कोरियाबाट फर्केका शिवको लोभलाग्दो ‘ड्रागन फ्रूट’ खेती
![कोरियाबाट फर्केका शिवको लोभलाग्दो ‘ड्रागन फ्रूट’ खेती](https://www.himalkhabar.com/uploads/posts/800X600/Dragon-Pic-1714107845.jpg)
१० वर्ष कोरिया बसेर फर्केका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रूट’ फलाउन थालेका छन्।
स्याङ्जाको वालिङ नगरपालिका-४, रत्नेथुम्काका थापाले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरिरहेको बताए। “दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरे पनि फुर्सदमा कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ,” उनले भने, “कोरियामा सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छु।”
कोरियाबाट ड्रागन फ्रूट खेती गर्ने संकल्पका साथ गाउँ फर्किएको उनले सुनाए। दुई वर्षअघि ३०० बिरुवा लगाएका थिए। त्यसबाट राम्रो उत्पादन भएपछि खेती विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएको उनले बताए।
“नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ,” उनले भने, “गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ। यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ।”
शुरूआतमा आफूले उत्पादन गरेको फलबारे बुझाउँदै हिंड्नुपरे पनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेको उनले बताए। जसले गर्दा बजारको समस्या नभएको उनको भनाइ छ।
उनी ड्रागन फ्रूट प्रतिकेजी ५०० रुपैयाँका दरले बिक्री गर्दै आएका छन्। अहिले त माग पनि बढ्दै गएको उनले बताए।
६ लाखको लागतमा व्यावसायिक खेती शुरू गरेका थापालाई ‘फार्म’ को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न तीन लाख रुपैयाँ उपलब्ध गराएको छ। वडा कार्यालयले पनि सिंचाइका लागि सहयोग गरेको उनले बताए।
ड्रागन फ्रूटसँगै खाली रहेको जमीनमा कोरियाली साग (फेछु) र चिनियाँ साग पनि लगाएका छन्। “ड्रागन फ्रूटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ,” थापाले भने, “तीन-तीन महीनामा साग बेचेर एक लाख रुपैयाँ आम्दानी गर्दै आएको छु।”
साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन्। उनले फार्ममा सेतोपातीको समेत व्यावसायिक उत्पादन गर्दै आएको बताए। काटेर सुकाएको सेतोपाती प्रतिकेजी १०० रुपैयाँका दरले बिक्री हुने गरेको छ। -रासस