जोखिम मोलेर कमला नदी वारपार
सिरहाको कमला नदीमा १४ वर्षसम्म पुल निर्माण नभएपछि स्थानीय बासिन्दा जोखिम मोलेर वारपार गरिरहेका छन्।
आइतबारे व्रत बसेका स्थानीय बासिन्दा गत वैशाख ३० मा कमला नदीमा स्नान गर्न जाँदै थिए। उनीहरू ओहोरदोहोर गर्दागर्दै एउटा पुल भासियो। झन्डै ४० जना व्रतालु नदीमा डुबे।
उनीहरूको उद्धार गर्न स्थानीय १०-१२ जना युवा गए। उनीहरू पनि भासिएको पुलमै केही बेर अल्झिए। बल्लतल्ल सबै मिलेर पानीमा डुबेका व्रतालुलाई बाहिर निकाले।
यो कुनै नौलो घटना थिएन। हरेक वर्षजसो पुल भासिने गर्दा वारपार गर्न कठिनाइ भोग्नुपर्ने यहाँका बासिन्दाको नियति नै बनेको छ। गत वर्ष पनि यसैगरी पुल भासिएको थियो। र स्थानीय युवा तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए। हरेक वर्ष सिरहा र धनुषाका बासिन्दाले यस्तै जोखिम मोल्नुपरिरहेको छ। स्थानीय युवाले बनाएको बाँस र प्लाईको पुलले बढी भार थेग्न सक्दैन।
अझ वर्षातमा त पुलमा ओहोरदोहोर गर्नै सकस हुने गरेको छ। बाढी पुलमाथि पुग्छ। जोखिम मोलेर वारपार गर्ने कतिपय स्थानीय बासिन्दा नदीमा डुब्ने गरेका छन्।
पक्की पुल नभएकैले यहाँका स्थानीय युवाले कामचलाउ पुल बनाएका हुन्। ६ महीनाअघि सुजित मण्डल, अजयकुमार मुखिया, सञ्जय यादव लगायत स्थानीय ४० युवा मिलेर तीन वटा पुल बनाएका छन्। तीन वटै पुल बनाउन झन्डै पाँच लाख रुपैयाँ लागेको मण्डल बताउँछन्।
त्यसैले उनीहरू पुलमा मोटरसाइकल वारपार गर्दा शुल्क लिन्छन्। प्रतिमोटरसाइकल २० देखि ५० रुपैयाँसम्म लिने गरेको उनी बताउँछन्। “प्रहरी र कर्मचारीले त शुल्क तिर्दैनन्,” शुल्क उठाउन खटिएका मण्डल भन्छन्, “पैदल र साइकलबाट पुल तर्नेको भने शुल्क लिंदैनौं।”
उनीहरूले पैसा कमाउन पुल बनाएका भने होइनन्। यसअघि स्थानीय सरकारले बनाएको बाँसको पुल भत्किएपछि आवतजावत गर्न समस्या भएको थियो। स्थानीय, प्रदेश र संघीय सरकारलाई गुहार गर्दा वास्ता नगरेपछि स्थानीय युवाले नै पुल बनाएका हुन्।
तीन साताअघि भत्किएको एउटा पुल मर्मतसम्भार गरेर वारपार गर्न मिल्ने बनाइएको छ। यो पनि कति वेला भत्किने हो, ठेगान छैन। “डराएरै वारपार गर्छौं,” स्थानीय मोहनकुमार साह भन्छन्।
बर्खाको चिन्ता
स्थानीय मोहनकुमार साह दैनिकजसो कामकाजका लागि सिरहा र जनकपुर आउजाउ गरिरहन्छन्। ससुराली जाँदा होस् वा किनमेलका लागि, पुल वारपार गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्। तर बर्खा नजिकिंदै गर्दा साहको चिन्ता पनि बढ्दै गएको छ। “बर्खाको समयमा हिंड्न निकै गाह्रो हुन्छ, यो बाँसको पुल पनि बाढीले बगाउँछ,” उनी भन्छन्।
