नेकपा स्थायी कमिटी बैठकको कार्यसूची: एमसीसीबारे छलफल अन्तिममा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। स्थायी कमिटी बैठक अगाडि शीर्ष चार नेता बसेर छलफलको अजेण्डा तय गरेका छन्।
कार्यसूची अनुसार, अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको शुरुमै आफ्नो धारणा राखेका छन्। दुई अध्यक्षले बैठकलाई सम्बोधन गरेपछि छलफलको विषय शुरु हुने नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए।
छलफलका विषयमा कोभिड महामारी रोकथाम, नियन्त्रण तथा उपचारबारे समीक्षालाई प्राथमिकता दिइएको छ। यसपछि लिम्पियाधुरा सहितको भूगोल समेटेर जारी नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शाबारे छलफल हुनेछ।
पार्टी एकीकरणको बाँकी काम टुंग्याउने विषय छलफलको तेस्रो विषयका रुपमा राखिएको छ। केन्द्रीय निकाय लगायत केही विषय नेकपामा टुंगिन बाँकी छ। जारी बैठकबाटै अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय हुने भएको छ। एमसीसीबारे छलफल बैठकको चौथो तथा अन्तिम कार्यसूचीमा राखिएको छ।
यसबाहेक अन्य विषयमा पनि छलफल हुनेछ। विशेषगरी एमसीसीबारे निर्णय लिइने भएकाले यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ। नेकपाको आन्तरिक असन्तुुष्टिका कारण आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा समावेश गरेर पनि एमसीसीबारे थप निर्णय हुन सकेको छैन।
तर, १७ असारभित्र एमसीसीबारे निर्णय लिइसक्नुपर्ने भएकाले स्थायी कमिटीमा छलफलको विषय बनाइएको छ।