जहाँ स्मृतिहरू बिक्री गरिन्छन्...
नयाँ वर्षसँगै साहित्यकार बुद्धिसागरको कथामा आधारित नाटक स्मृति बिक्री केन्द्रको पोखरास्थित पोखरा थिएटरमा मञ्चन शुरू भएको छ।
ठूलो होर्डिङ बोर्डमा लेखिएको, ‘स्मृति बिक्री केन्द्र।’
ढोकैमा उभिएका सुरक्षा गार्डले भित्र छिर्नेहरूको सुरक्षा जाँच गर्छन्। स्मृति बिक्री केन्द्र बाहिर मानिसको भीड छ। यो भीड स्मृति बिक्री गर्नका लागि लागेको हो। स्मृतिहरूलाई च्वाट्टै बिर्सिएर अघि बढ्न खोज्छ भीड।
स्मृति बिक्री केन्द्रको कोठामा बसिरहेको कालो कोट र पाइन्ट लगाएकी कर्मचारी भन्छिन्, “यहाँ स्मृतिका प्रकारहरू छुट्टयाइएको छ। जस्तो- दुर्घटना, यौन, प्रेम, धोका, हिंसा।”
यही भीडमा छ, एक प्रेमी। आफूले प्रेम गरेकी युवती ‘सम्झना’ ले एक दिन भेट्न बोलाएर नआएपछि ऊ भौंतारिएको हुन्छ। पीडामा कहिले रक्सी, चुरोटको कुलतमा पुग्छ, कहिले यौनकर्मीको शरणमा पुग्छ, कहिले आत्महत्याको प्रयास गर्छ।
केही गर्दा पनि आफ्नो प्रेम भेट्दैन, बिर्संदैन। अन्तत: ‘सम्झना’ का स्मृतिलाई मेटाउन पुग्छ, स्मृति बिक्री केन्द्र।
अनि शुरू हुन्छ नाटक स्मृति बिक्री केन्द्र। साहित्यकार बुद्धिसागरको कथा स्मृति बिक्री केन्द्रमा आधारित नाटक रेनेसान्स थिएटरको प्रस्तुतिमा पोखरा थिएटरमा वैशाख १ देखि मञ्चन भइरहेको छ।
आफूले नचाहेको स्मृति मेटाउन सकिने वैज्ञानिक प्रविधिको कल्पना यो नाटकमा गरिएको छ। स्मृतिविहीन गराउन सकिने संसारको कल्पना गर्दै बुद्धिसागरले समाजको अवस्था चित्रण गर्न खोजेका छन्।
कथालाई ऋतेशले नाटकमा रूपान्तरण गरेका छन्। “यो मन परेको कथा हो। मलाई सधैं यो कथाले झस्काइरह्यो,” ऋतेश भन्छन्, “नाटकमा देखाउन सकिन्छ भनेर गरिएको प्रयास हो।”
नाटकका पात्रको उतारचढाव सँगसँगै पृष्ठभूमिमा कलाकारले सुसेल्ने गीतसंगीतले नाटकलाई लयमा ल्याउँछ। उनीहरू गाउँछन्, ‘लैजाऊ न मेरा यी यादहरू...।’
स्मृति बिक्री केन्द्रमा स्मृति बिक्री गर्न मात्र होइन, किन्न पनि आइपुग्छन् मानिस। लेखक, मनोवैज्ञानिक, मानवशास्त्री, समाजशास्त्री मान्छेलाई बुझ्न, लेख्न स्मृति किन्न पुग्छन्।
नाटकमा एक पात्र आमा छिन्, जसलाई छोराले वृद्धाश्रम लगेर छाडेको हुन्छ। वर्षौंदेखि पर्खंदै रोइरहेकी आमा अन्तत: विवश हुँदै छोराको स्मृति मेटाउन बिक्री केन्द्रमा पुग्छिन्।
अर्को पात्र २०० पटक आफ्नो स्मृति बेच्छ र त्यसबाट आएको पैसाले रक्सी पिउँछ। तेस्रो पात्र आफू बलात्कारमा परेको स्मृति मेटाउन पुग्छिन् तर केही गडबडीले उनका सबै स्मृति मेटिंदैनन्। अनि त्यसपछिका दिनमा बिक्री केन्द्रको बाहिर न्याय माग्दै आन्दोलनमा बस्छिन्।
अर्को पात्र नेपाल-भारतको सीमा बस्ने नेपाली जसको नागरिकता छैन, उसको छोरी दाइजोका कारण मारिन्छिन् भने श्रीमतीले त्यही पीडाले विष पिउँछिन्। त्यही स्मृतिलाई मेटाउन बिक्री केन्द्र आइपुग्छन् तर परिचयपत्र नहुँदा स्मृति मेटाउन पाउँदैनन्।
यस्तै पात्रहरूका अनेकथरी कथा देखाउन खोजिएको छ, नाटक स्मृति बिक्री केन्द्रमा। अन्त्यमा नाटकको मुख्यपात्रलाई ‘सम्झना’ को एक्कासि फोन आउँछ। स्मृतिविहीन बनिसकेकाले ऊ सम्झनालाई चिन्दैन र भन्छ, “म गीतामा छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन।”
नाटकका निर्देशक ध्रुव पौडेलले नयाँ र फरक विषयमा तयार पारिएको नाटकका लागि सबैले मेहनत गरेको सुनाए। उनले काठमाडौंमा नाटक मञ्चन गर्ने प्रयास गरेका थिए। चाँजोपाँजो नमिलेपछि पोखरेली कलाकारलाई लिएर नाटक तयार भएको पौडेलले बताए।
कलाकारहरू प्रमिला तुलाचन, विभू भुसाल, जनक पराजुली, राजेन्द्र अधिकारी, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रे, उमा पुन, शीतला अधिकारी, प्रियंका खड्का, कविता घर्ती मगर, सुस्मिता काप्री, सन्देश भण्डारीको उत्कृष्ट अभिनयले नाटक जीवन्त बनेको छ।
नाटक पोखरा थिएटरमा वैशाख १५ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ।