न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी
संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी गरिएको छ।
राष्ट्रसंघको ‘दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज’ नाराका साथ शुरू भएको प्रदर्शनीमा मिथिला नेपालसँगै भारतको मिथिला क्षेत्रका गौरव, इतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई चित्रमा उतारिएको छ। सबैभन्दा पुरानो जीवित संस्कृति र सभ्यतामध्येको एक यस सम्पदाले मानव समाजमा शान्ति, स्थिरता, मित्रता, सद्भाव र समृद्धिमा योगदान पुर्याउने आयोजक मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमितप्रताप शाहले बताए।
मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको मैथिल चित्रकार प्रतीक रायमाझीले बताए। “मिथिला कला र संस्कृति प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने तथा वर्तमान सन्दर्भमा जलवायु परिवर्तनले पारेको असर चित्रकला मार्फत प्रस्तुत गरेका छौं,” रायमाझीले भने।
प्रदर्शनीमा एसके सुमन, प्रतीक रायमाझी, नुपूर निशीथ, शैली झा, शिभांगी सिंह, मनीषा शाह लगायत कलाकारका चित्रकला प्रदर्शन गरिएको छ। त्यस्तै, जनकपुर महिला विकास केन्द्रका कलाकारहरू सेलो यादव, सुधीरा कर्ण, कोमल पूर्बे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तका कला पनि प्रदर्शनीमा राखिएका छन्।
मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको संयुक्त आयोजनामा शुरू भएको प्रदर्शनी बुधबारसम्म चल्नेछ।
संयुक्त राष्ट्रसंघीय महासभाको ७८औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भीमबहादुर श्रेष्ठ, नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत चक्र सुवेदी लगायतले बोलेका थिए।
मिथिला सेन्टर अमेरिकाको पहलमा गत वर्ष पनि प्रदर्शनी गरिएको थियो।