व्यक्तित्व आइतबार, असार ७, २०७७

के थिइनन् अङ्गुरबाबा ?

हिमालखबर

के थिइनन् अङ्गुरबाबा ?
अङ्गुरबाबा जोशी ।

बेलायतकाे अक्सफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गर्ने प्रथम नेपाली महिला को थिइन् ?*

नेपालकी पहिलो महिला क्याम्पस प्रमुख को थिइन् ?

नेपालमा पहिलो पटक महिलाका लागि गुरुकुल खोल्ने को थिइन् ?

२००४ सालमा प्रथम पटक एसएलसी परीक्षा दिने चार महिला साधना र साहना प्रधान, भुवनराज्यलक्ष्मी बाहेक चाैथाे महिला को थिइन् ?

२०१९ सालमा राजा महेन्द्रद्वारा गठीत चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र सदस्य महिला को थिइन्?

यी र यस्ता थुप्रै नेपालकी प्रथम र एकमात्र महिला सम्बन्धित प्रश्नको एउटै उत्तर थिइन्— अङ्गुरबाबा जोशी ।

उनै अङ्गुरबाबाको ८९ वर्षको उमेरमा ६ असार शनिबार निधन भयो ।

बुहारी शिक्षा
दीपकुमारी र पीताम्बरप्रसाद पन्तबाट साउन, १९८८ मा काठमाडौं, डिल्लीबजारमा जन्मिएकी अङ्गुरबाबाको ११ वर्षकै उमेरमा डिल्लीबजारकै १२ वर्षीय बलराम जोशीसँग विवाह भयो ।

छोरीले ‘पढ्न नहुने’ समाजमा अंगुरबाबाले बालखैमा भाइ र काकाका छोराहरूलाई पढाउन घरमै आउने गुरुबाट अक्षर चिनिन् । भाइहरू अंग्रेजी र दुई छोरीलाई हिन्दी पढाएपछि उनलाई पनि अंग्रेजी जान्ने इच्छा जाग्यो । त्यसपछि भाइहरूका किताब, कापी चोरेर अंग्रेजी सिक्न थालिन् ।

एक दिन शिक्षकले सोधेका प्रश्नमा भाइहरू जिल्ल हुँदा अंगुरबाबाले तत्काल सही उत्तर दिएपछि आमा चकित भइन् । र, त्यही दिनदेखि उनको अंग्रेजी सिक्ने बाटो खोलियो ।

भाइको ब्रतबन्धमा पण्डितले कसैलाई नभन्नु भनेर गायत्री मन्त्र सुनाए । उत्सुक अङ्गुरबाबाले भाइलाई फकाएर मन्त्रबारे सोधिन् । छोरीलाई निषेध भनिएको गायत्री मन्त्र पनि सिकिन् ।

सानै उमेरमा हलक्क बढेको जीउडालकी अङ्गुरबाबा बुबाका लागि फर्सी जस्तै थिइन् । बुबा सधैं चिन्ता गर्थे— यो फर्सीले के गरेर खाली !

पढ्न रुचि जाग्दै गएको उमेरमा विवाह भएपछि अङ्गुरबाबा छोरीबाट बुहारी बनिन् । तर, उनको सौभाग्य, उनी यस्ती एकल महिला सासू चन्द्रकुमारी जोशीकी बुहारी बनिन्, जो स्वयं म्याट्रिकसम्म पढेकी थिइन् । तर, परीक्षा भने दिन पाइनन् ।

१५ वर्षकै उमेरमा ६ महिने छोरो काखैमा हुँदा श्रीमान् बितेपछि चन्द्रकुमारीलाई आफू पढ्न नपाए पनि छोरोलाई जसरी हुन्छ पढाइछाड्ने हुटहुटी जाग्यो । पढ्छु भन्ने बुहारी पाएपछि उनी दंग परिन् । ‘घरको काम म गर्छु, तिमीहरू पढ’ भन्ने चन्द्रकुमारी अहिले १०६ वर्षमा हिंडिरहेकी छन् ।

सन् १९४८ मा अङ्गुरबाबार बलराम दुवैले एसएलसी उत्तीर्ण गरे । बुहारी अङ्गुरबाबा उलिनकाठमा परीक्षा दिन जान्थिन् । मेधावी बलराम एसएलसी बोर्ड टपर बने । त्रिचन्द्र कलेजले विज्ञान विषयमा भर्ना लिन नमानेपछि उनले प्राइभेट परीक्षा दिएरै आइए पास गरिन् । त्यतिवेला उनी पहिलो सन्तानको आमा बनिसकेकी थिइन् ।

सन् १९४८ मा अङ्गुरबाबार बलराम दुवैले एसएलसी उत्तीर्ण गरे । बुहारी अङ्गुरबाबा उलिनकाठमा परीक्षा दिन जान्थिन् । मेधावी बलराम एसएलसी बोर्ड टपर बने । त्रिचन्द्र कलेजले विज्ञान विषयमा भर्ना लिन नमानेपछि उनले प्राइभेट परीक्षा दिएरै आइए पास गरिन् । त्यतिवेला उनी पहिलो सन्तानको आमा बनिसकेकी थिइन् ।

