काठमाडौं भित्रिन पीसीआर परीक्षण गर्नु नपर्ने, १४ दिन होम क्वारेन्टिनमा बसिदिन सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका व्यक्ति बाहिरी जिल्लाबाट काठमाडौं भित्रिँदा पीसीआर परीक्षण गर्नु नपर्ने बताएको छ। तर बाहिरबाट काठमाडौं छिर्ने व्यक्तिलाई सम्भावित जोखिमलाई ध्यान दिँदै १४ दिन होम क्वारेन्टिनमा भने बसिदिन आग्रह गरेको छ।
भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाउने गरेका गुनासा आइरहेका वेला मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो।
मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका आउने मानिसहरूलाई पीसीआर परीक्षण अनिवार्य चाहिने भन्दै अनावश्यक दबाब नदिन आग्रह गरे।
"बाहिरबाट आएकाले १४ दिन होमक्वारेन्टिनमा बस्नुपर्छ । त्यस अवधिमा लक्षण देखिए मात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्छ," उनले भने।
घरबेटीले पीसीआर रिपोर्ट लिएर मात्रै आउन भनेपछि पछिल्ला दिन दैनिक हजारको संख्यामा व्यक्तिहरू नमूना परीक्षणका लागि टेकु अस्पताल पुग्ने गरेका छन्।
स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालय मार्फत उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गृहले सबै जिल्ला प्रशासनलाई पत्राचार गर्दै स्वास्थ्य मन्त्रालयले गरेको आग्रह पालना गर्न निर्देशन दिएको छ।