कञ्चनवनमा रङ खेलेर मिथिलाञ्चलमा होलीको स्वागत
![कञ्चनवनमा रङ खेलेर मिथिलाञ्चलमा होलीको स्वागत](https://www.himalkhabar.com/uploads/posts/800X600/holi-janakpur-(8)-1710667821.jpg)
साधुसन्तले महोत्तरीको कञ्चनवन पुगेर रङ खेलेसँगै मिथिलाञ्चलमा होली शुरू भएको छ।
धार्मिक मान्यता अनुसार त्रेतायुगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए। त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ खेलेका थिए। त्यही दिनको सम्झनामा कञ्चनवनमा ‘होरी उत्सव’ मनाउने चलन छ।
मिथिला परिक्रममा क्रममा आइतबार साधुसन्तले कञ्चनवन पुगेर होली उत्सव मनाएका छन्। जनकपुरधामको हनुमाननगरबाट डोलासहित हिंडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड घुमेर कञ्चनवन पुगेको हो।
![holi janakpur (3).png](https://www.himalkhabar.com/uploads/editor/Culture/kanchanban_holi/holi janakpur (3).png)
२०४१ सालदेखि मिथिला परिक्रमामा सहभागी हुँदै आएका महन्थ विनोद दासले मिथिला परिक्रमा कञ्चनवन पुग्दा साधुसन्तसँगै सर्वसाधारणले होली मनाउने गरेको बताए। “हरेक वर्ष झैं यो वर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीले एकअर्कालाई रङ दलेर होली मनाएका हुन्,” महन्थ दासले भने, “परिक्रमामा सहभागीले कञ्चनवनमा रङ खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन हुन्छ।”
![holi janakpur (7).png](https://www.himalkhabar.com/uploads/editor/Culture/kanchanban_holi/holi janakpur (7).png)
फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्छ। कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल हो। यो स्थानमा राम र जानकीले होली पर्व मनाएको जनविश्वास छ।
कञ्चनवनको होलीको प्राचीनतालाई ध्यानमा राखेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आएको छ। मिथिलाञ्चलसँगै नेपाल र भारतका विभिन्न क्षेत्रमा आजैदेखि होली पनि प्रारम्भ भएको छ। आजदेखि शुरू भएको होली फागुन शुल्क पूर्णिमाका दिन समापन गरिनेछ।
![holi janakpur (9).png](https://www.himalkhabar.com/uploads/editor/Culture/kanchanban_holi/holi janakpur (9).png)
![holi janakpur (4).png](https://www.himalkhabar.com/uploads/editor/Culture/kanchanban_holi/holi janakpur (4).png)
![holi janakpur (11).png](https://www.himalkhabar.com/uploads/editor/Culture/kanchanban_holi/holi janakpur (11).png)