सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. एमसीसी सम्झौताः अहंकार–अवसरवादको घर्षणबीच मौलाउँदो उग्रराष्ट्रवादको चेपुवामा
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारी शासनशैली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अवसरवादी राजनीतिक चरित्रबीचको घर्षणमा मौलाउँदो उग्रराष्ट्रवादको चेपुवामा पर्दै गएको अमेरिकी सहयोग परियोजना एमसीसीमा पछिल्लो समय भूराजनीतिक छायाँ पर्न थालेको छ। –किरण नेपालको टिप्पणी।
२. के थिइनन् अङ्गुरबाबा ?
११ वर्षको उमेरमै बुहारी बनेकी अङ्गुरबाबा आईए पास नगर्दै आमा बनिन् । सन्तानहरुलाई सासू र आमाको जिम्मामा छाडेर शिक्षालाई पहिलो ध्येय बनाएकी उनी अन्ततः नेपालकै प्रथम महिला क्याम्पस प्रमुख बनिन् । नारी शिक्षाकी अगुवा बनिन् । तर, अनेक र्कीतिमानधारी उनले जहिल्यै आफूलाई साधारण नेपाली भनिरहिन् । ६ असारमा ८९ वर्षको उमेरमा निधन भएकी उनै अङ्गुरबाबा प्रति हिमालखबरको शब्दश्रद्धा।
३. यसकारण छैन सञ्चारमा महिलाको पहुँच
नेपाली समाजका अन्य संरचना जस्तै सञ्चारमाध्यम र समाचार कक्षमा पनि पुरुषवादी सोच र व्यवहार हावी छ । समाचार कक्षमा पुरुषका गलत कार्यशैली र व्यवहारका कारण महिलाहरू मूलधारे सञ्चारगृहमा लामो समय काम गर्न सक्दैनन्। सञ्चार जगतमा महिलाको अवस्थाबारे – मधु राईको टिप्पणी ।
४. महामारीमा यसरी खोल्न सकिन्छ विद्यालय
गएको २९ चैतदेखि बन्दाबन्दी खुकुलो पारेपछि मानव आवागमन पूर्णरूपमा खुलाइएको छ भने कार्यालय, कलकारखाना, व्यापार–व्यवसाय खुल्न थालिसकेका छन्। अभिभावकहरू काममा गई कैयौं मानिसको सम्पर्कमा पुगेर घर फर्कने अनि सँगै बस्ने बच्चाहरू विद्यालय नजाँदैमा जोखिमबाट सुरक्षित रहन्छन् भन्ने सोच व्यावहारिक नहोला। त्यसैले पनि अब महामारीबीच नै विद्यालय खोलिनुपर्छ । तर, निश्चित सुरक्षाका मापदण्ड भने अपनाउनैपर्छ । - डा. सन्तोष पोखरेलको टिप्पणी।
५. काठमाडौं भित्रिन पीसीआर परीक्षण गर्नु नपर्ने, १४ दिन होम क्वारेन्टिनमा बसिदिन सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका व्यक्ति बाहिरी जिल्लाबाट काठमाडौं भित्रिंदा पीसीआर परीक्षण गर्नु नपर्ने बताएको छ। तर बाहिरबाट काठमाडौं छिर्ने व्यक्तिलाई सम्भावित जोखिमलाई ध्यान दिंदै १४ दिन होम क्वारेन्टिनमा भने बसिदिन आग्रह गरेको छ।
६. राष्ट्रिय विभूति अरनिकोको दुर्लभ चित्र नेपालमै
सन् १२६० मा चीन सरकारको निम्तोमा ८० जना कलाकारको नेतृत्व गर्दै कोदारीको बाटो हुँदै महीनौं लगाएर अरनिको चीन प्रस्थान गरेका थिए । चीनमा उनको अद्वितीय कलाकारी क्षमताले सबै चकित परे । अन्वेषक मीनबहादुर शाक्यले अनुसन्धानका क्रममा फेला पारेको र चीनमा समेत नभएको अरनिकोले बनाएको दुर्लभ चित्रको प्रतिलिपि अब नेपालमै हेर्न पाइने भएको छ । - ज्ञानेन्द्र विवशको कला समीक्षा ।
७. नेपाली सेना : आर्थिक उल्झनबाट निस्किएर साख जोगाउने वेला
जब सेना आर्थिक कामसँग जोडिन्छ, व्यापारमा अल्झिन्छ, मूल विषयबाट स्वाभाविक रुपमा उसको ध्यान मोडिन्छ । कमजोर सेना हुँदा चाहिएको वेला र अह्राएको काम गर्न नसक्ने भएकाले नागरिक सर्वोच्चता पनि बलियो हुँदैन। त्यसैले सेनाले यसतर्फ ध्यान दिंदै ठेक्कापट्टाबाट हुने कामहरू सरकारले दिन खोज्दा लिन्नौं भन्ने हिम्मत सैनिक नेतृत्वले गर्नुपर्छ । यसबाट नै नागरिक सर्वोच्चतालाई अंगीकार गर्ने व्यावसायिक सेनाको छवि दुरुस्त रहन्छ। - विष्णु रिजालको टिप्पणी।
८. भूमि ब्याङ्कको नाममा किसानलाई घात, जमीनदारलाई साथ !
