नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बेइजिङ चलचित्र महोत्सवमा छनोट
नेपाली चलचित्र गाउँ आएको बाटो बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औं संस्करणमा छनोट भएको छ।
विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भई प्रिमियर गरिएको चलचित्र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट भएको हो। नवीन सुब्बाले निर्देशन गरेको गाउँ आएको बाटो दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको छ।
राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ। निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको बताए। “गाउँमा सडक आएपछि बाबु-छोराका सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरेका छौं,” निर्देशक सुब्बाले भने, “हाम्रो कथालाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चासो दिनु गौरवको विषय हो।”
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ वैशाख ७ देखि १० सम्म (१९ देखि २२ अप्रिलसम्म) चल्नेछ।
निर्देशक सुब्बाले निर्देशन गरेको पहिलो चलचित्र खाङ्ग्री पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो। यसअघि उनले निर्देशन गरेको नुमाफुङ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्को लगायत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको थियो।
गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बाले अभिनय गरेका छन्। महेश राई र निर्देशक सुब्बाले लेखेको चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले र हेडी लीले संगीत दिएका छन्। यो चलचित्रको नेपाल प्रदर्शन जेठ १८ गते तय गरिएको छ।