‘महाजात्रा’ को बरालिएको यात्रा
![‘महाजात्रा’ को बरालिएको यात्रा](https://www.himalkhabar.com/uploads/posts/800X600/Mahajatra-1711457441.jpg)
राजनीतिक विषयको प्रस्तुतीकरण अभाव र अपराधको मूलकथासँग स्वाभाविक रूपमा नजोडिंदा महाजात्रा अघिल्ला दुई संस्करणको तुलनामा कमजोर बनेको छ।
अभावबाट लालच हुँदै अपराधसम्मको यात्रा। यही आमकथालाई भावुक र हास्य पटकथाले विशेष देखाएर जात्रा र जात्रैजात्राबाट दर्शक रिझाएका निर्देशक प्रदीप भट्टराई तेस्रो संस्करण महाजात्रासम्म आइपुगेका छन्। यस पटक उनले कथाको पुरानै भँगालोमा राजनीति मिसाएर नयाँ स्वाद दिने प्रयत्न गरेका छन्।
पुरानै चरित्र हूबहू समातेर मुख्य तीन पात्र फणीन्द्र (विपिन कार्की), जोयस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) महाजात्रामा पनि अपराधको जालोमा जेलिन्छन्। यस पालिको मिसन हुन्छ- कालो धन लुकाउने। पहिलो संस्करणमा तीन करोड रुपैयाँ, दोस्रोमा सुन र तेस्रोमा कालो धनले भरिएको गाडीको विम्बबाट निर्देशकले सुषुप्तिमा चाहिं अपराधको दुनियाँमा प्रवेश गरिसकेपछि महत्त्वाकांक्षा बढ्दै जाने मनोविज्ञान देखाएका छन्।
तर यो मनोविज्ञान देखाउँदा पछिल्लो शृंखलामा अघिल्लो कथानकको संगति टुटेको महसूस हुन्छ। जस्तो- महाजात्रामा फणीन्द्रलाई १५/२० हजार तलबको जागीर खोज्ने आर्थिक हैसियतको देखाइएको छ। त्यस्तै, जोयस पात्र पनि चलचित्रको ‘हिरो’ बनेर पैसा र रवाफ कमाउने सपना देख्छ भने मुन्ना रोजगारका लागि विदेशिने यत्नमा हुन्छ। जबकि अघिल्लो शृंखला जात्रैजात्रा यी तिनै पात्रलाई आर्थिक रूपमा सम्पन्न बनाएर टुंगिएको हुन्छ। महाजात्रामा ती फेरि कसरी दरिद्र बन्न पुगे, खुल्दैन। दरिद्रै भए पनि यी पात्र अब गलत काम गरेर पैसा कमाउन चाहँदैनन्। त्यसैले यिनलाई अपराधमा जोड्न निर्देशकले आधारहीन ‘ब्ल्याकमेल’ को सहारा लिन्छन् जुन चित्तबुझ्दो लाग्दैन।
चलचित्र महाजात्राका मुख्य तीन पात्र बायाँबाट क्रमशः फणीन्द्र, जोयस र मुन्नायति पाटो भुलेर अघि बढ्ने हो भने महाजात्राले मध्यान्तरअघिसम्म दर्शकलाई बाँधेरै राख्छ। प्रताडनाको परिस्थितिमा पनि मूल पात्र फणीन्द्रका हँस्यौला संवाद र भंगिमाले हलमा हाँसो गुन्जाउँछन्। गम्भीर वातावरणमा पनि यसरी हाँसोको फोहोरा छुटाउनु निर्देशक भट्टराईको पुरानै खूबी हो। जस्तो- प्रहरीसँग मिलेर सुराकी गरेको भन्दै तस्करले तीन मुख्य पात्रलाई कुटिरहँदा दर्शक पनि पीडाको मनोभावमा हुन्छन्। त्यही क्रममा फणीन्द्रले भन्ने “कुट्न बाँकी भए मलाई कुटेर पठाइदिइहाल्नू, छोरी लिन जानु छ” वाक्यांशले दर्शकदीर्घाको माहोल बदलिदिन्छ। ‘स्पूनरिज्म’ को प्रयोग अर्को रमाइलो पक्ष हो। जस्तो- पात्रको हताश मनोभाव दर्शाउने क्रममा तिनले सोह्रखुट्टेलाई ‘बत्तीसखुट्टे’ र बत्तीसपुतलीलाई ‘सोह्रपुतली’ भन्छन्।
