किम्फमा के देखाइँदै छ?
![किम्फमा के देखाइँदै छ?](https://www.himalkhabar.com/uploads/posts/800X600/KIMFF-1716899020.jpg)
काठमाडौं इन्टरन्याशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को २१औं संस्करण आजबाट शुरू हुँदै छ।
आगामी आइतबार (जेठ २०) गतेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने यस महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै छन्। महोत्सवको शुरूआत इटालियन निर्देशक ब्रान्डो क्विलिचीको द टाइगर्स नेस्टको एशिया प्रिमियरबाट हुनेछ। यस्तै, महोत्सवको मुख्य आकर्षणका रूपमा ‘एभरेस्ट रिभिजिटेड १९२४-२०२४’ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासका दुर्लभ तस्वीरहरूको प्रदर्शनी हुँदै छ।
अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन्। यस्तै, नेपाल पानोरमा अन्तर्गत समकालीन नेपालको कथा उजागर गर्ने स्वदेशी प्रतिभाका रोमाञ्चक चलचित्रहरू प्रस्तुत हुनेछन्। यस पटक महोत्सवमा नेपालीतर्फ कथानक विधा अन्तर्गत १६ लघु चलचित्र तथा डकुमेन्ट्री विधा अन्तर्गत १० वृत्तचित्रहरू प्रदर्शन हुँदै छन्।
महोत्सवमा ‘माउन्टेन्स म्याटर- अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तरक्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘विमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना हुनेछ। यस्तै, ब्रिटिश काउन्सिलसँगको सहकार्यमा ‘च्याम्पियनिङ योङ फिल्ममेकर्स’ शीर्षकमा स्क्रीनिङ र प्यानल छलफल हुनेछ भने कट.कथा फोरम मार्फत नेपाली वृत्तचित्रका लागि कथा ‘पिच’ गर्ने सत्र पनि हुनेछ।
महोत्सव काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुँदै छ। महोत्सवको टिकट र सिजनल पास खल्ती एपबाट प्राप्त गर्न सकिनेछ। टिकटको मूल्य १५० (विद्यार्थीहरूका लागि १०० रुपैयाँ) तोकिएको छ।
किम्फका मुख्य आकर्षण
द टाइगर्स नेस्ट (२०२२)
अवधि : ९४ मिनेट
भाषा : अंग्रेजी
निर्दशक : ब्रान्डो क्विलिची
![Tiger'sNest.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/Tiger'sNest.jpg)
किम्फको यस संस्करणको शुरूआत द टाइगर्स नेस्टबाट हुँदै छ। यो चलचित्र बालमणि नाम गरेका एक अनाथ युवाको कथा हो जो बघिनीको पिठ्यूँमा चढेर हिमालय पर्वत पार गरेका एक गुरुको किंवदन्ती सुनेर हुर्किएको छ। ती गुरु अवतरण गरेको भीरको एउटा गुफामा अहिले गुम्बा बनेको छ जसलाई ‘टाइगर्स नेस्ट’ भनिन्छ। एक रात बालमणिले शिकारीहरूबाट डमरुलाई जोगाउँछ र सुरक्षित रहने आशमा त्यही टाइगर्स नेस्टमा लगेर राख्छ। शिकारीहरू व्यग्र भएर डमरु खोजिरहँदा बालमणि र डमरु मध्यनेपालको घाँसे मैदानदेखि काठमाडौं हुँदै हिमालयसम्मको यात्रा गर्छन्। यात्राका बीच उनीहरूबीच अटुट सम्बन्ध पनि गाँसिन्छ।
अन्द्रो ड्रीम्स (२०२३)
अवधि : ६३ मिनेट
भाषा : मणिपुरी
निर्देशक : मीना लोङजाम
![AndroDream.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/AndroDream.jpg)
उत्तरपूर्वी भारतको एक दुर्गम गाउँमा बस्ने युवती लाइबी र महिला फूटबल क्लबप्रतिको उसको आसक्तिको कथा हो यो। लाइबीको क्लब विभिन्न आर्थिक चुनौतीहरू, पुरुषसत्ता र रूढिवादको सामना गर्छ।
कुलैं तौल कुछ नि जमदु (सल्लाको रूखमुनि केही फल्दैन) (२०२३)
अवधि : ३२ मिनेट
भाषा : गड्वाली
निर्देशक : सचिन राना
![PineTree.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/PineTree.jpg)
भारतको उत्तराखण्ड राज्यको पहाडी क्षेत्रमा दिदीबहिनी बस्छन्। दिदी व्यावहारिक छिन्, तर बहिनी बढीजसो कल्पनाको संसारमै हुन्छिन्। जब उनीहरूका अभिभावकलाई जेठी छोरीले समाजबाट बहिष्कृत हुने गरी सीमा पार गरेको जस्तो लाग्छ, उनको विवाहको तयारी गरिन्छ। तर बहिनीलाई आफ्नो विवाहको तयारी भइरहेको लाग्छ। कुलैं तौल कुछ नि जमदु परम्पराको नाममा पूर्वाग्रह लुकाउने मानिसहरूको कथा हो।
