‘द रेड सुटकेस’ : कतारमा अस्ताएका २१ सय नेपालीको कथा
![‘द रेड सुटकेस’ : कतारमा अस्ताएका २१ सय नेपालीको कथा](https://www.himalkhabar.com/uploads/posts/800X600/red-suitcase_1-1713097678.jpg)
द रेड सुटकेसको दृश्यभाषा यति सशक्त छ कि त्यसले वैदेशिक रोजगारको पुरानै विषमतालाई नयाँ र रोचक शैली त दिएकै छ, चलचित्रका अन्य कमजोरी समेत गौण बनाइदिएको छ।
१६ नोभेम्बर २०२२ मा न्यूयोर्क टाइम्समा प्रकाशितमध्ये एउटा समाचारको शीर्षक थियो- द वर्ल्ड कप्स फर्गटन टीम (विश्वकपको एउटा बिर्सिइएको टोली)। विश्वकप फूटबलको बाइसौं संस्करण शुरू हुनै लाग्दा तरीक पन्जा र भद्र शर्माले गरेको यो रिपोर्टिङ आयोजक देश कतारमा आप्रवासी कामदारले भोगेको शोषण र दुःखान्तमा केन्द्रित थियो। कतारले सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएयता रंगशाला निर्माण लगायत काममा २१ सय नेपालीले ज्यान गुमाएको विवरण त्यसमा थियो।
कतारमा अस्ताएका तिनै नेपालीको साझा कथा हो, हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र द रेड सुटकेस। यसले आख्यानिक प्रतिनिधि धनबहादुर विक (प्रवीण खतिवडा)को फेरो समात्दै वैदेशिक रोजगारीको कहालीलाग्दो विरह कहन्छ।
चलचित्रको सवारी चालक पात्र (सौगात मल्ल) जसको कुनै व्यक्तिवाचक नाम छैन, विदेशबाट बाकसमा आएका शव सम्बद्ध परिवारसम्म पुर्याइदिने काम गर्छ। महीनामै २०/२२ ट्रिप गर्ने उसले धनबहादुरको शव र एउटा रातो सुटकेस घरसम्म पुर्याउँदाको सडक-यात्रा नै चलचित्रको मूल कथा हो।
यत्ति सुन्दा धेरैलाई लाग्न सक्छ- कथानक त पुरानै रहेछ। किनकि वैदेशिक रोजगारले नै अर्थतन्त्रको ठूलो हिस्सा धानेको देशमा यस्ता बाकस नौला होइनन्। यिनै बाकसमा टेकेर थुप्रै समाचार, डकुमेन्ट्री र चलचित्र बनिसके। तर द रेड सुटकेसले जत्तिको दृश्यभाषामा मेहनत कमैले गरेका छन्। यही मेहनतले प्रचलित कथालाई पनि नयाँ स्वाद दिन सकेको छ।
चलचित्रको सबैभन्दा सशक्त पाटो यसको प्राविधिक पक्ष हो, त्यसमा पनि छायांकन। प्रायः नेपाली चलचित्रमा दुर्लभ मान्दा हुने ‘सिमेट्रिकल फ्रेम’ यसमा भरपूर छन्। ‘लो कि लाइट’ मा छायांकन गरिएका दृश्यले ‘किआरोस्क्युरो (अँध्यारो-उज्यालोको सामञ्जस्य) इफेक्ट’ सिर्जना गर्दै कथावाचनसँग तादात्म्य राखेका छन्।
![red suitcase_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Film/red suitcase_2.jpg)
एउटै फ्रेममा माथि कामदार बोकेर विदेश उडिरहेको विमान अनि तल विदेशबाट आएका शव ओसारिरहेको भ्यान, भ्यानलाई पछाडिबाट कसैले पछ्याए झैं भान गराउने प्रस्तुति अनि सुटकेस डोर्याउँदै कहिले जंगल नापिरहेका त कहिले झ्वाम्मै खोलामा पसेका खुट्टाले सशक्त दृश्यभाषाको दृष्टान्त पस्किरहेका छन्। सुशन प्रजापतिको यस्तै क्यामेरा-कला एउटा कारण हो, जसले कथावाचन अति सुस्त हुँदा पनि चलचित्रलाई मुर्झाउन दिएको छैन।