सरकारले बजेटमा जग्गाधनीबाट भाडामा लिएको जमीन, सरकारी स्वामित्वको उपयोगमा नरहेको जमीन तथा नदी नियन्त्रणबाट उकास भएको जमीन उपयोग गर्न चाहने व्यक्ति र संस्थालाई निश्चित समयसम्म भाडामा दिन ब्याङ्क स्थापना गर्न लागेको उल्लेख छ। तर, जानकारहरु भने भूमि ब्याङ्कको नाममा सरकारले जमीनदारको जग्गा संरक्षण गरिदिने र वास्तविक किसानलाई जमीनबाट बेदखल गर्ने प्रपञ्च रचेको आशंका गर्छन् । - रमेश कुमारको रिपोर्ट।
९. नेकपा स्थायी कमिटी बैठकको कार्यसूची: एमसीसीबारे छलफल अन्तिममा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। स्थायी कमिटी बैठक अगाडि शीर्ष चार नेता बसेर छलफलको अजेण्डा तय गरेका थिए। कार्यसूची अनुसार, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको शुरुमै आफ्ना धारणा पनि राखे। र बैठक शुक्रबारसम्मका लागि स्थगित भएको थियो । शुक्रबारको बैठकमा नआएका केपी ओली उपस्थित नहुँदा नेताहरूले आपत्ति जनाए भनेकुर्सी फेरिदा नेकपा बैठकमाताली बजाएका थिए । जारी बैठकमा आलोचित अध्यक्ष ओली शनिबार भने केहीबेरमै बाहिरिएका थिए।
१०. ‘छोरीलाई असमान व्यवहार गरेर राष्ट्रियता जोगिन्छ ?’
नेपाली पुरुषसँग विवाह गर्ने विदेशीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान समेटेर प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरी ७ असारमा प्रतिवेदन संसदमा बुझाएको छ। संसद्मा पुगेको नागरिकता विधेयकले अंगीकृत नागरिकतामा महिला र पुरुषबीच विभेद भएको भन्दै विरोधका आवाज उठिरहेका छन्। - लक्ष्मी बस्नेतको रिपोर्ट।
११. रुकुम हत्याकाण्डमा वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा र चार जनालाई धरौटीमा छोड्न आदेश
रुकुम पश्चिमको सोतीगाउँमा भएको सामूहिक हत्याको घटनामा जिल्ला अदालतले वडाअध्यक्षसहित २३ जनालई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । यसअघि नै २ नाबालकलाई अदालतले नै बाल सुधारगृहमा पठाउन आदेश दिएको थियो । न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएका चार जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । - प्रविर ददेलको सामग्री।
थप घटनामा श्रीमान् गुमाएका दुई कलिला किशोरीका पीडाबारे शुष्मा बरालीको रिपोर्ट ।
१२. ‘विश्वमाझ नेपाललाई कसरी प्रस्तुत गर्ने भन्नेमा ध्यान दिनुपर्छ’
पत्रकारिताबाट अन्तर्राष्ट्रिय ख्याति र पुरस्कार हात पारेकी नेपाली पत्रकार सुम्निमा उदासले १२ वर्ष ‘सीएनएन’ मा समाचार सम्प्रेषण र कार्यक्रम सञ्चालन गरेर बिताइन् । न्यूयोर्क, हङकङ, भारत लगायत विश्वका विभिन्न भागमा बसेर पत्रकारिता गरिन् । हाल नेपालस्थित लुम्बिनी म्युजियम इनिसिएटिभकी सहसंस्थापक एवं कार्यकारी निर्देशक सुम्निमासँग हामीले खासगरी पछिल्लो समय देखिएको लोकरिझ्याइँको मनोविज्ञानमा आधारित आमसञ्चारका विविध आयाममा केन्द्रित अन्तर्वार्ता ।
१३. जूम एपमा अनधिकृत हर्कत: प्रविधिको दोष कि मान्छेको ?
कोभिड १९ महामारीपछि उत्पन्न बन्दाबन्दीपछि र भौतिक दूरीको अनिवार्यतापछि एकाएक प्रयोग बढेको जूम एपमा अचानक अश्लील भिडियो, तस्वीर र अनावश्यक सामग्रीको हस्तक्षेपका घटना बढिरहेका छन् । साधारण मात्र होइन, मन्त्रीसम्मको भर्चुअल बैठकमा यस्तो समस्या देखिएको छ । तर, प्रविधिका जानकार गणेश आचार्य यसलाई एपका कारण नभई प्रयोगकर्ताकै असावधानीलाई दोष दिन्छन् र सावधानीका उपाय सुझाउँछन् । – गणेश आचार्यकाे टिप्पणाी
१४. बारा र सर्लाहीमा पसे सलह
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक महीना अघि नेपालमा सलह भित्रिने सम्भावनाको अन्त्य भएको घोषणा गरेको थियो। तर, शनिबार अचानक बारा र सर्लाहीमा सलह देखिएको छ र यो किराले बाली खान थालेको किसानले बताएका छन् । नेपालमा ६० वर्ष अघि सलह देखिएको र यसले काठमाडौं उपत्यकामा खाद्य संकट निम्त्याएको किसानको अनुभव छ। नेपाल भित्रिएको सलहको प्राकृतिक आचरणमा फरक, क्षतिको सम्भावना कम रहेकाे छ। – मुकेश पाेखरेलकाे रिपाेर्ट।