कुर्सी फेरिदा नेकपा बैठकमा ताली, प्रधानमन्त्री नआउँदा आपत्ति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अजेण्डागत छलफल शुरु भएको छ। बुधबार अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उद्घाटन मन्तव्य राखेर सकिएको बैठकमा शुक्रबारबाट अजेण्डागत छलफल शुरु भएको हो।
शुक्रबारको बैठक २० मिनेट ढिलोगरी अध्यक्ष दाहालले शुरु गरे। बैठक एघार बजे बोलाइएको भए पनि केहीबेर प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई पर्खिएको थियो। तर, महासचिव विष्णुप्रसाद पौडेलबाट प्राप्त जानकारी भन्दै अध्यक्ष दाहालले शुरु गरे।
केहीबेरमा आउने जानकारी गराइए पनि बैठकभर प्रधानमन्त्री अनुपस्थित रहे। खाजा खाने समय पछाडि मात्रै प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित रहनेबारे नेताहरुले थाहा पाएका थिए।
स्थायी कमिटीका एक नेताले भने, “प्रधानमन्त्री केहीबेरमा आउने भनेपछि सीमा समस्याबारे मात्रै कुरा भयो, खाजा खाइसकेपछि मात्रै नआउने जानकारी आएको थियो।” यसपछि भने स्थायी कमिटी नेताहरुले बालुवाटारमै बसेको बैठकमा प्रधानमन्त्री अनुपस्थित रहनुलाई गैरजिम्मेवारपनको संज्ञा दिएका थिए।
अष्टलक्ष्मी शाक्य र भीम रावलले प्रधानमन्त्री अनुपस्थित रहेको बैठकको औचित्यमाथि नै प्रश्न उठाए। यदि, प्रधानमन्त्री अनुपस्थित रहने हो भने बालुवाटार नभएर धुम्बाराहीमा बैठक बस्नुपर्ने माग उनीहरुले गरेका थिए।
गएको पुसमा सकिएको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए। स्वास्थ्य समस्या देखाएर अध्यक्ष ओली अनुपस्थित रहेको उक्त बैठक भने धुम्बाराहीमा बसेको थियो। त्यही बैठकले केन्द्रीय कमिटी बैठक बोलायो भने नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्ने निर्णय गरेको थियो।
कुर्सी फेर्दा ताली
प्रधानमन्त्री अनुपस्थित रहेको बैठकमा नेता रावलले कुर्सी व्यवस्थापनबारे प्रश्न उठाएका थिए। रावलले दुई अध्यक्षको कुर्सी फरक राखेर सामन्ती शैली पार्टीमा अपनाउन खोजिएको आरोप लगाए। रावलको तर्कमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन जनाएका थिए।
यसपछि अध्यक्ष दाहालले आफ्नो कुर्सी हटाएर अन्य नेताहरुकै जस्तो राखे। दाहालको कुर्सी हटाइएपछि प्रधानमन्त्री ओलीको कुर्सी समेत हटाइएको थियो।
दुवै कुर्सी हटाइए पछि भने अब सबै समान भइयो भन्दै बैठक हलमा ताली नै बजेको थियो।
बुधबारकै बैठकमा रघुजी पन्तले कुर्सी व्यवस्थापनबारे प्रश्न उठाएका थिए। तर, बुधबारको बैठकमा ओली र दाहालको कुर्सी अन्य नेताहरुको भन्दा फरक राखिएको थियो।
वार्ता नै विकल्प
शुक्रबारको बैठकमा नेपालको सीमा समस्या र समाधान छलफलको अजेण्डा बनाइएको थियो। उक्त अजेण्डामा शुक्रबार १८ जना नेताहरुले धारणा राखे। नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्ने सरकारको कार्य र संसदलाई नेताहरुले धन्यवाद दिएका थिए।
नक्शा जारी भइसकेपछि चाल्नुपर्ने कदमबारे नेताहरुले सुझाव पेश गरेका छन्। केही नेताहरुले सिमानामा पर्खाल र बार लगाउनुपर्ने सुझाव दिएका छन् भने केहीले निगरानी अपनाउनुपर्ने बताएका छन्।
अतिक्रमित भूमि फिर्ता र अब अतिक्रमण हुन नदिनेगरी कूटनीतिक वार्ता गर्नुपर्ने धेरैजसो नेताहरुले जोड दिएका छन्। परराष्ट्रमन्त्री रहेका प्रदीपकुमार ज्ञवालीले बैठकमा अतिक्रमित सीमा बारे सरकारले चालेको कदमबारे जानकारी दिएका थिए।
ज्ञवालीले जानकारी दिएपछि बोलेका नेताहरुले अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ भन्ने कुरा हतारो हुने बताए। स्थायी कमिटी सदस्य बेदुराम भुसालले अन्तर्राष्ट्रिय अदालतमा जाने कुरा अहिले नै आवश्यक नरहेको बताए। उनले भने, “बैठकमा धेरैजसो नेताहरुले कूटनीतिक तवरमा वार्ता नै अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्।”
सम्बन्धित समाचारहरूः