झिगुलीको क्रान्तिकारी ‘रक एन्ड रोल’
बाबुछोरीको द्वन्द्वबाट शुरू हुने चलचित्रले बुल्गेरियामा तानाशाही शासन व्यवस्था विरुद्ध क्रान्ति गरेको सांंगीतिक ब्यान्डको अवसान र पुनर्जागरणको कथा भन्छ।
फोरीकी एउटी छोरी छे- लिसा। तर ऊ बुबाको नामसम्म सुन्न चाहन्न। फोरीसँग आफ्नो अस्तित्व र जन्मको साइनो जोडिएकैमा आफूलाई टोकसिरहन्छे। त्यसैले त बुबा जिउँदो छँदाछँदै केटासाथीलाई भन्छे, “घरमा म र आमा मात्र छौं, बुबा बितिसके।” घृणाको डिग्री अझ चरम देखिन्छ जब ऊ बुबालाई हाकाहाकी हाँक दिन्छे, “म कसम खान्छु, फेरि कहिल्यै भायोलिन छुनेछैन। तर तपाईंको अन्तिम संस्कारको दिन अपवाद रहनेछ!”
मानौं, ऊ बुबा बितेका दिन शोक होइन, उत्सवमा भायोलिन बजाउँछे।
बुबाछोरीको सम्बन्ध यो तहसम्म कसरी गिरेको होला? यसमा देखिने सतही कारण छ- लिसा (क्लिमेन्टिना फुर्जोभा)ले रोयल एकेडेमी लन्डनमा संगीत अध्ययन गर्न नाम निकाल्छे। तर हरिप परिवारसँग छोरीको पढाइ खर्च धान्ने ल्याकत हुँदैन। आफ्नो सपना तुहिने कल्पनाले लिसा भुटभुटिन्छे। यो दुरवस्थाका निम्ति उसले ठानेको एक मात्र कारण हो- फोरी (मिहाइल बिलालोभ)।
१३औं संस्करणको ‘नेपाल-यूरोपियन युनियन फिल्म फेस्टिभल’ मा प्रदर्शित बुल्गेरियन चलचित्र द नेकेड ट्रूथ अबाउट झिगुली ब्यान्ड शुरू हुन्छ, बुबाछोरीको यही द्वन्द्वबाट। यही सम्बन्धमा विभिन्न उपकथाको टेको हाल्दै कथानक पुग्छ, तानाशाही कम्युनिस्ट शासन विरुद्ध क्रान्ति-गीत घन्काएको तर तानाशाहको पतनपछि उपेक्षामा परेको ‘रक एन्ड रोल रिभोल्युशन’ विधाको अवसानसम्म। ऐतिहासिक क्रान्तिलाई उजागर गरिरहँदा निर्देशक भिक्टर बोजिनोभ पुस्तान्तरणको मुद्दा समेत कलात्मक शैलीमा सम्बोधन गर्न सफल छन्।
रक एन्ड रोल विधाको प्रतिनिधित्व गरेको छ- झिगुली ब्यान्डले जसको अस्तित्व पछिल्ला दिन शून्यप्रायः छ। तीन दशकअघि नै विघटित ब्यान्डका सदस्यहरू संगीतबाट अलग्गिएर विभिन्न पेशा-व्यवसायमा लागेका छन्। त्यसैले त मुलुकको स्वतन्त्रता आन्दोलनमा यो ब्यान्डले गरेको योगदानबारे नयाँ पुस्ता पूरै बेखबर छ।
यही ब्यान्डका सदस्य हुन्- फोरी। छोरी लिसा नयाँ पुस्ताकी प्रतिनिधि। तर यो पुस्ताका लागि क्रान्ति अझै सकिएको छैन। आर्थिक असमानता व्यापक रहेको नयाँ व्यवस्था विरुद्ध नयाँ पुस्ता क्रान्तिमै रहेको सन्देश निर्देशकले बाबुछोरीको द्वन्द्व मार्फत दिएका छन्। आर्थिक असमानताकै कारण आफूले पढ्न नपाएको ठानेकी छोरीका लागि यहाँ उसको पिता उसले रुचाउन नसकिरहेको नयाँ व्यवस्थाको विम्ब हो।
कथानक सामान्य नै हो- अध्ययनका लागि छोरीलाई लन्डन पठाउन फोरीले ४५ हजार लेभ (बुल्गेरियन मुद्रा) जुटाउनु छ। संयोगवश उसले ब्यान्डको एउटा पुरानो प्रशंसक भेट्टाउँछ जसले संस्थापक सदस्यहरूको सामूहिक सांगीतिक प्रस्तुति आयोजना गर्न सके एक लाख लेभ दिने लोभ देखाउँछ। यही बिन्दुबाट चलचित्रले नयाँ मोड समात्छ। अनि खुुल्दै जान्छन्, ब्यान्डका छिन्नभिन्न सदस्यहरूलाई जुटाउन फोरीले गर्ने संघर्ष, ब्यान्ड विघटनमा फोरीकै भूमिका रहेको ठानेका अन्य सदस्यले प्रस्ताव स्विकार्नुअघिको तनाव र उसैको विगतका प्रेमकथाका पत्रपत्र। यस्ता नयाँ मोड हाल्दै गर्दा निर्देशकले मूलकथासँगको तादात्म्य टुट्न दिएका छैनन् जसले दर्शकलाई चलचित्रमा बाँधिरहन सकेको छ।