यस्तै, सवारी चालक र अवकाशप्राप्त भारतीय सैनिक (विपिन कार्की)को संवादमा गरिएको प्रकाश संयोजन पनि प्रशंसायोग्य छ। अर्को उल्लेखनीय पक्ष ध्वनि हो। यसमा निकै मिहिन ढंगको काम देखिन्छ। जस्तो- मोबाइल फोन गोजीमा हुँदा सानो आवाजमा बजेको ‘रिङटोन’ मोबाइल बाहिर निकाल्दा ठूलो हुँदै जान्छ।
आजभोलि नेपाली चलचित्रमा ‘ब्रान्ड’ मोह अत्यन्तै झाँगिएको छ। कुनै न कुनै बहानामा वस्तुको प्रचार गर्ने क्रम चलिरहँदा द रेड सुटकेसमा भने निर्देशक फिडेल देवकोटाले माउन्टेन ड्यूको बोतललाई रक्सी राख्ने भाँडो बनाएका छन्, तर बोतलको ब्रान्ड प्रस्ट नहुने गरी।
यस्तै, पोतेमा चाबी झुन्ड्याउने, शव बोकेको गाडीमा धूप बाल्ने, शव पुर्याएर फर्किंदा बाटोमा हाँगाको तगारो हाल्ने र गाडी पखाल्ने जस्ता उपक्रमले रैथाने रीतिरिवाजप्रति निर्देशकको गहिरो बुझाइ र संवेदनशीलता उजागर भएको छ।
वास्तविक त्रासदी
चलचित्र निर्देशक एवं हरर (त्रासदी) विधाका मर्मज्ञ अल्फ्रेड हिच्ककको चर्चित भनाइ छ, ‘संसारलाई एक नजर हेर्नासाथ प्रस्ट हुन्छ, त्रासदी भनेको वास्तविकता बाहेक अरू केही होइन।’ द रेड सुटकेसमा निर्देशक देवकोटाले यो आदर्श अक्षरशः पालना गरेका छन्। उनले त्रासदीका कथा भन्न कथित भूतप्रेतको सहारा लिएका छन् तर तिनलाई त्रास फैलाउने पारलौकिक पात्र नभएर सामाजिक विसंगति उजागर गर्ने साधन बनाएका छन्।
![red suitcase_3.jpg](https://www.himalkhabar.com/uploads/editor/Film/red suitcase_3.jpg)
त्यसैले यस चलचित्रका भूतप्रेत वास्तविक पात्रभन्दा पटक्कै भिन्न छैनन्। पेट्रोल पम्पमा एक बालक र पछि राजमार्गमा एक बालिकाले गाडीको रित्तो सीटसँग गरेको अन्तरक्रियाले चलचित्रलाई सुन्दर शैलीमा रहस्यमयी बनाउन मद्दत गरेको छ।
भूतप्रेतको अस्तित्व नकार्ने यो वैज्ञानिक युगमा चलचित्रको कथा अघि बढाउन तिनैको सहारा लिइएकोमा बहस गर्न सकिने ठाउँ छ। तर कथा कसरी भन्ने, त्यो त सिनेमा स्वतन्त्रताको कुरा हो। निर्देशक देवकोटाले सिनेमा संगति नटुट्ने गरी यो स्वतन्त्रताको उपभोग गरेका छन्।
चलचित्रमा गाडीबाट शव झिक्नुपर्दा महिला मात्र बोक्न आएको दृश्यले हाम्रा गाउँहरू रित्तिँदै गरेको यथार्थ झल्काउँछ। गाउँ परम्परागत उत्पादन प्रणालीभन्दा माथि उठ्नै नसकेको र ‘चाराको खोजीमा रहेका चरा’ हरूका लागि देश बुख्याँचा बनेर उभिएको सन्देश विम्बात्मक रूपमा केही ‘सेकेन्ड’ मै दिन निर्देशक सफल छन्।
समग्रमा द रेड सुटकेश निराशावादी कथा हो, तापनि निर्देशक देवकोटा निराशामै अडिएका छैनन्। नवजात पात्रलाई ‘आशा’ नाम दिएर सुखद भविष्यको आशा पनि सँगसँगै सञ्चार गरेका छन्।
क्षमायोग्य त्रुटि