क्लाइम्बिङ फर गोल्ड (२०२४)
अवधि : २२ मिनेट
भाषा : डच/अंग्रेजी
निर्देशक : भिन्सेन्ट ग्रूस
![ClimbingForGold.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/ClimbingForGold.jpg)
यस वृत्तचित्रले सल्ट लेक सिटीमा भएको सन् २०२३ को पाराक्लाइम्बिङ विश्व च्याम्पियनशिपका प्रतिस्पर्धी पाराक्लाइम्बर फ्रे लेसलाई पछ्याउँदै लेसका अथक अभ्यास, खेलकूद कर्मचारितन्त्र र प्रतिस्पर्धीहरूको कथा खोतल्छ। यो वृत्तचित्र मेहनत, संकल्प र आँटको उत्सव हो।
माई रेडियो माई लाइफ (२०२३)
अवधि : ६८ मिनेट
भाषा : अंग्रेजी/हिन्दी/मराठी
निर्देशक : विदित रोय, मकारान्द वाइकर
![MyRadio.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/MyRadio.jpg)
यस चलचित्रले भारतको रेडियोको स्वर्ण युगलाई सम्झाउँदै रेडियो माध्यमबाट जीवन परिवर्तन भएका मानिसहरूको कथा भन्छ। जसका केही पात्र हुन्- भोइस अफ अमेरिकाका पूर्व उद्घोषक जसले अप्पोलो ११ को चन्द्रमा अवतरणको प्रसारण गरेका थिए, एक महिला जसले रेडियोबाटै जीवनसाथी पाएकी थिइन्, उमेरले ८० नाघेका एक वृद्ध जो आफ्नो बहुमूल्य रेडियो सेटलाई फेरि जीवन्त बनाउन प्रतिबद्ध छन्, एक पुरुष जो पुराना रेडियो पुनःस्थापना गर्दै आफ्नो संग्रहालयमा राख्छन् र एक महिला जो एचएएम रेडियोप्रतिको जुनून मार्फत आफ्नो रूढिवादी परिवारलाई जित्छिन्।
अ चाइल्डलेस भिलेज (२०२२)
अवधि : ८२ मिनेट
भाषा : अजरबैजानी
निर्देशक : रेजा जमाली
![ChildlessVillage.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/ChildlessVillage.jpg)
दुई दशकअघि एक वृद्ध फिल्ममेकर कजेमले एक दुर्गम अजेरी गाउँका महिलाहरूबारे वृत्तचित्र बनाएका हुन्छन्, जो सबै सन्तानविहीन थिए। ती महिलाहरूले उक्त वृत्तचित्रका फूटेज चोरेर जलाइदिन्छन्। तर २० वर्षपछि थाहा हुन्छ कि त्यो गाउँमा पुरुषहरू चाहिं बाँझा थिए। यस पटक आफ्नो ‘प्रोजेक्ट’ सक्ने संकल्प सहित कजेम केही प्रश्नहरू सहित फेरि त्यो गाउँ पुग्छ्न्।
द विस्पर्स अफ अ करीन (२०२४)
अवधि : १५ मिनेट
भाषा : हिन्दी
निर्देशक : मारिया सयेद
![WhispersofQareen.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/WhispersofQareen.jpg)
१२ वर्षीया जहानको एक आगन्तुकसँग भेट हुन्छ। उनको नयाँ साथीले बिस्तारै आफ्नो परिचय खोल्दै जान्छ। दिन बित्दै जाँदा, जंगली खेल मैदानमा खेलिएका र घर नजिकैको पवित्र रूखको छायामा साथीहरूसँग आदानप्रदान गरिएका कुराकानी टाढिंदै गएको महसूस हुन्छ, उसको वरपरको संसार बिस्तारै लोप हुँदै गए जस्तो।
अर्केस्टा (२०२३)
अवधि : १८ मिनेट
भाषा : नेपाली
निर्देशक : सफल पाण्डे
![Orchestra.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/Orchestra.jpg)
एक दिन गोकुलले आफ्नो छोरालाई सार्वजनिक स्थानमै महिलाको अन्दाजमा नाचिरहेको देख्छ। यसपछि गोकुल समाजमा आफ्नो इज्जत नगुमोस् भनेर आफ्नो सन्तानको व्यवहार परिवर्तन गर्न कम्मर कसेर लाग्छ। यस क्रममा गोकुलले छोराको व्यक्तित्वका विभिन्न आयामबारे थाहा पाउँछ।
नो मोनास्टरी नो भिलेज (२०२४)
अवधि : २७ मिनेट
भाषा : तिब्बती
निर्देशक : टासी ल्हाजोम
![NoMonastery.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/KIMFF 2024/NoMonastery.jpg)
प्राचीन हल्जी रिन्छेनलिङ गुम्बा भएको हिमनदीको आडैमा अवस्थित हल्जी गाउँ सदियौंदेखि हुम्लाको सांस्कृतिक सम्पदाको आधारशिला हो। तर अहिले यो गाउँले माथिल्लो तटमा अवस्थित हिमतालको खतराको सामना गरिरहेछ। वृत्तचित्रले गाउँलेहरूका आस्था, प्रतिरोधी क्षमता र जीवनशैली संरक्षणका निम्ति उनीहरूले गरेको लडाइँलाई प्रस्तुत गरेको छ। सम्पदाप्रति अगाध रूपमा समर्पित र आसन्न प्रकोपका बीचमा परेका गाउँलेको कथा यो वृत्तचित्रले भन्छ।
किम्फको कार्यक्रम तालिका :