‘आफै’ मा चन्द्र या शिरबिन्दुको शृंगार किन?
सामान्यतया ‘ऐ’ प्रत्यय र नै निपात अर्थमा जोड दिन वैकल्पिक रूपमा प्रयोग हुन्छन्। यही प्रक्रियामा ‘आफू’ शब्दमा ऐ प्रत्यय लागेर बनेको ‘आफै’ शब्दमा चाहिं थोप्ला वा चन्द्रमा जडेर सिंगार्न छापाका सम्पादक महोदयहरूलाई किन मन लागेको होला?
नेपाली भाषामा लेख्ने सबैजसो कलमजीवी र सौखिन लेखकका रचनाहरूमा खासगरी पत्रपत्रिकामा ‘आफै’ शब्दमा चन्द्र वा शिरबिन्दुले सिंगारिएको देख्न पाइन्छ। अरूको त के कुरो, त्यस सिंगारको विपक्षी रहँदै आएको मेरै रचनामा पनि त्यो सिंगार पाइन्छ।
भाषाका मूलभूत विशेषताहरूमध्ये ‘अनुकरण’ एक हो। बाल्यकाल र त्यसपछि पनि मानिसले अनुकरण गरेरै भाषा सिक्छ। तर भाषाको अर्को मूलभूत विशेषता यदृच्छा अर्थात् शास्त्र वा नियमबाट बाँधिएर नभई स्वैच्छिक अभ्यास वा प्रचलनमा आउनु पनि हो। जतिसुकै अनुकरण गरे पनि मानिसको उच्चारण व्यक्तिपिच्छे फरक हुने भाषाविज्ञानको ध्वनिविज्ञान शाखाको मान्यता छ।
मानिसको अनुहार फरक भए जस्तै उच्चारण पनि फरक हुन्छ, तापनि अफ्रिकी-अफ्रिकी वा चिनियाँ-चिनियाँको अनुहार अरू समूहका मानिसलाई उस्तै उस्तै लागे जस्तै उच्चारण फरक भए पनि भाषा बुझ्नेले उस्तै उस्तै उच्चारण सुन्छ र भाषा बुझिन्छ। स्थान फरक हुँदै जाने क्रममा उच्चारणमा फरक पर्दै भाषिकाहरूको जन्म हुन्छ। यही कारण पहिले पैदल यात्रा गर्ने वेला ‘एक वासमा पानी फेरिन्छ, दुई वासमा भाषा’ भन्ने लोकोक्ति बन्यो। निकै वाससम्म भाषा बुझी नै रहन्छ, यद्यपि भाषाको लवजमा परिवर्तन भइसकेको हुन्छ। नेपाली भाषाको सन्दर्भमा पूर्वदेखि पश्चिम लाम्चो भागमा यात्रा गर्ने हो भने निकै वाससम्म भाषा बुझ्न सकिन्छ।
दुई वासपछिबाटै भाषा नबुझिने नहोस् भन्नाका लागि भाषिक विचलन रोक्न भाषाको लेख्य रूपका लागि व्याकरणमा पद्धति बन्छ। त्यसैले भाषाको मूलभूत विशेषतालाई साक्षी थापना गरी भाषा अनुकरणबाटै सिक्ने त हो भनेर कलमजीवी वा कलमचीहरूले भने सुख पाउँदैनन्। उनीहरूले भाषाको बनोटको आधारभूत जानकारी राख्नैपर्ने हुन्छ। वस्तुतः अनुकरणबाट सिकिने भाषिक भेदहरूबाटै लेख्य रूपमा एकरूपता ल्याउन भाषिक पद्धतिहरूको व्याख्या नै व्याकरण हो।
‘आफै’ मा नासिक्यजन्य थोप्ला वा चन्द्रबिन्दुको बढ्दो प्रयोगका विषयमा करीब चार-पाँच दशक अघि मेरा सहकर्मी प्राध्यापक घनश्याम कँडेल (पछि धृतराष्ट्र खण्डकाव्यबाट मदन पुरस्कार विजेता: २०७३) सित मेरो कुरा भएको थियो। निष्कपट कवि हृदयका उनले भने, “म पहिला आफैमा थोप्ला हाल्दिनथें, छापाहरूमा जताततै सबै जनाले थोप्ला हालेको देखेर मैले पनि हाल्न थालें।”
