टिप्पणी सोमबार, असार ८, २०७७

यसकारण छैन सञ्चारमा महिलाको पहुँच

हिमालखबर

यसकारण छैन सञ्चारमा महिलाको पहुँच
स्केच: भानु भट्टराई

नेपाली समाजका अन्य संरचना जस्तै सञ्चारमाध्यम र समाचारकक्षमा पनि पुरुषवादी सोच र व्यवहार हावी छ । समाचारकक्षमा पुरुषहरूको गलत कार्यशैली र व्यवहारका कारण महिलाहरू मूलधारे सञ्चारगृहमा लामो समय काम गर्न सक्दैनन्।

मधु राई

सञ्चारकर्मी निर्मला शर्माले विभिन्न छापा र रेडियो पत्रकारिताको मूलधारे सञ्चारमाध्यममा १५ वर्ष आफ्नो सीप र ऊर्जा खर्चिइन् । १० वर्षदेखि भने उनी वैकल्पिक सञ्चारमाध्यममा क्रियाशील छिन्।

राष्ट्रिय मासिकमा कार्यरत एक जना बहिनी कहिलेकाहीं आफ्नो असन्तुष्टि पोख्छिन्। उनी भन्छिन्, “दिदी, १९/२० वर्ष काम गरियो, अहिले त पछुतो लागिरहेको छ।”

मसँग उनका लागि दिने निश्चित जवाफ छैन। कहिलेकाहीं भन्छु, “पत्रिकामा काम गरेर तपाईंले के कस्तो उन्नति प्रगति गर्नुभयो, त्यो सम्झनु र चित्त बुझाउनु, नभए छोडिदिनु। मन नपरी नपरी काम गर्नुहुँदैन।”

वैकल्पिक र मूलधारे सञ्चारमाध्यममा क्रियाशील यी दुई महिला सञ्चारकर्मीहरू प्रतिनिधि पात्र हुन्, जो यो क्षेत्रमा डटिरहेका छन् । पत्रकारिता विषय लिएर उच्चशिक्षा हासिल गर्ने महिला सञ्चारकर्मीहरूको संख्या सञ्चारमाध्यमहरूमा बढ्दैछ । तथापि पुरुषको तुलनामा मूलधारे सञ्चारमाध्यममा लामो समय पत्रकारिता पेशामा लागेर माथिल्लो तहमा पुग्ने महिला सञ्चारकर्मीको संख्या नगन्य छ।

लामो समय मूलधारे सञ्चारमाध्यममा आफ्नो ऊर्जाशील उमेर खर्चेका निर्मला शर्मा जस्ता धेरै कालान्तरमा वैकल्पिक सञ्चारमाध्यम रोज्न बाध्य छन् । पत्रकारितामा उच्चशिक्षा हासिल गरेका र मूलधारे सञ्चारमाध्यममा लामो अनुभव भएका महिलाहरूले वैकल्पिक सञ्चारमाध्यम रोज्नुको प्रत्यक्ष र परोक्ष कारणहरूमध्ये एउटा कार्यस्थलमा महिलामैत्री वातावरण नहुनु पनि हो । त्यसकारण बहुसंख्यक पुरुष भएका नेपाली सञ्चारगृहको सम्पादक महिला हुने कुरै भएन।

पत्रकारिता विषय लिएर उच्चशिक्षा हासिल गर्ने महिला सञ्चारकर्मीहरूको संख्या सञ्चारमाध्यमहरूमा बढ्दैछ । तथापि पुरुषको तुलनामा मूलधारे सञ्चारमाध्यममा लामो समय पत्रकारिता पेशामा लागेर माथिल्लो तहमा पुग्ने महिला सञ्चारकर्मीको संख्या नगन्य छ।

नेपाली सञ्चारकर्मीहरूको छाता संगठन नेपाल पत्रकार महासंघले सन् २०१७ मा गरेको अध्ययन अनुसार विभिन्न सञ्चारगृहहरूमा १३ हजार ५० जना पुरुष तथा २ हजार ३५४ महिला कार्यरत छन् । यी सञ्चारगृहले सबै वर्ग, लिङ्ग, समुदाय र जातजातिका लागि समुचित सञ्चार सामग्री सन्तुलित ढङ्गले प्रकाशन र प्रसारण गर्न सकेका छैनन् । त्यसको एउटा कारण महिलाहरू नेतृत्व तहमा नहुनु पनि हो।

