डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने
वैचारिक बहसको मञ्च डिस्कोर्स डबली शुरूआतको १० वर्ष पुगेको अवसरमा काठमाडौंमा दुईदिने विचार उत्सव हुने भएको छ।
यही वैशाख २२ र २३ गते नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले पत्रकार सम्मेलनमा जानकारी दिए। उत्सवमा २० वटा सत्र हुनेछन् जहाँ नेपाल र भारतका ८० जना वक्ता सहभागी हुनेछन्।
समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायत दुई दर्जन विषयमा बहस हुने ढुंगेलले बताए। राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशकको बहस सुन्न सकिनेछ।
मूलप्रवचन लेखक तथा विश्लेषक सीके लालको ‘बौद्धिकताको कसीमा नेपाली समाज’ रहेको छ। यस्तै, भारतको बदलिंदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सहप्राध्यापक तथा विश्लेषक डा. सरोज गिरीले बहस गर्नेछन्। उत्सवमा नाटक, चलचित्र, कार्टून प्रदर्शनी र सांगीतिक उत्सवका कार्यक्रम पनि राखिएका छन्।
डिस्कोर्स डबली २०७१ सालमा रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस लगायत कलेजमा अध्ययनरत विद्यार्थीले शुरू गरेका थिए। विश्वविद्यालयमा वैचारिक अध्ययन र बहसलाई प्रोत्साहित गर्न ‘विचार उत्सव’ क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलले बताए।