स्वयम्भूमा सरस्वती पर्खिरहेका आँखाहरू
सरस्वती पूजाको दिन। स्वयम्भूस्थित सरस्वती मन्दिरमा हरेक वर्षजसो भीड लाग्ने गर्छ। हिन्दूहरूले विद्याकी देवीका रूपमा पुज्ने सरस्वतीको पूजा गर्न र शिशुहरूको अक्षरारम्भ गर्न बालबालिकालाई लिएर अभिभावक पुग्ने गर्छन्। त्यसैको तस्वीर खिच्न बुधबार झिसमिसेमै त्यहाँ पुगें।
लाम लामो थियो। सफा र राम्रा कपडामा सजिएका फूल जस्ता बालबालिका आफ्ना अभिभावकको हात समाएर पूजाका लागि प्रतीक्षारत थिए। कोही भने रंगीबिरंगी चकले मन्दिरको भित्तामा कोरिरहेका थिए। सरस्वती पूजाको दिन मन्दिरको भित्तामा अक्षर कोर्ने चलन जो छ।

क्यामेराको लेन्सबाट ती गतिविधिको दृश्य नियालिरहँदा मेरा नजर केही बालबालिकामा परे जो पूजाअर्चनामा सहभागीभन्दा भिन्दै थिए। मैलो, पुराना लुगा लगाएका, नेपाली पनि राम्रोसँग बोल्न नजान्ने, मधेशी मूलका ती बालबालिका हुल बाँधेर अरू बालबालिकाले कोरिरहेको दृश्य हेरिरहेका थिए।
क्यामेराबाट आँखा हटाएर मैले केही बेर उनीहरूलाई नियालिरहें। उनीहरू एकटकले हेरिरहेका थिए। लाग्यो- उनीहरू पनि मन्दिरको भित्तामा कोर्न चाहन्थे तर चक पनि थिएन।

भुइँमा कसैले खसाइरहेको चकको टुक्रा टिपेर उनीहरूलाई दिएँ। शुरूमा त लिनै मानेनन्। केही बेरमा लिए अनि अरू बालबालिकाले जस्तै मन्दिरको भित्ता कोर्न थाले।
तर त्यहाँ कुनै अक्षर बनिरहेको थिएन। बाँगाटिंगा धर्साहरू मात्रै कोरिरहेका थिए। शायद उनीहरूलाई अक्षर लेख्न आउँदैनथ्यो। अझ कोही भन्दै थिए, “ओए, मेरो पनि नाम लेखिदेऊ न!”

अक्षर नबनेका धर्साहरू लेख्नमै खुशी भएर रमाइरहेका ती बालबालिकाको तस्वीर खिचेर फर्किंदै गर्दा मलाई लाग्यो- विद्याकी देवी सरस्वती यिनीहरूको दैलोसम्म किन नपुगेकी होलिन्?
शिक्षाको उज्यालो उनीहरूको घरसम्म पुगेको भए त यी बालबालिकाले आज आफ्नै नाम लेख्ने थिए। बांगाटिंगा धर्साहरूलाई नै नाम ठान्दैनथे।