अनुकरणबाट भाषा सिकिने गजबको दृष्टान्त हो यो। तर मित्र कँडेल यसरी भाषा सिकेर नेपाली भाषाको प्रयोग गर्नुपर्ने वर्गका थिएनन्। उनीसित उपर्युल्लिखित कुरा हुँदा ताका उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका उपप्राध्यापक थिए भने उनको बाल्यकाल धादिङ जिल्लामा बितेको थियो जहाँ ‘आफै’ नासिक्य ध्वनि सहित उच्चारण गरिंदैन।
आफै शब्द आफू+ऐ जोडिएर बनेको हो। नेपाली नाम, विशेषण, नामयोगी, क्रियाविशेषण आदिमा ऐ प्रत्यय, लागेर साँचै, खाँचै, रातै, कालै, तिरै, बिहानै, सबेरै, यतै, त्यतै, जस्तै, भुसुक्कै, सुलुत्तै इत्यादि शब्द बन्छन्। यो प्रत्यय नेपालीभाषीलाई कति प्रिय छ भने कतिपय सन्दर्भमा मूल शब्द नै बिर्सने गरी यो लागेको शब्दको मात्र प्रयोग हुन्छ। यस कोटिमा पर्छ ‘सबेरै’। अधिकांश नेपालीभाषीले ‘सबेर’ शब्द भुलिसकेका छन् र सबेरै मात्र प्रयोग गर्छन्– ‘बिहान सबेरै आऊ है’।
त्यति मात्र होइन, यो प्रत्यय विभक्तिमा समेत लाग्छ– ‘म आज उसकै (को+ऐ) घरमा बस्छु’। यी कुनैमा पनि ऐ ध्वनिमा नासिक्यजन्य चन्द्र वा शिरबिन्दु लाग्दैन किनभने प्रत्यय ‘ऐ’ हो ‘ऐँ’ होइन। यो प्रत्यय लागेर सम्बद्ध शब्दको अर्थगत तहमा विशेष जोड थपिन्छ। तर मकै जस्ता ऐ अन्त्य ध्वनि र माथि, यसरी, कलेजी, प्याजी, जस्ता इ वा ई अन्त्य शब्दमा यो प्रत्यय लाग्दैन, ‘ऐ’ द्वित्व हुने र ‘ऐ’ को उच्चारणमा ‘अ’ र ‘इ’ को संयुक्तताको कारण ‘इ’ द्वित्व हुने भएकाले। यस्ता शब्दमा अर्थ तहमा जोड थप्न शब्दको ठीक पछिल्तिर ‘नै’ निपात जोड्नुपर्छ। यो निपात ‘ऐ’ प्रत्यय लाग्ने शब्दमा पनि प्रत्यय नलगाई प्रयोग गर्न सकिन्छ अथवा बीचमा केही छेको हालेर दुवै प्रयोग गर्न सकिन्छ, जस्तै: ‘रातैभर नै सुत्न सकिनँ।’ तथापि सामान्यतया ‘ऐ’ प्रत्यय र नै निपात अर्थमा जोड दिन वैकल्पिक रूपमा प्रयोग हुन्छन्।
यही प्रक्रियामा ‘आफू’ शब्दमा ऐ प्रत्यय लागेर बनेको ‘आफै’ शब्दमा चाहिं थोप्ला वा चन्द्रमा जडेर सिंगार्न नेपाली छापाका सम्पादक महोदयहरूलाई किन मन लागेको होला? मैले बुझेको चाहिं उहाँहरू ‘महाजनो येन गतः स पन्थाः’ उक्तिको प्रभावमा परी ठूला मानिसहरूले जे गरे त्यसैको सिको गर्ने प्रवृत्तिको शिकार हुनुभएको हो, जुन कारण घनश्याम कँडेल जस्ता जानकारलाई पनि दिग्भ्रान्त पारिदिएको थियो। सम्पादक महोदयहरूले भाषाको मर्म नबुझेको भन्ने मलाई कत्ति पनि लाग्दैन।