विभेदमा परेका समुदाय नेतृत्वमा नहुँदा सञ्चारमाध्यमका भाषा पनि विभेदकारी हुन्छन् । यौनहिंसाका समाचारमा अतिरञ्जित भाषाले पीडित महिलालाई झनै निरीह रूपमा प्रस्तुत गर्दछ। मधेशी समुदायका व्यक्तिहरूको लवज माथि गरिने खिसी विशेष गरी टेलिभिजन कार्यक्रममा बढी देखिन्छ । यस्तै जातीय विभेदका घटनाहरूमध्ये रुकुम नरसंहारको पराकाष्ठासम्म पुग्दा समेत समाचारको मूल्य नदेख्नु समाचारकक्षको असमावेशी संरचनाले नै हो।

अमेरिकामा प्रहरी बर्बरताको कारण अश्वेत नागरिक जर्ज फ्लोइडको निर्मम हत्या भएको केही दिनपछि अर्का अश्वेत नागरिक रेसार्ड बु्रक्सको पनि हत्या भयो। ती दुई घटनापछि अहिले त्यहाँ दशकौंदेखि जरा गाडेर बसेको जातिवादले कसरी अश्वेत अमेरिकी समुदाय पछि पर्‍यो भन्ने बहस शुरू भएको छ।

साथै गौरवशाली इतिहास बोकेको अमेरिकी सञ्चारमाध्यमहरूले पनि अश्वेत अमेरिकी समुदायको विषयलाई दिन नसकेको प्राथमिकताबारे बहस शुरू भएको छ। यही बहसले अमेरिकी सञ्चारमाध्यम र सामाजिक सञ्जाल तातिएको छ । त्यहाँका सञ्चारमाध्यमहरूको असमावेशी संरचनामाथि चर्को आवाज उठ्न थालिसकेको छ। यस्तो बहस नेपाली सञ्चारमाध्यम र समाचार कक्षहरूमा अझै भएको छैन । यस्तो आत्मालोचना विना हाम्रो देशको सञ्चारजगत सही दिशामा अघि बढ्न सक्दैन।

अमेरिकामा प्रहरी बर्बरताको कारण अश्वेत नागरिक जर्ज फ्लोइडको निर्मम हत्या भएको केही दिनपछि अर्का अश्वेत नागरिक रेसार्ड बु्रक्सको पनि हत्या भयो । ती दुई घटनापछि अहिले त्यहाँ दशकौंदेखि जरा गाडेर बसेको जातिवादले कसरी अश्वेत अमेरिकी समुदाय पछि पर्‍यो भन्ने बहस शुरू भएको छ।

अधिकांश नेपाली मूलधारे सञ्चारमाध्यममा महिलालगायत सामाजिक सरोकारका अन्य विषयमा सकारात्मक सञ्चार सामग्रीहरूको पूर्णतया कमी छ । महिला शिक्षा, महिला स्वास्थ्य, बालबालिका सम्बन्धी सकारात्मक समाचार पनि ज्यादै कम छन् । केही समययता भने कतिपय छापा माध्यममा महिला लेखकका लेख फाट्टफुट्ट छापिन थालेका छन्। यस अर्थमा कछुवाकै गतिमा भए पनि लेखकका रूपमा महिलाहरूको उपस्थिति आशलाग्दो हुन थालेको छ।

तर, महिला लेखकका लेखको विषयलाई हेर्दा सम्पादकको पुरुषप्रधान सोच झल्कन्छ । महिलाले महिलाको विषयमा मात्रै लेख्नु अथवा महिला दिवस र तीजको वेला मात्रै उनीहरूको विचारलाई महत्व दिनु यसको उदाहरण हो । पुरुष सम्पादकहरूको महिला पाठक र महिला लेखक तथा समग्र महिलाका विषयप्रतिको संकीर्ण मानसिकताले गर्दा नेपाली सञ्चारमा समग्र महिलाको पहुँच पुगेको छैन।

त्यसैले यस्ता सञ्चारमाध्यमहरूले महिला पाठक, दर्शक र श्रोताहरूको संख्या बढाउने खाले सामग्री प्रकाशन र प्रसारण गर्न सकेको छैन । यस अर्थमा जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाहरूको विद्वत्ता र रुचिलाई नेपाली मूलधारे सञ्चारमाध्यमहरूले नजरअन्दाज गर्दै आएका छन् । पछिल्लो समय राजनीतिलगायत नेपालको हरेक क्षेत्रमा शिक्षित महिलाहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दैछ । तथापि शिक्षित महिलाहरूको पहुँच नेपाली सञ्चारमाध्यमहरूमा कसरी बढाउने भन्ने विषयमा सञ्चारगृहहरू संवेदनशील देखिंदैनन् ।

