नीरफूल: मौलिक कथा, कमजोर प्रस्तुति
![नीरफूल: मौलिक कथा, कमजोर प्रस्तुति](https://www.himalkhabar.com/uploads/posts/800X600/Neerphool1_1686742378.JPG)
याम्बु सभ्यता निर्माण र विकास गरेका तामाङ जाति इतिहासका विभिन्न कालखण्डमा अरू मानिसको आगमनसँगै बहिष्करणमा मात्रै परेनन्, त्यहाँबाट करीब करीब विस्थापित नै भए।
निष्णु थिङओम क्लाङ्बा (गाउँखाने कथा)बाट शुरू हुन्छ, चलचित्र नीरफूलमा। ओम क्लाङ्बा तामाङ गाउँमा प्रचलित ज्ञानवर्द्धक खेल हो जसमा मनोरञ्जन, सामूहिक तथा सांस्कृतिक चेतना र सामुदायिक जीवन भोगाइबाट नि:सृत ज्ञान थिग्रिएको हुन्छ। ओम क्लाङ्बाले पुरानो पुस्ताबाट नयाँ पुस्तामा रमाइलोमै ज्ञान हस्तान्तरण गर्छ। र, चलचित्रको उठान यहींबाटै हुनुले नीरफूललाई मौलिक स्वाद भएको चलचित्र बनाएको छ।
धादिङको उत्तरी भेग पाङसाङ गाउँ (रुबी भ्याली)को एक परिवारको भूकम्पअघि र पछिको कथामा आधारित छ चलचित्र। यसको अर्को सबल पक्ष भनेको आमाछोरी (स्युरल्हामो र पिङचावती) बीच भएको गीति संवाद हो। संवादमा आमाले छोरीलाई राजधानी काठमाडौं नजाऊ, त्यहाँ हराइन्छ र दुःख पाइन्छ भनेकी छिन्।
स्युरल्हामोले पिङचावतीलाई यसो भन्नु पछाडि ऐतिहासिक पृष्ठभूमि छ। काठमाडौंलाई तामाङहरू ‘याम्बु’ भन्छन्। याम्बु सभ्यता निर्माण र विकास गरेका तामाङ जाति इतिहासका विभिन्न कालखण्डमा अरू मानिसको आगमनसँगै बहिष्करणमा मात्रै परेनन्, त्यहाँबाट करीब करीब विस्थापित नै भए।
काठमाडौंले त्यति वेला दिएको दुःखका कारण अहिले पनि वरिपरि घेरेर बसेका तामाङहरूमा काठमाडौंप्रति सकारात्मक धारणा पाइँदैन। उनीहरू अझै पनि काठमाडौंका विभिन्न शासकका दरबारलाई आफ्नो सभ्यता, अस्मिता र इतिहासमाथि धावा बोल्ने किल्लाहरू ठान्दछन्।
त्यस्तै, नीरफूलले उत्तरी धादिङमा बोलिने तामाङ भाषा, लवज र संस्कृति अनि लोकजीवनलाई प्रस्तुत गरेको छ। यो प्रयासले मौलिकतालाई माया गर्नेहरूलाई प्रोत्साहन गर्छ। प्रेरणा प्रदान गर्छ। यसले बिस्तारै चलचित्र क्षेत्रमा नयाँ प्रयोग हुँदै गरेको र नेपाली समाजमा अहिलेसम्म छोपेर राखिएको पर्दा च्यातिंदै गएको सङ्केत गरेको छ।
केही समयअघि प्रदर्शन गरिएको चलचित्र जारीले पनि लिम्बू जातिको सांस्कृतिक अभ्यासलाई देखाएको छ।
पहिलेका नेपाली चलचित्रमा हिन्दू संस्कृति, पर्वते भाषा, हिन्दू मिथक र जीवनशैली नै प्रमुख विषयवस्तु हुन्थे। बिहेको दृश्यमा बेहुलीको सिउँदोमा सेतो कपडाले भुइँबाट निधारसम्म तानेर बेहुलाले सिन्दुर हालेको देखाइन्थ्यो। भिनाजुको जुत्ता सालीले चोरेको वा लुकाएको देखाइन्थ्यो।
![](https://www.himalkhabar.com/uploads/editor/Film/Nirphool.JPG)
अमेरिकाको कोर्नेल विश्वविद्यालयकी मानवशास्त्री क्याथरिन एस.मार्चले तामाङ समाज, संस्कृति र महिलाबारे चार दशकदेखि अनुसन्धान गर्दै आएकी छिन्। बुहारी चलचित्रको नुवाकोटमा छायाङ्कन हुँदा उनी प्रत्यक्षदर्शी पनि थिइन्। उनले स्मरण गर्दै भनिन्, “बुहारी चलचित्रमा सासूले बुहारीलाई हेला गर्ने, गालीगलौज र पिट्ने दृश्य तामाङ संस्कृतिमा पटक्कै मेल खाँदैन।”
किनकि तामाङ समाजमा प्रायः आफ्नै दाजुभाइका छोरी, आफ्नै भदैनी (कोन्मे)लाई बुहारी बनाएर ल्याइएको हुन्छ। त्यस्तो अवस्थामा फुपूले भदैनी (बुहारी)लाई हेलाहोचो गर्नै सक्दैनन्।
हिन्दू-आर्य समाजका घटना र परिवेशलाई चलचित्रको विषय बनाउँदा त्यसले तामाङ समाजको बहुसांस्कृतिक जीवनलाई झल्काउन नसक्ने मार्चले दाबी गरेकी थिइन्। यस्ता दृश्यले नेपाली समाजको एउटा समुदायको संस्कृतिलाई त देखाउँथ्यो, बाँकीलाई लुकाउँथ्यो।
लामो समयसम्म नेपाली चलचित्रले हिन्दी चलचित्रको नक्कल गर्ने काम मात्रै गरिरह्यो। अर्को अर्थमा, चलचित्र मार्फत हिन्दूकरण र भारतीयकरणको अभियान चलाइयो। नेपाली समाजको वास्तविकता कहिल्यै देखाइएन।
यो परिवेशमा नीरफूलमा पश्चिमी तामाङ भाषा, लवज, संस्कृति, तामाङ भूगोल, पात्रका नामहरू समेत तामाङमै (चेन्जारोङ, स्युरल्हामो, पिङचावती) र तामाङ लोकजीवन देखाउनु सानोतिनो हिम्मत होइन।
नेपाल राज्यका रूपमा मातृभाषामैत्री नभएको र संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ को दशकलाई अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक घोषणा गरे पनि त्यसले तात्त्विक फरक नपरेको स्थिति छ। यही विषय (मातृभाषाको प्रयोग र मातृभाषाप्रति राज्य र समाजको धारणा)लाई चलचित्रले दह्रो गरी उठाएको छ।
लामो समय एकल भाषिक राज्यले मातृभाषीलाई दमन गरेकै कारण अहिले समाजमा मातृभाषामा बोल्नेहरूलाई खिसी गर्ने, अपमान गर्ने र ‘पाखे’ करार गर्ने गरिन्छ। संविधानको प्रस्तावनामा नेपाललाई बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक स्वीकार गरे पनि आधारभूत रूपान्तरण केही नभएको तस्वीर चलचित्रले उदाङ्गो पारेको छ।
यस चलचित्रले २०७२ सालको भूकम्पका वेला राज्यको कमजोर उपस्थिति र विभिन्न संघसंस्थाको मौका छोप्ने प्रवृत्तिलाई पनि उजागर गरेको छ।
थोपरिएको स्थाननाम
विश्वका थुप्रै भागमा पुर्खौंदेखि आदिवासी भाषा र संस्कृतिमा नामकरण गरिएका भूगोल, गाउँघर, खोलानाला, पहाड, हिमाल र ठाउँविशेषका नामहरू राज्यशक्तिको बलमा फेर्ने, मेट्ने र छोप्ने काम हुँदै आएको छ।
औपनिवेशिक शासनकालमा आदिवासी भूमि र थातथलोका नाम फेरेर उनीहरूका इतिहास, भाषा, संस्कृति र पुर्ख्यौली स्मृति नष्ट गर्ने काम भएको थियो।
आदिवासी भूमिका नामहरू राज्यले परिवर्तन गरिदिंदा आदिवासीको पहिचान र अस्तित्व दुवै सङ्कटमा पर्छ। यस्तो साम्राज्यवादी कार्यले आदिवासीको जरा उखेल्छ र उनीहरूलाई आफ्नै पहिचानबाट अलग्याउँछ।
नीरफूलमा पनि राज्यले ‘पाङसाङ गाउँ’ को नाम फेरेर ‘रुबीभ्याली गाउँपालिका’ बनाएको दृश्य छ। यो कस्तो नाम हो? तामाङ त हुँदै होइन, नेपालीमा पनि छैन। रुबी र भ्याली दुवै अंग्रेजी शब्दहरू हुन्। यसरी जानाजानी तामाङ बाहुल्य गाउँको नाम अंग्रेजीमा राख्ने काम भयो।
![](https://www.himalkhabar.com/uploads/editor/Film/Neerphool.JPG)
राज्यले यस्तो पहिलेदेखि नै गर्दै आएको हो। जस्तै- सिन्धुपाल्चोकको स्युगु गाउँलाई लिसंखुपाखर बनाइयो, सिन्धुपाल्चोककै सिन्दोङ गाउँलाई भोटेचौर बनाइयो, ल्हाप्साङकर्पोलाई गणेश हिमाल, दादिमलाई धादिङ, न्हाकोरलाई नुवाकोट जस्ता नामहरू थोपरिए।
यसरी मसिनो स्वरमै भए पनि राज्यले शताब्दीयौंदेखि गरेको दमनलाई चलचित्रले गहिरो सन्देश सहित उजागर गरेको छ।