बलराम स्नातक पढ्न बनारस जाने भए । तर, सासू चन्द्रकुमारीले बुहारीलाई पनि छोरासँगै बनारस जान कुनै रोकटोक गरिनन् । राजनीतिशास्त्र र संस्कृतमा बीएको अन्तिम वर्षमा उनी दोस्रो सन्तान छोरीकी आमा बनिन्। पहिलो छोरालाई सासू र छोरीलाई आमाको जिम्मा लगाएर उनी पुनः एमए पढ्न बनारस गइन् ।

सन् १९५४ मा एमए सिध्याएकी अङ्गुरबाबाले लगत्तै डिल्लीबजारकै पद्मकन्या क्याम्पसमा जागिर पाइन् ।

सन् १९५७ मा श्रीमान् बलराम कोलम्बो प्लान अन्तर्गत बेलायतमा विद्यावारिधि गर्न छनोटमा परे । तर, आवदेन त अङ्गुरबाबाले पनि दिएकी थिइन् । तर, महिला भनेरै उनलाई समुद्रपार पढ्न अनुमति नदिएको थाहा पाएपछि राजा महेन्द्रसँग सोझै भेटेरै विन्ती बिसाइन् ।

अढाइ वर्षकी अर्की छोरीसहित तीन सन्तानलाई घरमै छाडेर जोशी दम्पती बेलायत लागे । बलराम ग्लास्गो युनिभर्सिटीमा भौतिकशास्त्रमा विद्यावारिधि गर्न थाले भने अङ्गुरबाबा अक्सफोर्ड युनिभर्सिटीमा कानूनमा स्नातकोत्तर। एउटै देश भए पनि श्रीमान् फरक र आफू फरक ठाउँमा बसेर पढ्ने बाध्यता, कलिला सन्तानहरूको सम्झना—अंगुरबाबाका लागि यो जीवनकै कठिनतम क्षण थियो ।

तर, संघर्ष त सुदिनका लागि थियो । स्वदेश फर्कंदा बलराम प्रयोगात्मक आणविक भौतिकशास्त्रमा विद्यावारिधि गर्ने पहिलो नेपाली बने भने अङ्गुरबाबा स्नातकोत्तर (कानून) पहिलो महिला ।

२०१९ सालमा अङ्गुरबाबा पुनः पद्मकन्या क्याम्पसमा पढाउन थालिन् । १८ वर्षको अध्यापनमा उनी १२ वर्ष क्याम्पस प्रमुख बनिन्, नेपालको पहिलो क्याम्पस प्रमुख महिला । क्याम्पस प्रमुख महिला हुँदा उनले महिला शिक्षा उन्नयनमा थुप्रै उल्लेखनीय काम गरिन् । आफूले महिला भएरै विज्ञान विषय पढन नपाएको गुनासोलाई उनले क्याम्पसमा विज्ञान विषय राखेर थोरै भए पनि सन्तुष्टि लिइन् ।

यही समय हो, उनी संविधान मस्यौदा समितिको सदस्य बनेको, जसको प्रमुख हृषीकेश शाह थिए ।

राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यमा नियुक्त गरेपछि अध्यापन छाडेकी उनी राष्ट्रिय सेवा समन्वय समितिकी अध्यक्ष बनिन् । त्रिभुवन विश्वविद्यालय सञ्चालक समिति र प्राज्ञिक परिषद्को सदस्य पनि बनिन् ।

महिला संगठन काठमाडौंको नेतृत्वमा रहेर अङ्गुरबाबा महिला, बालबालिकाको शिक्षामा सक्दो सक्रिय रहिन् । आजको बौद्धस्थित तारागाउँ सांस्कृतिक पर्यटन केन्द्र निर्माणको थालनीताका अङ्गुरबाबा नै तारागाउँ विकास समितिको अध्यक्ष थिइन् ।

१० वर्षअघि अंगुरबाबाकै पहलमा चितवनको देवघाटमा महिलाका लागि स्थापित मुलुककै एकमात्र गुरुकुल हो जहाँ दलित विद्यार्थीलाई समेत वैदिक शिक्षा दिइन्छ । महिलालाई धर्मले नभई धर्मगुरुले विभेद गरेको बताउने अङ्गुरबाबा गुरुकुल आफ्नो जीवनको अन्तिम महत्वपूर्ण परियोजना भएको बताउँथिन् ।

अङ्गुरबाबा जोशी ।

असाध्य संघर्ष, सन्तोकको जीवन
१७ वर्षअघि अङ्गुरबाबाको घाँटीमा क्यान्सर देखियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगियो । त्यसपछि उनलाई स्तन क्यान्सर भयो । मुटुरोगका कारण पेसमेकरले ढुकढुकी सन्तुलनमा राख्नुपर्‍यो ।

छातिमा संक्रमणका कारण पछिल्लो ६ महीनादेखि निरन्तर अस्पताल धाइरहेकी उनको मृत्युको कारण भने स्ट्रोक बन्यो ।

