कला/साहित्य आइतबार, जेठ १८, २०७७

पोखरा: पानीरङकाे पाठशाला

ज्ञानेन्द्र विवश

पोखरा: पानीरङकाे पाठशाला
कलाकार रमेश श्रेष्ठकाे चित्र ।
ज्ञानेन्द्र विवश

कलाकार दुर्गा बरालले पोखरामा पानीरङको ‘पाठशाला’ नै विकसित गरे । त्यसैले पोखरालाई धेरैले ‘स्कूल अफ वाटरकलर’ पनि भन्ने गरेको पाइन्छ । सोही पाठशालाबाट प्रशिक्षित कलाकारहरू नै आज राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएका छन् ।

पोखरामा पानी परिरहन्छ । पोखरा प्रायः भिजिरहन्छ । तसर्थ पोखराको वातावरण नै पानीरङमा लत्पतिए झैं लाग्दछ । पानीरङको विशेषता भन्नु नै पारदर्शी, सुन्दर, शान्त र शीतल हुनु हो । सिर्जनशील कलाकर्मीहरूका लागि यसरी प्रकृति नै चित्रमय दृश्यमा प्रस्तुत भइदिंदा सिर्जनाको भोक जागृत हुनु स्वाभाविक हुन्छ । पानीरङमा पोखराबारे केही चर्चासँगै पोखरेली आँगनका सिर्जना र सौन्दर्य यहाँ प्रस्तुत छ ।

पानीरङमा पोखराले प्राकृतिक सौन्दर्यहरूलाई कलापारखी समक्ष पेश गरेको बीसको दशकदेखि हो । यस कार्यमा सर्वप्रथम ७७ वर्षका वरिष्ठ व्यङ्ग्य चित्रकार दुर्गा बराल (वात्स्यायन) को नाम अगाडि आउँछ । उनै बरालले पोखराको भौगोलिक पहिचानलाई ‘पानीरङमा पोखरा’ को सार्थक चिनारी दिने अभियानको अगुवाइ गरेका हुन् । सोही दशकमा ‘इगल आई स्टुडियो’ मार्फत उनले पानीरङमा पोखराका प्रकृति परिदृश्यहरूलाई आकर्षक रूपमा चित्रमा उतार्न थाले ।

कलाकार दुर्गा बराल (बात्सायन) काे चित्र ।

यसरी पानीरङमा बगेका सुन्दर दृश्यहरूमा कलाप्रेमी मनहरू आकर्षित हुनु स्वाभाविक थियो । सिकारु कलाकारहरू पनि क्रमशः लोभिन थाले । कलाकार बरालले तत्पश्चात् नै पोखरालाई वास्तविक पानीरङको पोखरामा परिचित गराएका हुन् । जहाँ पोखरेली कलाकारहरू यादवचन्द्र भुर्तेल, राधेश्याम मुल्मी, आलोक गुरुङ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, एल.पी गुरुङ, विश्व शाक्य, हरेराम जोजू, महेन्द्र राजभण्डारी, डिराम पाल्पाली, रमेश श्रेष्ठ, केदार पालिखे आदि कलाकारहरू पनि संलग्न भए । उनीहरूले पानीरङमा आफूलाई चित्रित गरे ।

कलाकार दुर्गा बरालले पोखरामा पानीरङको ‘पाठशाला’ नै विकसित गरे । त्यसैले पोखरालाई धेरैले ‘स्कूल अफ वाटरकलर’ पनि भन्ने गरेको पाइन्छ । सोही पाठशालाबाट प्रशिक्षित कलाकारहरू नै आज राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएका छन् । बरालकै पानीरङ पाठशालाबाट प्रेरित र प्रभावित तथा प्रशिक्षित भएका हुन् । आज पनि पोखरेली चित्रकारले बनाएका विशेषतः पानीरङका चित्रहरूमा प्रकृतिको ताजा र पृथक् बान्कीको दृश्यावलोकन गर्न सकिन्छ ।

ती दिनको सम्झना सुनाउँदै बरालकै चेला चित्रकार प्राज्ञ बुद्धि गुरुङ भन्छन्, “उहाँले हामी जस्ता नयाँ पुस्ताका कलाकारहरूलाई चित्र बनाउन र रङ भर्न सिकाउने गर्नुहुन्थ्यो । पोखरा वरपरका सुन्दर गाउँघर, हिमाली दृश्यहरूको भ्रमण र तिनको चित्र बनाउने अभ्यास गराउनुहुन्थ्यो । यस किसिमको निरन्तरको काम, प्रोत्साहन र प्रेरणाले नै पानीरङमा पोखराको चिनारी हुनसकेको हो जस्तो लाग्छ।”

