बीउ जोगाउन सन्तानेश्वर डाँडामा रैथाने केरा
बीउ जोगाउन ललितपुरको सन्तानेश्वर डाँडामा २९ जातका रैथाने केराका बिरुवा रोपिएका छन्।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (राष्ट्रिय जीन ब्यांक)ले देशका विभिन्न जिल्लाबाट ल्याइएका केराका बिरुवा गोदावरी नगरपालिका-१३ स्थित सन्तानेश्वर कैलाश पर्वतमा स्थापित कृषि वंशाणु आरक्षस्थलमा रोपिएका हुन्। १० जिल्लाबाट ल्याइएका २९ जातका ९५ बोट रैथाने केरा रोपिएको जीन ब्यांकका बालकृष्ण जोशीले बताए।
नेपालमा अनुसन्धान तथा उन्नत जात विकासका लागि करीब ९५ प्रतिशत कृषि आनुवंशिक स्रोत विदेशबाट आउने र नेपालको करीब पाँच प्रतिशत रैथाने कृषि जैविक विविधता मात्र अध्ययन तथा अनुसन्धानमा प्रयोग भइरहेको जोशीले बताए। त्यसैले नवलपुर, अर्घाखाँची, उदयपुर, धादिङ, पाल्पा, गुल्मी, गोर्खा, तनहुँ, काभ्रेपलान्चोक र ललितपुरमा पाइने रैथाने केराका बिरुवा संकलन गरेर रोपिएको उनको भनाइ छ।
नेपालमा पाइने २४ हजार ३०० प्रजातिमा कृषि आनुवंशिक स्रोत ६ हजार ६१८ छन्। ती स्रोत खाद्य बाली, घाँसे बाली, पशपुन्छी, कीटजन्य, सूक्ष्म जीवाणु र जलीय आनुवंशिक रहेको जोशीले बताए।
रैथाने प्रजाति जोगाउन जीन ब्यांकले सन्तानेश्वर डाँडामा कृषि वंशाणु आरक्षस्थल स्थापना गरेको छ। सरकारले २०७९ सालमा बाली, घाँसे बाली, पशुपन्छी, जलीय, कृषिकीरा र कृषि सूक्ष्म जीवाणुको संरक्षण तथा प्रवर्द्धन गर्न वंशाणु आरक्षस्थल बनाउन शुरू गरेको थियो। हालसम्म चार ठाउँमा कृषि वंशाणु आरक्षस्थल स्थापना भइसकेको छ।
वंशाणु आरक्षस्थलमा सन्तानेश्वर कदली (केरा) पदमार्ग तयार गरिएको छ। त्यही क्षेत्रमा रैनाथे केराका बिरुवा रोपिएको उनले बताए।