जसै पूर्वार्द्ध सकिन्छ, चलचित्रले स्वाभाविक लय गुमाए जस्तो लाग्छ। एकपछि अर्को गर्दै थोपरिएका उपकथा घरीघरी मूल कथाबाट छुट्टिइरहन्छन्। जस्तो- कानून र अपराधको जञ्जालबाट निस्कन लालची पात्रले गर्ने संघर्ष अधूरै छाडेर कथानक कहिले निर्दोषलाई दोषी बनाइएको त कहिले श्रीमान्को हत्यापछि न्याय पाउन संघर्षरत महिलाको उपकथातिर बरालिइरहन्छ।
चलचित्रमा सहायक कथाहरू राखिने नै मूलकथा स्थापित गर्न हो। महाजात्रामा भने सहायक कथाहरूले चलचित्रलाई ठाउँ ठाउँमा झिंजो लाग्ने गरी लम्ब्याएका मात्र छन्। खासगरी अपराधसँग राजनीतिको साइनो जोड्न बुनिएका यी उपकथा मूलकथासँग नजोडिंदा असान्दर्भिक समेत बनेका छन्।
महाजात्राको अर्को बिझाउने पक्ष हो- पात्रलाई जबर्जस्ती बोलाइएका संवाद। चिकित्सकले सासको समस्या सोध्दा सासूको समस्या सुनाउने अनि ‘ज्वाइँले जेल पुर्याए’ आदि संवाद त्यस्तै लाग्छन्। जोयसले कालो धनबारे थाहा पाएर प्रहरीलाई खबर गर्न खोज्दा फणीन्द्रले लम्पसार परेर आफूलाई टेकेर जानू भनेको दृश्य धेरै दर्शकलाई नौलो नलाग्न सक्छ। किनकि उनीहरूले यस्तै दृश्य पहिल्यै नवाजुद्दीन सिद्दीकी अभिनीत हिन्दी चलचित्र हरामखोरमा हेरिसकेका हुन सक्छन्।
चलचित्र महाजात्राको एक दृश्य प्राविधिक कमजोरी महाजात्राको अर्को खट्काइ हो। छायांकन, सम्पादन र प्रकाशदेखि पार्श्वध्वनिसम्मले त्यो देखाउँछन्। खुलामञ्चमा गरिएको आमसभाको सीजीआई (कम्प्युटर जेनेरेटेड इमेजरी) हदै अस्वाभाविक छ। जस्तो- मञ्चमा गम्भीर भाषण चलिरहेको छ तर त्यसको ‘इन्सर्ट’ मा दर्शकहरूले झन्डा फहराइरहेको ‘वाइड शट’ राखिएको छ। त्यसको सट्टा भाषणले दर्शकमा पारेको प्रभाव उनीहरूको मुहारमै झल्कने गरी ‘क्लोज शट’ राखिएको भए प्रभावकारी हुन सक्थ्यो।
अभिनयका सवालमा तेस्रो शृंंखलासम्मै अधिकांश कलाकारले आफूलाई पहिलेकै जसरी पात्रमा स्थापित गरिरहन सक्नु महाजात्राको सबल पक्ष हो। नयाँ पात्रमा दिव्य देव र गौमाया गुरुङको अभिनयले पनि मन छुन्छ।
यस्तै घटनाको मोडसँगै पात्रको मनोविज्ञानमा हठात् परिवर्तन आएको देखाउन निर्देशकले अपनाएको कला पनि प्रशंसायोग्य छ। जस्तो- ‘साहूले बोलाए’ भन्दा उफ्रीउफ्री भर्याङ चढ्ने फणीन्द्र कालो धन लुकाउन बोलाइएको थाहा पाएपछि एक-एक खुड्किला समात्दै ओर्लेको दृश्यमा त्यो झल्कन्छ।