हामीकहाँ पनि महिला पाठकलाई लक्षित गरी अस्मिता महिला प्रकाशन गृहले धेरै वर्ष ‘अस्मिता’ मासिक पत्रिका प्रकाशन गर्‍यो। यसले महिलाका विषयमा सकारात्मक र खोजमूलक सामग्री प्रकाशन गरेको थियो । हाल अस्मिता पत्रिका बन्द छ।

छिमेकी मुलुक भारतमा वर्षौंदेखि महिला लक्षित गृहशोभा, गृहलक्ष्मी, मेरी सहेली र फेमिना जस्ता दर्जनौं पत्रिका प्रकाशित भइरहेका छन् । यस्तै महिला सम्बन्धी छापिएका कतिपय सकारात्मक तथा खोजमूलक समाचार सामग्रीले सरकारको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । वर्षौंदेखि यस्ता सञ्चार सामग्रीले महिला पाठक मात्रै जन्माइरहेका छैनन् कि महिला लेखकहरूको सामग्रीलाई समेत प्राथमिकता दिएर छाप्छन् । यी सामग्रीले छोरी बुहारीलाई समेत सञ्चार क्षेत्रमा भविष्य खोज्न अभिप्रेरित गर्दैछ।

हामीकहाँ पनि महिला पाठकलाई लक्षित गरी अस्मिता महिला प्रकाशन गृहले धेरै वर्ष ‘अस्मिता’ मासिक पत्रिका प्रकाशन गर्‍यो। यसले महिलाका विषयमा सकारात्मक र खोजमूलक सामग्री प्रकाशन गरेको थियो । हाल अस्मिता पत्रिका बन्द छ । तर, कान्तिपुर मिडिया ग्रुपले ‘नारी’ मासिक प्रकाशन गरिरहेको छ । यसले पनि सामाजिक सरोकारलगायत महिला सम्बन्धी सकारात्मक तथा खोजमूलक सामग्री प्रकाशित गर्छ। पछिल्लो समय यसले महिला पाठक मात्र हैन महिला लेखकहरू जन्माउने प्रयास पनि गर्दै आएको छ।

हिजो मूलधारे सञ्चारमाध्यमको माथिल्लो तहमा पुगेका कतिपय पुरुष सञ्चारकर्मी आज राजनीतिक विश्लेषक तथा लेखक बनेका छन् । तर, सामाजिक सरोकारका विषयमा कलम चलाउने महिला पत्रकारहरूमध्ये केहीले बाध्यतावश वैकल्पिक सञ्चारमाध्यम रोज्नु परेको छ।

तर मूलधारे सञ्चारमाध्यमहरूको प्राथमिकतामा भने घटना र व्यक्तिविशेष राजनीतिक सामग्री बाहेक अन्य विषय पर्दैनन् । विडम्बना भन्नुपर्छ, मूलधारे सञ्चारमाध्यमहरूले राजनीति सम्बन्धी समाचार र लेखलाई मात्रै बढी महत्व दिंदै आएको कारण सामाजिक सरोकारका विषयहरू ओझेलमा परेका छन्।

हिजो मूलधारे सञ्चारमाध्यमको माथिल्लो तहमा पुगेका कतिपय पुरुष सञ्चारकर्मी आज राजनीतिक विश्लेषक तथा लेखक बनेका छन्। तर, सामाजिक सरोकारका विषयमा कलम चलाउने महिला पत्रकारहरूमध्ये केहीले बाध्यतावश वैकल्पिक सञ्चारमाध्यम रोज्नु परेको छ। उनीहरूको सीप र ऊर्जा ओझेलमा पर्दै गएको छ । नेपाली सञ्चार जगतले महिला पाठक, श्रोता र दर्शकको संख्या बढाउन सामाजिक सरोकारलगायत महिला सम्बन्धी सकारात्मक र खोजमूलक सामग्री पस्कन जरूरी छ । यसो गर्न सके मात्र सञ्चारमा महिलाहरूको पहुँच बढ्दै जान्छ ।

याे पनि हेर्नुहाेस्– बालबालिकालाई अनलाइन शिक्षाको बोझ

 

 

प्रतिकृया दिनुहोस