पोखरामा साहित्य महोत्सव शुरू
![पोखरामा साहित्य महोत्सव शुरू](https://www.himalkhabar.com/uploads/posts/800X600/lit-fest_2024-(3)-1708009101.jpeg)
पोखरामा एघारौं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल शुरू भएको छ।
लेकसाइडमा बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिभलको उद्घाटन गरेका छन्। उद्घाटनमा बोल्दै मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए। “साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो। साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्छ,” मुख्यमन्त्री पाण्डेले भने, “राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग पुर्याउँछ।”
लिटरेचर फेस्टिभल पोखराकै पहिचानको महोत्सव भइसकेको र यसले पोखराको पर्यटनमा सहयोग पुग्ने उनको विश्वास थियो। यसले पोखरा मात्रै नभई नेपाललाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।
![lit fest_2024 (2).jpeg](https://www.himalkhabar.com/uploads/editor/Literature/nlf_2080/lit fest_2024 (2).jpeg)
त्यस्तै, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्कीले साहित्यले समाजलाई सत्मार्ग देखाउन आवश्यक रहेको बताए।
फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले थुप्रै मेहनतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताए। “हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरू छन्। ती सबैलाई मलम लगाउने काम साहित्य महोत्सवले गर्छ भन्ने विश्वास नै अभियान हो,” भारीले भने।
फेस्टिभलकै अवसरमा कार्टूनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ को पुस्तक वात्स्यायन एन्ड हिज बाब्र्स विमोचन भएको छ। पोखरा महानगरका मेयर धनराज आचार्यले कार्टून संग्रह विमोचन गरेका हुन्। पुस्तक विमोचन गर्दै मेयर आचार्यले वात्स्यायन पोखराका अग्ला शिखर भएको बताए।
![lit fest_2024 (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Literature/nlf_2080/lit fest_2024 (4).jpg)
मेयर आचार्यले पोखरामा साहित्य महोत्सव हुँदै गर्दा सहपाठी समेत रहेका स्वर्गीय रवीन्द्र अधिकारीको पनि स्मरण गरे। हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्व पर्यटनमन्त्री अधिकारीले पोखरामा लिटरेचर फेस्टिभल ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आचार्यले उल्लेख गरे।
विमोचन कार्यक्रममा पत्रकार कुन्द दीक्षितले वात्स्यायनको पुस्तक र कार्टूनमाथि चर्चा गरेका थिए। वात्स्यायनका कार्टूनले प्रेस स्वतन्त्रतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दीक्षितको भनाइ थियो।
![lit fest_2024 (5).jpeg](https://www.himalkhabar.com/uploads/editor/Literature/nlf_2080/lit fest_2024 (5).jpeg)
त्यस्तै, वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरेका थिए। “पोखरालाई कार्टूनमा मात्रै होइन, पानी रङको शहरका रूपमा चिनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ,” श्रेष्ठले भने।
सोही अवसरमा चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि शुरू भएको छ। प्रदर्शनी पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले उद्घाटन गरेकी छन्।
![lit fest_2024 (6).jpeg](https://www.himalkhabar.com/uploads/editor/Literature/nlf_2080/lit fest_2024 (6).jpeg)
फेस्टिभलको उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिएका थिए। फेस्टिभलको पहिलो दिनको अन्तिम सत्र कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गरेका थिए।
आजदेखि शुरू भएको फेस्टिभल फागुन ७ गतेसम्म चल्नेछ। फेस्टिभलमा २०० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, राजनीतिज्ञ, कलाकारले विविध विषयमा विमर्श गर्नेछन्।
यो पनि पढ्नुहोस्: वात्स्यायनले कोर्न नसकेको एउटा चित्र