संकटकाल लगाउने तयारी, केही बेरमै प्रमको सम्बोधन

माओवादी प्रस्ताब अनुसार चुनाबमा जान मधेशी मोर्चाले असहमति जनाएपछि बाबुराम भट्टराई नेतृत्वको सरकार संकटकाल लगाउने तयारीमा जुटेको छ । केही समयपछि बस्ने मन्त्रिपरिषद् बैठकले संकटकाल लगाउने निर्णय गर्ने बताइएको छ ।

समाचार स्रोतका अनुसार संकटकाल लगाउने बारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्री भट्टराईले अहिले केहीबेरमै देशबासीका नाममा सम्बोधन गर्देछन् । प्रधानमन्त्री भट्टराईले सरकारी निबास बालुवाटारबाट नेपाल टेलिभिजनमार्फत देशबासीको नाममा सम्बोधन गर्नेछन् ।

यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राति १२ बजेभित्र नयाँ संविधान बन्न नसक्ने धारणा राखेपछि विभिन्न विकल्पका बारेमा छलफल शुरु भएको छ । १४ जेठ राति संविधानसभाको म्याद सकिन करिब दुई घण्टा बाँकी छँदा माओवादी अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन् । संविधानसभाबाट नयाँ संविधान जारी हुने स्थिति नभएपछि विकल्पबारे छलफल हुने समेत दाहालले बताए ।