फणीन्द्रलाई शहरी निम्न मध्यमवर्गीय पात्रका रूपमा स्थापित गर्नमा पनि निर्देशकको यस्तै कुशलता देखिन्छ। कसरी भने एउटा दृश्यमा छोरीलाई मासु भनेर सोयाबिन खुवाउन बाध्य फणीन्द्र जागीर पाउनासाथ खसीकै मासु पकाउन थाल्छ। यस्तै, ‘सुपरम्यान’ को गुडियालाई पिताको विम्बका रूपमा गरिएको चित्रण पनि चोटिलो लाग्छ।
विरोधाभासको फितलो प्रस्तुतीकरण
मान्छेभित्रका विरोधाभास पक्रिएर प्रवृत्तिसम्म पुग्न खोज्नु तर त्यो प्रयासमै सीमित हुनु महाजात्राको अर्को खोट हो। जस्तो- यहाँ एउटा इमानदार प्रहरी अधिकृत छ। तर चर्चामा आउन चाहने उसको भोक त्यो इमानदारीसँग पटक पटक बाझिन्छ। त्यस्तै आपराधिक साम्राज्यको अगुवाको नाम हदै धार्मिक छ- पुण्यप्रसाद (हरिवंश आचार्य)। तर यस्ता विरोधाभासको प्रस्तुतीकरण निकै फितलो हुँदा दर्शक अलमलिन्छन्।
चलचित्रको एक दृश्यमा अभिनेता दिव्य देव सहित रवीन्द्रसिंह बानियाँ, विपिन कार्की र रवीन्द्र झाशुरूदेखि नै खलनायकका रूपमा स्थापित पुण्यप्रसादले चलचित्रको अन्त्यतिर पुण्यकै काम गर्दा पनि सहानुभूति जाग्दैन। कारण- निर्देशकले पात्रमा आएको परिवर्तनलाई विश्वसनीय आधार दिन सकेका छैनन्। जब्बर पात्रले सजिलै मूड फेरेर हार स्विकार्दा कथानक फोस्रो बनेको छ। जुन पात्र मार्फत चलचित्रले सफल अवतरण गर्नुपर्थ्यो, त्यसैको चरित्रचित्रणमा निर्देशक चुकेका छन्। परिणाम- हरिवंश आचार्य जस्ता दिग्गज कलाकारकै खास अभिनय क्षमता यसमा प्रस्फुटित भए झैं लाग्दैन न त उनलाई दिइएको पात्र स्थापित छ। दिव्य देवले खेलेको प्रहरी अधिकृत पात्रका हकमा पनि यस्तै देखिन्छ। कमजोर चरित्रचित्रणकै कारण यो पात्रको दुःखान्तले दर्शकलाई जति छुनुपर्ने हो, छुँदैन।
करीब एक वर्षअघि गलत्ता प्लस नामक यूट्यूब च्यानलसँगको अन्तर्वार्तामा बलिउड अभिनेता आमीर खानले भनेका थिए– “...मैले आफू अनुकूल विषय छनोट गरेकोमा सचेत पनि हुनपर्छ...। मैले त वास्तवमा यस्तो विषय छनोट गरेको हुन सक्छु जसलाई अधिकांश दर्शकले सान्दर्भिक नठान्न सक्छन्।” आमीरको भनाइको सार हो- चलचित्रकर्मीलाई जे विषय जति सान्दर्भिक लागेको हुन्छ, आमदर्शकलाई नलाग्न सक्छ।
महाजात्रामा पनि निर्देशकले सान्दर्भिक ठानेर जोडेको राजनीतिक विषयको प्रस्तुतीकरण अभाव र अपराधको मूलकथासँग स्वाभाविक रूपमा नजोडिंदा दर्शकका निम्ति असान्दर्भिक बन्न पुगेको छ। पक्कै- सिनेमा विचार प्रवाहको माध्यम नै हो। तर सन्देशका नाममा निर्देशकले चलचित्रलाई आफू अनुकूल भाष्य स्थापनाको साधन बनाउनु उचित होइन।
सम्बन्धित सामग्री :
हिरानी हराएको ‘डंकी’
दिमाग खराब : चलचित्र कि चुनावी अभियानको भिडिओ?
ओपनहाइमर: परमाणु बमका पिताको पश्चात्ताप
उत्कृष्ट बन्न चुकेको ‘जारी’
के पुरुषलाई कोठीभित्र हुलेर बलात्कार घट्छ?
नीरफूल: मौलिक कथा, कमजोर प्रस्तुति