बालखैमा थालेसिमिया माइनर रोगले सताइएकी अङ्गुरबाबालाई शरीरको दुखाइ एक हिसाबले असामान्य थिएन । तर, यी दुखाइलाई उनले सधैं स्वाभाविक रूपमा लिइन्। रोगका कारण उत्पन्न पीडालाई जीवनको पीडा ठानिनन्।

“धन्न मेरो यस्तो अनुहार दुलाहाले देख्नु परेन, उनले देखेको भए के सोच्ने थिए होलान्”, एक अन्तर्वार्तामा अंगुरबाबाले भनेकी थिइन् । दुलाहा डा.बलराम जोशीको २०५० सालमै निधन भएको थियो ।

१७ वर्षअघि अङ्गुरबाबाको घाँटीमा क्यान्सर देखियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगियो । त्यसपछि उनलाई स्तन क्यान्सर भयो । मुटुरोगका कारण पेसमेकरले ढुकढुकी सन्तुलनमा राख्नुपर्‍यो ।

निधनपूर्व झण्डै १० वटा रोगका औषधि नियमित सेवन गरिरहेकी अङ्गुरबाबा औषधिभन्दा पनि आत्मबलले सामाजिक कार्यमा सक्रिय थिइन् । महात्मा गान्धी र खप्तड बाबालाई जीवनको नैतिक आधार मान्ने उनी जीवनप्रति मात्र होइन कोही कसैसँग कुनै गुनासो नरहेको बताउँथिन् ।

२०१९ सालको संविधानकी मस्यौदाकारमध्येकी एक अङ्गुरबाबाको नयाँ संविधानमा देशलाई धर्मनिरपेक्ष भनिएकोमा भने विमति थियो । उनी धर्म र ‘रिलिजन’ शब्दको अर्थ एउटै नभएको र राज्यको धर्म नहुने धर्मनिरपेक्षतावादीको तर्कको खण्डन गर्थिन् ।

“सिस्टरको सहायतामा दिनको चारपटक औषधि खान्छु । एक घण्टादेखि डेढ घण्टासम्म फिजियोथेरापी गर्छु । एक मिनेट पनि हातमा किताब भएन भने छट्पटाउँछु”, एक वर्षअघि यही समय एक दैनिक पत्रिकामा अंगुरबाबाले भनेकी थिइन् ।

लेखपढमा उनको ध्यान आजीवन रह्यो । २०३१ सालमै कथासंग्रह कल्पना प्रकाशित गरेकी उनको लेखन बिमारमा झनै सक्रिय भयो । त्यसपछि नै उनले लेखेकी हुन्– क्यान्सरः वरदान, वृद्धा अवस्थाः जीवनको श्रीपेच र दीक्षा ।

सरकारबाट विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मान पाइसकेकी अंगुरबाबाले २०७१ सालमा जगदम्बा—श्री पुरस्कार पाइन् । पाटनढोकास्थित कमलमणि थिएटरमा आयोजित पुरस्कार अर्पण समारोहमा मदन पुरस्कार गुठीका तत्कालीन अध्यक्ष कमलमणि दीक्षितले बडो रोचक ऐतिहासिक संयोग सुनाए । दीक्षितले मन्तव्यमा भनेका थिए–

“आदरणीय विदूषी अङ्गुरबाबा जोशीज्यू, तपाईंलाई आज यस आयोजनामा स्वागत गर्न पाउँदा मलाई गौरवबोध भइरहेको छ किनभने तपाईंको उपस्थिति नै ऐतिहासिक भएको छ हाम्रा लागि ।

२०१३ सालको विज्ञानतर्फको मदन पुरस्कार तपाईंका श्रीमान् डा. बलराम जोशीलाई प्रदान गरिएको थियो । तर २०१४ सालको नौरथामा भएको सो पुरस्कार समारोहमा तपाईंहरू दम्पती नै बेलाइतमा हुनुभएकोले सो पुरस्कारको रौप्य प्रमाणपत्र र नगद डाक्टरसाहेबका मुमा चन्द्रकुमारी जोशीलाई रानी जगदम्बाले हस्तान्तरण गर्नुभएको थियो ।

त्यसको ५८ वर्षपछि उही रानीसाहेबका नाममा स्थापित पुरस्कार जगदम्बा—श्रीद्वारा आज हामी तपाईंमा सम्मान अर्पण गर्दैछौं । यसरी पति–पत्नीका नामका पुरस्कारहरू अर्का पति–पत्नीमै समर्पित गरेको उदाहरण संसारमा अन्त कतै छैन होला ।”

हुनसक्छ, अङ्गुरबाबाको जीवन संघर्षसँग जोडिएका यस्ता थुप्रै कीर्ति पछिल्लो पुस्ताले जान्न र बुझ्नै बाँकी छ।

आखिर के पो थिइनन् र अङ्गुरबाबा ?

* सच्याइएकाे ।

याे पनि पढ्नुहाेस्– अनि बन्दछ नयाँ नेपाल !

प्रतिकृया दिनुहोस