नेपाली छापामा आफैमा थोप्ला हाल्ने प्रथा कसरी चल्यो होला? मैले बुझेको कुरो के हो भने, विसं २००७ को प्रजातन्त्रपछि नेपालमा आएको अनेक लहरमा छापाहरूको पनि ह्वात्त विकास भयो। त्यतिखेर प्रायः हर क्षेत्रमा नेपालको पूर्वी भागका मानिसहरूको बढी प्रभाव थियो, किनभने तुलनात्मक रूपमा पूर्वी खण्डका मानिसहरू बढी सजग, सचेत र पढेलेखेका थिए।
प्रधानमन्त्री बनेकाहरू नै हेरौं, २००७ यता पूर्वबाट कति जना भए, पश्चिमबाट कति, यद्यपि पूर्व खण्डभन्दा पश्चिम खण्ड (राजधानीलाई केन्द्र मान्दा) दोब्बर छ। यही प्रभाव पत्रकारिता र शिक्षण क्षेत्रमा पनि रह्यो। अझ त्यतिखेर नेपालका निजी विद्यालयहरूमा दार्जीलिङका शिक्षकहरूको राम्रो माग थियो, यसले विद्यालयको इज्जत बढ्थ्यो। यस परिवेशमा लेखन र सम्पादनको काममा पनि त्यस भेगका मानिसको बढी पकड थियो।
नेपाली भाषाको भाषिक विभाजनमा पूर्वेली नेपाली भाषिका भन्ने गरिएको भेरी-मेची खण्डको मध्यपहाडी खण्डमा बोलिने नेपाली भाषाको पनि उपविभाजन गर्दा पूर्वेली नेपाली पूर्वी उपभाषिका भन्नुपर्ने अवस्थाको वल्लो किरात, माझ किरात, पल्लो किरात र त्यसभन्दा पनि पूर्वको इन्डियाको दार्जीलिङ सेरोफेरोको लवजमा ‘आफै’ शब्दको उच्चारण नासिक्य ध्वनिमा हुने गर्छ।
त्यस कारण २००७ पछिको काठमाडौंमा जुरमुराएको नेपाली लेखनमा पूर्वेली नेपाली पूर्वी उपभाषिका बोल्ने मानिसको प्रमुखता हुँदा आफूले बोल्ने गरेकै कथ्य रूप ‘आफैँ’ र त्यसको वैकल्पिक लेख्यरूप ‘आफैं’ छापामा प्रयुक्त भयो। तत्पश्चात् ‘महाजनो येन गतः स पन्थाः’ भएर आजसम्म कान नछामी कागको पछाडि नेपाली कलमजीवी र सौखिन लेखकहरू दौडिरहेका छन्।
यसरी उच्चारण हुने अरू पनि शब्द छन्, जस्तै: घोंच्नु, छेंड्नु, खिंच्नु आदि। यी उपभाषिकागत वा यादृच्छिक भेद मात्र हुन्। धन्न यी शब्दको लेख्य रूपमा भने नासिक्यजन्य चन्द्र वा शिरबिन्दु लगाउने गरिएको छैन। तर ‘आफै’ मा चाहिं म जस्तो लेखकले पाण्डुलिपिमा चन्द्र वा शिरबिन्दु नहाले पनि छापिने वेला शिरबिन्दु वा चन्द्रबिन्दु छापिन्छ।
यही क्रममा आफैमा शिरबिन्दु वा चन्द्रबिन्दु प्रयोग गरिरहने हो भने अब लेखिने नेपाली व्याकरणमा ‘आफैँ’ चाहिं अपवाद हो, यसमा व्याकरणको नियमले नदिए पनि शिरबिन्दु वा चन्द्रबिन्दु लगाउनुपर्छ भनेर लेखिने जोखिम छ। अनि गैरआवासीय नेपालीहरूका बालबच्चाले विदेशमा पितृ वा मातृमोहले नेपाली भाषा सिक्दा ‘आफैं’ को उच्चारण गर्न नाक बजाई बजाई अभ्यास गर्नेछन्।
यो पनि पढ्नुहोस् :