मनसुनको वेला त कमला नदीमा आउने बाढीले बाँसको पुल डुब्छ। डुंगा पनि चलाउन सकिंदैन। वारपार नगरी स्थानीय बासिन्दाको दैनिकी चल्दैन। “हरेक बर्खामा कतिको डुबेर ज्यान जान्छ,” उनी पीडा सुनाउँछन्।
असार, साउन र भदौमा त वारपार गर्नै सकिंदैन। यी तीन महीना पूर्व-पश्चिम राजमार्ग वा भारतको जयनगरको घुमाउरो बाटो हुँदै जनकपुर पुग्नुपर्छ। यो पुलको बाटो भएर हुलाकी राजमार्गबाट मोटरसाइकलमा केही बेरमै जनकपुर पुगिन्छ। तर मोटरसाइकलमा भारतको बाटो भएर जाँदा एक घण्टा र पूर्व-पश्चिम राजमार्ग भएर डेढ घण्टा लाग्छ।
बर्खाका तीन महीना विद्यार्थी, कर्मचारी तथा व्यवसायी पनि भारतको बाटो आवतजावत गर्न बाध्य हुन्छन्। भारतको बाटो हुँदा एकतिर लामो भएकाले सास्ती हुन्छ भने अर्कातिर सीमा क्षेत्रमा अनेक कठिनाइ झेल्नुपर्छ। नेपालकै बाटो पूर्व-पश्चिम राजमार्ग भएर आवतजावत गर्दा पनि समस्या हुने गरेको उनी गुनासो गर्छन्। “कमलामा पुल बनिदिए त समस्याबाट छुटकारा पाइन्थ्यो,” उनी भन्छन्, “समय र खर्चको पनि बचत हुने थियो।”
कहिले बन्छ पुल?
हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा पुल निर्माणका लागि २०६८ जेठमा पप्पु कन्स्ट्रक्शनलाई ठेक्का दिइएको थियो। झन्डै ४७० मिटर लामो पुल निर्माणका लागि २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पप्पु कन्स्ट्रक्शनले १० वर्ष लगाएर २०७८ सालमा पुल निर्माण गरेको पनि थियो।
ढिलो गरी पुल तयार भए पनि स्थानीय बासिन्दाले नदी पार गर्न सहज हुने भनेर खुशी नै थिए। तर पुल उद्घाटन हुनुभन्दा चार दिनअघि २०७८ असार १७ मा पुलको एउटा स्पाम धसियो।
निर्माण कम्पनीको लापरवाहीले पुलको स्पाम धसिएको भन्दै सरकारले ठेक्का रद्द गर्यो। त्यसपछि लुम्बिनी बिल्डर्स कन्स्ट्रक्शनलाई ठेक्का दिइएको थियो। तर यस कम्पनीले पनि निर्माणमा ढिलाइ गरिरहेको छ। पुल भत्किएपछि नेको इन्स्योरेन्स कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएकाले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनीयर डम्बरबहादुर भण्डारी बताउँछन्। “इन्स्योरेन्सले समयमा क्षतिपूर्ति भुक्तानी गरिदियो भने समयमा बनिसक्छ,” इन्जिनीयर भण्डारी भन्छन्।
सम्झौता अनुसार अर्को वर्षसम्म पुल निर्माण गरिसक्नुपर्छ। कामको गति हेर्दा समयमै पुल बन्नेमा स्थानीय बासिन्दा ढुक्क छैनन्। “भासिएको पुल मर्मत गर्न थालेको दुई वर्ष भयो, तर निरन्तर काम भएकै छैन,” स्थानीय मोहनकुमार साह भन्छन्।
बर्खा नजिकिएपछि मात्रै निर्माण कम्पनीले काम शुरू गरेको उनी सुनाउँछन्। पुस र माघमा अलि अलि काम गरेको कम्पनीले वैशाखमा काम गरेर त्यसै छोडिदिएको उनको भनाइ छ। “दुई वर्षमा दुई/तीन महीना मात्रै काम गरेको देखेका छौं,” उनी भन्छन्, “यस्तै पाराले त कहिले पो पुलबाट हिंड्न पाइएला खै!”