स्थायी कमिटी बैठक अघि चार नेता बीच भेटवार्ता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। तर, स्थायी कमिटी बैठक अगाडि शीर्ष चार नेता बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णुप्रसाद पौडेल बीच भेटवार्ता भएको छ। यो भेटवार्ताले स्थायी कमिटी बैठकमा भने केही ढिलो भएको छ। स्थायी कमिटी बैठक एघार बजे बोलाइएको थियो।
दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार, चार नेता बीच भेटवार्ता भइरहेकाले स्थायी कमिटी बैठकमा केही ढिलो भएको छ। यी चार नेता बीच स्थायी कमिटीको अजेण्डाकै बारेमा छलफल भएको छ। यसअगाडि दुई पटक स्थगित भएको स्थायी कमिटीको अजेण्डाबारे पूर्व जानकारी दिइएको छैन।
अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने भएकाले यो बैठकलाई विशेष मानिएको छ। नेकपाको आन्तरिक कलहका कारण संसदमा दर्ता भएको एमसीसी अगाडि बढ्न सकेको छैन। १७ असारभित्र एमसीसी बारे निर्णय लिइसक्नुपर्ने भएकाले यो स्थायी कमिटी बैठक महत्वपूर्ण हुनेछ।
गएको १५–१९ माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन कार्यदल गठन गरेको थियो। झलनाथ खनाल संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। तर, खनाल, भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदलमा समेत एकमत हुन सकेको छैन।
यसबारे सरकार र पार्टीबारे समेत बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। प्रधानमन्त्री ओलीले गएको ८ वैशाखमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याए पछि नेकपाभित्र असन्तुष्टि बढी देखिएको छ। प्रधानमन्त्री ओली इतरका नेताहरुले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद छोड्न ओलीलाई दबाब दिदै आएका छन्।