नीरफूलमा महिला बेचबिखन जस्तो गम्भीर विषय पनि समेटिएको छ। तामाङ जातिका चेलीहरूलाई हिजो विभिन्न कालखण्डका राजा-महाराजाहरूले आफ्नो दरबारमा सुसारे, रखैल, धाइआमा बनाएर वेश्यावृत्ति गर्न बाध्य बनाए।
राणाकालमा त अंग्रेज सेनाको यौनतृष्णा मेटाउन तामाङ महिलाहरूलाई ब्रिटिशकालीन भारतमा निर्यात गर्ने काम भयो। चरिमाया तामाङ यही राज्य र समाजबाट भारतमा बेचिएर फर्केको इतिहास ताजै छ। बम्बइ गोइङ पुस्तकमा सुसन असमानले कसरी नेपालका तामाङ महिलाहरूलाई कमाठीपुरा, मुम्बई पुर्याइएको थियो, प्रस्टसँग लेखेका छन्।
भूकम्पमा त्यस्ता तत्त्वहरू सलबलाएको दृश्य छ चलचित्रमा। ती दलालले त्यति वेला कतिलाई वेश्याबजारमा पुर्याए होलान्, राज्यसित यसको कुनै तथ्याङ्क समेत छैन।
गगुंबाई जस्ता चलचित्र नेपालमा पनि बनेदेखि यसबारे थाहा पाउन सकिन्थ्यो।
कमजोर पाटो
चलचित्र हेरिरहँदा चलचित्र होइन, वृत्तचित्र हेरे जस्तो महसूस हुन्छ। यो चलचित्रको सबैभन्दा कमजोर पक्ष हो। यस्तै- एकैपटक धेरै विषयवस्तु पस्किन खोजेका कारण पनि चलचित्र बोझिलो भएको छ। भूकम्पले सिर्जित बिपत्ति, बेरोजगारी र वैदेशिक रोजगारी, वैदेशिक रोजगारीमा दलालको ठगी, महिला बेचबिखन तथा बालबालिका अपहरण, भूकम्पमा सरकारको कमजोर अवस्था, गैरसरकारी संघसंस्थाका कर्तुत, मातृभाषाको मुद्दा, स्थाननाम परिवर्तनको अवस्था, आमाको छोरीप्रतिको ममता, बच्चाको शिक्षादीक्षा लगायत थुप्रै विषय एकैसाथ प्रस्तुत गर्न खोज्दा निर्देशक चुकेका देखिन्छन्।
निर्देशकले चलचित्र ‘फ्लासब्याक’ शैलीमा प्रस्तुत गरेको भए पनि बेग्लै मिठास पस्कन सकिन्थ्यो झैं लाग्छ।
अभिनय पनि चलचित्रको कमजोर पाटो हो। निर्देशकले दयाहाङ राईको ख्याति (स्टारडम)ले सबै ठीक हुन्छ भन्ने भ्रम पालेको भान हुन्छ। निर्देशकले यहाँनिर के बुझ्न आवश्यक छ भने चलचित्र स्टारडमले मात्रै चल्दैन। प्राङ्गारिक मूलकथा भए पनि पटकथा, कला र प्रस्तुति कमजोर हुँदा चलचित्रले लिनुपर्ने उचाइ लिन सकेको छैन।
![](https://www.himalkhabar.com/uploads/editor/Film/Nirphool1.JPG)
स्टारडम मात्रै सबथोक होइन भन्ने त बलिउडको पछिल्लो अवस्थाले पनि पुष्टि गर्छ।
चलचित्रको गम्भीर कमजोरी हो- शीर्षकको आधारै कमजोर हुनु। चलचित्रमा देवतालाई नीलो फूल नचल्ने जुन प्रसङ्ग छ, स्थानविशेषको सिमेभूमेलाई कुनै फूल चल्ने र कुनै नचल्ने हुन्छ नै। पंक्तिकार भर्खरै दोलखाको शैलुङमा एउटा भूमे पूजाको अध्ययन गर्न जाँदा त्यहाँको भूमे देवतालाई डोगराइ म्हेन्दो (फूल) नै चाहिने देखियो। खोजीखोजी डोगराइ नै लगिएको थियो।
तर, नीरफूलको अन्त्यमा चेन्जारोङले ‘अब नीलो फूल नै देवतालाई चलाउनुपर्छ’ भन्छन्। पहिल्यैदेखि नचल्ने नीलो फूल अब किन चलाउने त्यो भने निर्देशकले रहस्यमै राख्छन्। यसो हुँदा दर्शक अलमल्ल पर्छन्। यो पाटो प्रस्ट नहुँदा चलचित्रको नाम नीरफूल राख्नुको आधार पनि कमजोर हुन जान्छ।
भूकम्पका वेला र त्यसपश्चात् पनि थुप्रै वाञ्छित र अवाञ्छित घटना भए। गाउँघरमा यस्ता कथा हजारौं छन्। ती कथालाई विभिन्न कोणबाट कलात्मक तरीकाले प्रस्तुत गर्न सकिन्छ। तिनै हृदय छुने, मर्मस्पर्शी कथालाई टिपेर थुप्रै राम्रा चलचित्र निर्माण गर्न सकिन्छ। त्यसतर्फ चलचित्रकर्मीको ध्यान जान आवश्यक छ।