द रेड सुटकेसमा कमजोरी नभएका होइनन्, तर निर्देशक र निर्माण टोलीको इमानदारीले तिनलाई गौण बनाइदिएको छ। यो पूरै चलचित्र सडक यात्रामा आधारित छ जुन विधालाई ‘रोड मुभी’ भनिन्छ। यो विधाको विशेषता के भने, यो पात्रहरूको मनोवृत्तिमा केन्द्रित हुन्छ। यसले पात्रको मनोवृत्तिमा आएको फेरबदल दर्शाउँछ जसलाई दर्शकले मन छुने गरी महसूस गर्छन्। यो सवालमा भने द रेड सुटकेस चुकेको देखिन्छ। पहिलो त यसमा पात्र स्थापित छैनन्, तिनका विगत वा हविगत केलाइएको छैन। न त तिनमा कुनै मनोवैज्ञानिक फेरबदल देखिन्छ। यसले गर्दा ती दर्शकसँग झ्याम्मिन सक्दैनन्।
त्यस्तै, सवारी चालक र अवकाशप्राप्त भारतीय सैनिकबीचको संवादलाई निर्देशकले निकै लामो बनाएका छन्। यो दृश्यमा राजनीतिलाई दोष दिने यी पात्रका गुनासा सतही र ‘क्लिसे’ लाग्छन्। रेडियोमा ‘परमेश्वरका वाणी’ अनि चिया पसले महिलाले समृद्धिबारे बोलेका संवाद पनि अर्थहीन प्रतीत हुन्छन्।
![red suitcase_4.jpg](https://www.himalkhabar.com/uploads/editor/Film/red suitcase_4.jpg)
चलचित्रको कथावाचन पनि त्यति आकर्षक होइन। कथ्यशैली परम्परागत ‘थ्री एक्ट स्ट्रक्चर’ (उठान, उत्कर्ष र अन्त्य)भन्दा भिन्न हुँदाहुँदै पनि कथालाई गति दिने र उत्सुकतापूर्ण बनाउने तत्त्वहरूको अभाव छ। यसो हुन नदिन पात्रहरूको अन्तर्द्वन्द्व र पारिस्थितिक संघर्ष देखाउन सकिने पक्षमा निर्देशकको ध्यान पुगेको देखिंदैन।
चलचित्रको मूल उद्देश्य कला मार्फत मनोरञ्जन प्रदान गर्नु नै हो। पात्रका संघर्ष, अन्तर्द्वन्द्व, मनोवृत्ति, घटनाक्रम, उपकथा र भावनात्मक उद्वेलनले यस्तो मनोरञ्जन सिर्जना गरिरहेका हुन्छन्। उत्कृष्ट चलचित्रको विशेषता के भने, कला चेत भएका र नभएका दुवै थरी दर्शकलाई त्यो उत्तिकै मन पर्छ। कलापक्षले मात्र चलचित्र उत्कृष्ट बनाउँदैन, मनोरञ्जन पनि आवश्यक पर्छ। आखिर चलचित्र बनाइने दर्शकले हेरून् भनेरै हो।
द रेड सुटकेसमा अनायासै गाडी बिग्रिने, बाध्यात्मक परिस्थिति सिर्जना नगरी चालकलाई अनकन्टार घरमा बसाइने जस्ता केही दृश्य पनि छन् जसले तिनको औचित्य पुष्टि गर्दैनन्। ‘सिमेट्रिक’ दृश्य चलचित्रको प्राण भए पनि शव घर पुर्याइएपछिको विषमतामा पनि गाउँलेहरू अनुशासित भई लस्करै उभिएको दृश्य नाटकीय लाग्छ। त्यस्तै, दुई ठाउँमा झ्याप्प ‘शट साइज’ परिवर्तन हुँदा सम्पादन अलि बिझाउँछ। दृश्य छोट्याउन सकिने ठाउँ धेरै छन्।
अभिनयका सवालमा पनि सौगात बाहेक अन्य कलाकारको प्रयत्न कम भए झैं लाग्छ।
कतारको लुसेल रंगशालामा फूटबलको सर्वोच्च उपाधि चुम्दै अर्जेन्टिनी टोलीका कप्तान लियोनल मेस्सीले आफूलाई अमर बनाए, तर तिनै रंगशाला बनाउँदा अस्ताएका कामदार भने विस्मृत भइसकेका छन्। द रेड सुटकेसले तिनलाई सम्झाउने इमानदार प्रयास चाहिं गरेकै छ।
फिल्म सम्बन्धी थप सामग्री :