२०२७ सालमा पोखरामा तत्कालीन नेपाल ललितकला संस्था (नाफा) को शाखा कार्यालयको स्थापनापछि त कलाको गतिविधिमा निकै वृद्धि हुन थाल्यो । २०३६ सालमा सोही संस्थाको आयोजनामा पोखरामा बृहत् कला प्रदर्शनी भयो । सो प्रदर्शनीमा तत्कालीन कुलपति लैनसिंह बाङ्देल, अमर चित्रकार, उत्तम नेपाली, शशि शाह, विजय थापा आदि वरिष्ठ कलाकारहरूसँगै पोखरेली कलाकारहरूको कला प्रतिभालाई सार्वजनिक गर्न र राष्ट्रिय रूपमा चिनाउन ठूलो मद्दत गर्यो ।

याे पनि हेर्नुहाेस्– नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

कलाकार यादवचन्द्र भुर्तेलकाे चित्र ।

पोखराकै विशेषता बोकेर प्रतिनिधि पोखरेली चित्रकारहरूले स्थानीय जीवनशैलीका साथ फेवातालको आँगनमा चोबलिएको माछापुच्छ्रेलाई पानीरङमा तैर्याएर दृश्यचित्रको सौन्दर्य उद्घाटित गरिदिएका थिए । त्यहाँदेखि आजसम्मको कला साधना र कला सिर्जनामा पोखराले धेरै प्रतिभा जन्माइसकेको छ । वरिष्ठ कलाकारहरूले आफ्नो स्थापित उँचाइ वरण गरिसकेका छन् । नयाँ पुस्तामा पनि पानीरङको परम्परागत प्रभाव र प्रस्तुतिले झन् नवीनता भित्रिरहेको देखिन्छ ।

यसैगरी २०३४ सालमा कलाकार यादवचन्द्र भुर्तेलले ‘फाइन आर्ट ग्यालरी’ खोले । यस ग्यालरीको मुख्य ध्येय चित्रकलाको बिक्री र कला शिक्षा दिनु थियो । भुर्तेल स्वयं कुशल कलाकार भएको हुँदा उनले त्यसताका बुद्धि गुरुङ, हरेराम जोजू, महेन्द्र राजभण्डारी, डिराम पाल्पाली लगायतलाई पानीरङमा चित्रकला सिकाउने काम गरे । उक्त फाइन आर्ट ग्यालरीलाई पछि बुद्धि गुरुङसँग मिलेर पुरानो शिल्पी समूह हुँदै पोखरा कलाकार समूह २०४५ सालसम्म कला शिक्षामा केन्द्रित रहेको भुर्तेल बताउँछन् ।

भुर्तेल भन्छन्, “मेरा गुरु रामानन्द जोशीको पानीरङमा देश–दर्शन अभियानबाट म प्रभावित छु । पोखराका अधिकांश कलाकार मेरा चेला हुन् । आज मलाई अत्यन्त गर्व लाग्छ कि मेरा चेला डिराम पाल्पाली, एनबी गुरुङ, सूर्य बराइलीहरूले पानीरङमा परिपक्व काम गर्दै आएका छन् । पानीरङमा बुद्धि गुरुङ, महेन्द्र राजभण्डारी र डिरामले निकै राम्रो काम गरेको म सम्झिन्छु । महेश आचार्य पनि राम्रो काम गर्थे । महिलामा सिर्जना राजभण्डारीले पनि त्यो वेला राम्रो काम गर्थिन् तर बिहेपछि उनको काम बन्द भयो ।”

कलाकार रामानन्द जोशीले काठमाडौंमा सन् ६० र ७० को दशकमा पानीरङद्वारा चित्ररचना गरी यसै विधालाई विशेष प्राथमिकता दिएर अन्य कलाकारहरूलाई पनि सिकाउँदै प्रोत्साहित गरेको कुरा पनि स्मरणीय छ । उनले बाहिरी स्थल अर्थात् प्रकृतिमा गई पानीरङबाट ‘ओपन–एअर पेन्टिङ’ को धेरै अध्ययन र अभ्यास गरे । यस्ता गुरुको चेला हुन पाएकोमा गर्व महसूस गर्दै उनको विशेष पानीरङ माध्यमप्रतिको स्वस्फूर्तता, आँट, बाहिरी स्थलप्रतिको गहिरो प्रेमबाट आफू सधैं प्रेरित र प्रभावित रहेको पनि कलाकार भुर्तेल बताउँछन् ।

