यसपछिको कथा पुरुषसत्ता, महिलाप्रतिको दमन र कुपरम्परालाई व्यंग्य गर्दै अघि बढ्छ। दर्शकलाई हँसाउँदै समाजका नकारात्मक पक्षहरू उजागर गर्दै जान्छ। विप्लव गोस्वामीको कथा र किरण रावको निर्देशनमा बनेको चलचित्रले महिलाको व्यक्तिगत पहिचानसँगै महिलाबीचको सम्बन्ध र सूक्ष्मतालाई नजिकबाट देखाउँछ।
महिलाको पहिचान अक्सर फलानाकी छोरी, बुहारी, श्रीमती र आमा भनी सीमित पारिएको हुन्छ। विशेष गरेर दक्षिण एशियाका महिलाहरू जीवनभर यिनै भूमिका र जिम्मेवारीको भुमरीमा हराउँछन् र आफूलाई चिन्नुअघि नै अन्तिम श्वास लिन्छन्।
लापता लेडिजमा भने साटिएका दुलहीहरूको गन्तव्य फेरिंदा जेजस्ता उपक्रम आइलाग्छन्, तिनले उनीहरूलाई आफूलाई चिन्ने मौका दिन्छन्। समाजमा जुध्न र आफ्नो ठाउँ बनाउन सिकाउँछन्।
चलचित्र मुख्य गरी जया (प्रतिभा रान्ते) र फूल कुमारी (नीतांशी गोवेल) को वरिपरि घुम्छ। जया ती पात्र हुन् जो रेलबाट साटिएर दीपक (स्पर्श श्रीवास्तव)को घर पुग्छिन्। फूल कुमारी चाहिं दीपककी श्रीमती हुन् जो रेलमा छुट्छिन्।
फूल पात्रलाई हाम्रो समाजले आदर्शवादी छोरीमा गन्छ भने जयालाई विद्रोही भन्छ। चलचित्रले फूललाई पहिल्यैदेखि असल गृहिणीको ढाँचामा देखाउँछ। उनी घरेलु कामकाजमा अब्बल छिन् र यसप्रति उनलाई गौरव छ। जयालाई चाहिं तत्काल विवाह र गृहस्थीभन्दा पढाइमा रुचि छ। कृषि विषय पढेर यही क्षेत्रमा केही बनेर देखाउने महत्त्वाकांक्षा छ। अर्थात् यी दुई पात्रले समाजका दुई बिल्कुलै विपर्यस्त चरित्र समात्छन्। तर चलचित्रले यी पात्रलाई दाँजेर एउटालाई सही वा अर्कोलाई गलत भन्दैन। दुवैको अस्तित्व स्विकार्छ।
चलचित्रमा फूललाई जस्ती देखाइएको छ, त्यो महिला कस्ती हुनुपर्छ भनेर पुरुषसत्ताले बनाइदिएको परिभाषा हो। अनि जयालाई जस्ती देखाइएको छ, त्यो चाहिं आधुनिककालीन भाष्य। कुनै पनि महिलाले कस्तो जीवन चुन्ने, उसकै इच्छाको कुरा हो। विशुद्ध घरेलु जीवन बिताउनु, घरको चौघेरो नाघेर नयाँ ‘करिअर’ बनाउनु र यी दुवै काम सँगसँगै गर्नु- कुनै पनि खराब चेत होइनन्। फरक यत्ति मात्र हो- आफ्ना लागि कस्तो जीवन चुन्ने। चलचित्रले यो कुरा राम्ररी बुझेको छ।
लापता लेडिजले सरल कथावाचनमा महिलाबीचको सम्बन्धलाई जुन गहिराइबाट हेरेको छ, त्यो अन्य चलचित्रमा कम पाइन्छ। रावले यसमा ‘महिलाले नै महिलाको खुट्टा तानिदिन्छन्’ भन्ने भनाइलाई चिर्दै महिलाको महिलासँग हुने सम्बन्धलाई फरक कोण दिएकी छन्।
यसमा महिला पात्रबीचका सरल संवादले गम्भीर कुराहरू उठाइरहेका हुन्छन्। जस्तै- गलत ठेगानामा पुगेपछि घरकी जेठीबुहारी पूनमसँग झाँगिने जयाको मित्रता। पूनम चित्र बनाउन सिपालु हुन्छिन्, तर आफ्नो यो खूबी उनैलाई थाहा हुँदैन। अथवा त्यो रुचि भित्रभित्रै मरिसकेको छ। तर जयाले प्रोत्साहन दिएपछि उनी चित्र कोर्न थाल्छिन्। उनी व्यावसायिक चित्रकलामा लाग्लिन्/नलाग्लिन्, थाहा छैन। तर आफूभित्र ब्युँतिएको क्षमताले उनमा चमक ल्याइदिन्छ। आत्मविश्वास बढाइदिन्छ।
यस्तै अर्को सम्बन्ध छ- फूल र मञ्जु माईको। पतिले छाडेपछि रेलमै अलपत्र परेकी फूल हन्डर-ठक्कर खाँदै मञ्जुसम्म पुग्छिन्, जो रेल स्टेशनमा पसल चलाउँछिन्। बिरानो ठाउँमा ओत खोज्दै आएकी फूललाई मञ्जु सोध्छिन्, “रसोई पराया है, ठीक से बना सकोगी?” (अरूको चुलोमा राम्ररी पकाउन त सक्छ्यौ?)
फूलको जवाफ हुन्छ, “पराई रसोईको अपना बनाना, यही तो सिखाई है हमारी अम्मी।” (अर्काको चुलोलाई आफ्नो बनाउनू- यही त सिकाउनुभएको छ आमाले।)
उनकी आमाले भनेको ‘पराई रसोई’ पतिको घर हो। तर यो संवादले सोचमग्न पारिदिन्छ- महिलाले विवाहपछि अरूको घर गएर त्यसलाई अपनाउनै पर्छ त? हाम्रा लागि दुलहीले घर छोडेर दुलहाको घर जानु एकदम स्वाभाविक र प्राकृतिक रीति हो। तर यो रीति किन बसाइयो, हामी खासै सोच्दैनौं। चलचित्रमा यस्ता संवाद थुप्रै छन्, जसले हामीलाई सामान्य ठानिएका कुराहरूलाई गहिरिएर सोच्न झकझक्याउँछन्।
चलचित्रको कथा र परिवेश नेपाली समाजसँग पनि सान्दर्भिक छ। विवाहको माहोल, दाइजो प्रथा, महिलाप्रतिको दमनकारी पुरुष सोच हामीकहाँ जस्तै छन्। त्यसैले यो चलचित्र हेर्नु भनेको भारतीय समाजको मात्र नभएर नेपाली समाजको पनि एउटा पाटो बुझ्नु हो।
यो पनि पढ्नुहोस् :