मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
इलाम र बझाङमा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। चुनावका दिन मतदातालाई मतदान केन्द्रसम्म आउन सजिलो होस् भनी सार्वजनिक सवारीसाधन चलाउन मिल्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगको निर्णयमा भनिएको छ, ‘मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनका लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने।’
यसअघि मतदानको दिन सार्वजनिक यातायातका साधन चल्न दिने गरिएको थिएन। सुरक्षालाई ध्यानमा राखेर अत्यावश्यक सवारीसाधन मात्र चलाउने अनुमति दिने गरिएको थियो।
यससँगै उपनिर्वाचन हुने जिल्लासँग जोडिएका राष्ट्रिय र सहायक राजमार्गमा पनि सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ।