माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने
एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मशिन (टीबीएम) प्रयोग गरिने भएको छ।
भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ टीबीएमले खन्दा सफल र प्रभावकारी देखिएपछि माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको हो। अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर हुनेछ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर प्रस्ताव गरिएको छ। निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाको सुरुङ खन्न हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरिंदै आएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेडका प्रबन्ध-सञ्चालक फणीन्द्रराज जोशी, दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टीबीएम मार्फत खनिएको सुरुङबारे जानकारी लिएको छ।
टोलीले टीबीएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा बेहोर्नुपरेका समस्या तथा चुनौती, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारिता लगायत विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिंचाइका दुई वटा आयोजनाको सुरुङ टीबीएम मार्फत खन्दा समय थोरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले ठूला सुरुङ भएका दुई जलविद्युत् आयोजनामा उक्त प्रविधि प्रयोगमा ल्याउन लागिएको बताए।
घिसिङले माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अब निर्माणका लागि टेन्डर आह्वान गर्न लागिएको बताए। उनले सुनकोशी मरिण डाइभर्सन र दूधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टीबीएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकिएको र माथिल्लो अरुणमा टीबीएम पुर्याउन प्रवेशमार्ग चुनौती देखिएको भए पनि सम्भव भएसम्म प्रयोगमा ल्याइने बताए।
टीबीएम मार्फत सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नुनपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्दा, निर्माणमा लाग्ने कम समय लगायतलाई हिसाब गर्दा सस्तो र प्रभावकारी हुने उनले बताए।
मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नुपर्ने दुई वटा प्रवेश (एडिट) सुरुङको लम्बाइ पाँच किलोमिटर गरी दूधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ। टीबीएमबाट खन्दा एडिट सुरुङहरू बनाउनु पर्दैन। एडिट सुरुङ पुग्न बनाउनुपर्ने करीब सात किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन।
माथिल्लो अरुण विश्व ब्यांक र दूधकोशी एशियाली विकास ब्यांकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ। सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धि सहित एक अर्ब ७५ करोड डलर (करीब दुई खर्ब १४ अर्ब रुपैयाँ) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी)बाट जुटाइनेछ। विश्व ब्यांकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी ब्यांक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ।
दूधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करीब दुई खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ। यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलियतपूर्ण ऋण लगानी हुनेछ। यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ।