नयाँ वर्षको स्वागतमा बिर्तामोड गुन्जाउँदै नेपथ्य
लोक-रक ब्यान्ड नेपथ्यले नयाँ वर्ष २०८१ लाई स्वागत गर्दै चैत ३० गते झापाको बिर्तामोडमा कन्सर्ट गर्ने भएको छ।
यसअघि नेपथ्यले बिर्तामोडमा पाँच वर्ष पहिले कन्सर्ट गरेको थियो। तीव्र शहरीकरणसँगै यातायात आवागमन बढेर दुर्घटना चुलिएको त्यस वेला सुरक्षित आवागमनको नाराका साथ ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो। त्यसभन्दा पहिले द्वन्द्वकालमा ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत नेपथ्यले तत्कालीन ‘अनारमनी गाविस’ मा गीतहरू सुनाएको थियो।
यस पटक भने नेपथ्यले ‘झापा गोल्ड कप’ लाई योगदान गर्ने उद्देश्यले कन्सर्ट गर्न लागेको हो।
नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले यो ब्यान्ड मन पराउने दर्शकमाझ उभिन आफू सधैं उत्साहित रहने र केही दिनमै बिर्तामोडका संगीतप्रेमीहरूमाझ पुग्न व्यग्र भइरहेको बताए। स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ।
नेपथ्यको कन्सर्ट स्वदेशका साना शहरबजारदेखि ठूला शहरसम्म समान गुणस्तरमा प्रस्तुत गर्न आफूहरू प्रयासरत रहेकाले बिर्तामोडमा पनि त्यो स्वाद मिल्ने व्यवस्थापक नेपालयका अर्पण शर्मा बताउँछन्।
बिर्तामोडको कन्सर्ट स्थानीय श्रृद्धि इभेन्टले आयोजना गर्दै छ। आयोजक सुमन धिमालका अनुसार कन्सर्ट शुक्रबार साँझ ठीक साढे ६ बजे शुरू हुनेछ।
टिकटका लागि बिर्तामोड सहित पूर्वका शहरहरूमा काउन्टरको व्यवस्था गरिएका छ भने नेपथ्यको वेबसाइटबाट पनि टिकट खरीद गर्न सकिने आयोजकले जनाएको छ।