कृषि औजार कारखानामा १० प्रकारका कृषि औजार निर्माण
तीन दशकदेखि बन्द भएको वीरगन्जस्थित कृषि औजार कारखानामा १० प्रकारका कृषि औजार बनाइएका छन्।
राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिएपछि कृषि औजार बनाएको हो। हाल १० प्रकारका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनीयर अरुण साहले बताए।
धान रोप्ने सानो मशिन, घाँस खुर्किने, ड्याङ बनाउने मशिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मशिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मशिन तयार भएको साहले बताए। यी औजार तथा उपकरणको मूल्य निर्धारण गर्न बाँकी छ।
इन्जिनीयर साहले तीन चरणको अथक मिहिनेतपछि उपकरण बनाउन सफलता मिलेको बताए। केन्द्रमा कार्यरत मेकानिकल इन्जिनीयरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ। हाल केन्द्रमा १५ जना कार्यरत छन्।
सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो। केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो। -रासस