यसैबीच २०४८ सालमा बुद्धि गुरुङले राजधानीको जे. आर्ट ग्यालरीमा पानीरङमा पोखराको झलक दिने सशक्त चित्रहरूको एकल प्रदर्शनी गरे । सो प्रदर्शनीले पोखरामा फस्टाउँदै गरेको पानीरङको दृश्यचित्रप्रति धेरैको ध्यानाकृष्ट भएको थियो । त्यसपछि २०५१ सालमा आएर राजधानीमा पोखरेली कलाकारहरूका पानीरङमा पोखराको कमाल प्रदर्शित भएको र त्यसले राजधानीका कलाकार, कलाप्रेमी र कला समीक्षकहरूमा पारेको प्रभावको पाटो स्मरणीय हुन आउँछ ।

सोही कलायात्राका सहभागी चित्रकार बुद्धि गुरुङका अनुसार उक्त प्रदर्शनीको आयोजनाले पोखराका कलाकारहरूको पानीरङको कामले देशव्यापी चिनारी पाउने मौका मिल्यो ।

उनी भन्छन्, “राजधानीवादले ग्रस्त भइरहेको समयमा मोफसलमा बसेर काम गर्नेहरूको कुनै परिचय नै थिएन । सोही प्रदर्शनीले हामी पोखरेलीहरूको चिनारी व्यापक रूपमा हुनसकेको थियो । त्यसको फलस्वरूप पानीरङमै काम गर्ने र नयाँ–नयाँ सिर्जनाबाट भिन्दै मौलिकता प्रस्तुत गर्ने प्रयत्न अझै कायम रहेको छ ।”

याे पनि हेर्नुहाेस्– पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

कलाकार बुद्धि गुरुङकाे चित्र ।

याे पनि हेर्नुहाेस्– कलामा आमा, आमामा कला

यसैगरी २०६२ सालमा हरेराम जोजूका ‘पूर्वीय शैलीका’ चित्रहरू पोखराको पिएसएम आर्ट ग्यालरीमा प्रदर्शनी गरिएको थियो । सो प्रदर्शनीका सबैजसो चित्र मसी र पानीरङबाट तयार पारिएका र ती सबै प्रकृतिपरक थिए । मूलतः पोखरेली कलाकारहरूका पानीरङ कलामा देख्न पाइने माछापुच्छ्रे, अन्नपूर्ण र ग्रामीण घरहरू मौलिक सिर्जना र बिछट्टै सुन्दर बान्कीका चित्रकला हुन् । तिनैले पोखराको सिर्जनात्मक सौन्दर्यलाई पानीरङमा उतार्दछ ।

पानीरङको कलामा लागेका कलाकारहरूले वेलाबखत स्वदेशमा मात्रै होइन विदेशमा समेत एकल र सामूहिक कला प्रदर्शनीको आयोजना गर्दै आएका छन् । त्यसमध्ये २०५२ सालमा कोरियामा नेपालका पाँचजना वरिष्ठ चित्रकारका पानीरङ कला प्रदर्शनी भएको थियो । नेपालको प्राकृतिक र सांस्कृतिक स्वरूपलाई कलामार्फत ती कलाकारहरूले प्रस्तुत गरेका थिए ।

सहभागी पोखराका कलाकार यादवचन्द्र भुर्तेल, बुद्धि गुरुङ, हरेराम जोजू थिए । काठमाडौंबाट के.के. कर्माचार्य र वीरेन्द्रप्रताप सिंह । हुन त, कोरियामा थुप्रै नेपाली कलाकारहरूका एकल र सामूहिक रूपमा पानीरङका चित्रकलाको प्रदर्शनी हुँदै आइरहेको छ । सन् २००७ मा कोरियामा भएको ‘पानीरङको कला कार्यशाला’ मा पोखरेली हरेराम जोजू नेपालको तर्फबाट सहभागी भएका थिए ।

आज नेपाली कलामा पानीरङका कला भन्नासाथ पोखरेली कलाकारहरूको नाम आउँछ । र, त्यसले छुट्टै प्राकृतिक सौन्दर्यीकरणको मिठास प्रस्तुत गर्दछ । पोखराले जन्माएका र पानीरङमा पोख्त पहिचान निर्माण गर्न सफल चित्रकारहरूमा किरण रञ्जित, रमेश श्रेष्ठ, पदम घले, सञ्जय गुरुङ, राजदोर जोशी, सूर्य बराइली, विश्वराज पराजुली, सुनिल सिग्देल, इशान परियार आदि छन् ।

याे पनि हेर्नुहाेस्– नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

याे पनि हेर्नुहाेस्– कलामा जात्रा: पृथ्वीनारायण शाहलाई जीवित देवी कुमारीको टीका

 

प्रतिकृया दिनुहोस