मनोरञ्जक कथावाचन
सामान्य कथाबाट गम्भीर विषय उठान गर्ने यो चलचित्रको कथा भन्ने शैली रोमाञ्चक छ। निर्देशकले ‘सिचुएशनल कमेडी’ मार्फत पात्रको चरित्र र मनोवृत्ति स्थापित गरेका छन्। यसले कथावाचन कसिलो त बनाएकै छ, चलचित्र हेरुन्जेल दर्शकलाई मनोरञ्जन पनि हुन्छ।
यस्तै, एउटा द्वन्द्वको समाधानसँगै अर्को द्वन्द्व सिर्जना गराउने निर्देशकीय शिल्प पनि उम्दा लाग्छ। जस्तो- बल्लतल्ल संस्थापक सदस्य जुटाएका फोरीका सामु नयाँ थपिएकी सदस्यको समस्या सम्बोधन गर्नुपर्ने बाध्यता आइलाग्छ। त्यो समाधान हुनासाथ अर्को द्वन्द्व शुरू हुन्छ, पैसाको। त्यो टार्यो, फेरि टोली सदस्य बिरामी पर्छन्।
अर्कातिर पुनर्मिलन भए पनि टोली पुनर्जागृत हुन सकिरहेको हुँदैन। उनीहरूको जोश फर्काउन फोरीले एउटा झुपडपट्टीमा लगेर ‘स्टिलिङ द भाइब्स’ भन्दै सांगीतिक प्रस्तुतिमा सामेल गराउँछ। दृश्यहरूको यो शृंखलाले दर्शकलाई तनावकै बीच पनि रोमाञ्चित बनाइराख्छ।
यस्तै, ब्यान्डका बेस गितारिस्ट भासो (फिलिप एभ्रामोभ) र फोरीबीचको मिलन उनीहरूको कुटाकुटबाट स्थापित गरिएको दृश्यले दर्शकदीर्घामा हास्यरस छाड्दै पात्रहरूको विगत खोतल्छ। ब्यान्डका कीबोर्डवादक किश (दिमितार राच्कोभ)का प्रेमिका र पूर्व प्रेमिकाको हास्य शैलीको ‘शीतयुद्ध’ पनि उत्तिकै मनोरञ्जक लाग्छ।
चलचित्रको अर्को प्रशंसायोग्य पक्ष हो- राजनीतिक सिद्धान्तबीचको तटस्थता। यसले बुल्गेरियामा कम्युनिस्ट शासनको अन्त्यपछि प्राप्त स्वतन्त्रताको महत्त्व उजागर गर्दैगर्दा त्यसपछिको व्यवस्थामा आर्थिक असमानता बढेको विषयलाई पनि समान रूपमा उठान गर्छ।
अति व्यापारीकरणले संगीतमा पुर्याएको हानि प्रस्तुत गर्दै फोरीले पत्नीलाई स्वाभिमान र अभिमानबीचको अन्तर बताएको दृश्य पनि निकै सशक्त लाग्छन्।
बिझ्ने पाटो
कथावाचन, संगीत, कलाकारको अभिनय सबै पक्ष राम्रो रहेको चलचित्रमा केही कमजोरी पनि अवश्य छन्। क्यामेरा, सम्पादन, प्रकाश जस्ता प्राविधिक पाटो औसत लाग्छन्। त्यस्तै, लिसा र फोरीको सम्बन्धलाई केन्द्रीय विचार बनाइरहँदा निर्देशकले आमाको भूमिकालाई न्याय गर्न नसकेको अनुभूति हुन्छ। बाबुछोरीको तनाव समाधानमा आमालाई उचित भूमिका दिइन्थ्यो त यो पात्रले पनि न्याय पाउँथ्यो।
लिसा पात्रको रूपान्तरण पनि अस्वाभाविक लाग्छ। पिताप्रति त्यो हदको ईख राखेकी छोरीले त्यसलाई अचानक कसरी र किन त्यागी, निर्देशकले भरपर्दो जवाफ दिएका छैनन्।
तर यति कमजोरी द नेकेड ट्रूथ अबाउट झिगुली ब्यान्डलाई समग्रमा दर्शनीय चलचित्र भन्न बाधक छैनन्।