कला/साहित्य आइतबार, जेठ ४, २०७७

पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

ज्ञानेन्द्र विवश

पानीरंगकाे नेपाली कला:  इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे
धनबहादुर चित्रकारकाे चित्र ।

आजभन्दा लगभग डेढ, दुई सय वर्ष अगाडि नै पानीरङमा विकसित भइसकेको नेपाली चित्रकलाले आजसम्म प्रगतिको उँचाइ हासिल गरिसक्नुपर्ने हो । विश्व कलाजगतलाई समेत प्रभावित पार्न सक्ने शक्ति र सामर्थ्य देखाउन सक्नुपर्ने हो । तर हाम्रा कलाकारले आफ्नै श्रम र सीपद्वारा आफ्नै घर–कोठाभित्र सीमित परिवेशमा सिर्जना गरेका ती अमूल्य सिर्जनाले व्यापकता हासिल गर्ने अवसर कहिल्यै पाउन सकेनन् ।

ज्ञानेन्द्र विवश

नेपाली चित्रकलामा पानीरङको परम्परा, प्रभाव र प्रस्तुति कलात्मक पारदर्शीपनको एक अनुपम उदाहरण हो । तथापि चर्चा, अभिलेख र चिनारीको अभावमा यस विषयमा लेख्नु कठिन काम हो । वर्षौं अगाडिदेखि पानीरङमा नेपाली कलाको उपस्थिति कति र कस्तो थियो ? यो सामग्रीको ध्येय पानीरङमा नेपाली कला र कलाकारको अलिकति खोजी गर्नु हो ।

भक्तपुरको लायकुस्थित पचपन्नझ्याले दरबारभित्र रहेको भित्तेचित्रका बारे हामी धेरैलाई थाहा छ । जुन चित्र मल्लकालीन समयका राजा भूपतीन्द्र मल्ल स्वयम्ले बनाएका हुन् भनिन्छ । त्यस्ता भित्तेचित्रहरू भक्तपुरका धेरैका पुराना घरका भित्तामा देख्न सकिन्छ । जुन चित्र दुर्लभ हुन् तर संरक्षणको अभावमा हराएर गएका छन् । वंशगोपालस्थित नृपतिलाल प्रधानाङ्गको २०० वर्ष पुरानो घरमा पनि यस्ता प्राचीन भित्तेचित्र छन् । वि.सं. २०७२ को भूकम्पले कतिपय घर भत्किएपछि ती चित्रहरू पनि सुरक्षित रहेनन् ।

त्यसो त नृपतिलालकै वंशज बाजे पुस्ताका गोविन्दलाल प्रधानाङ्ग स्वयम् त्यो जमानाका एक कुशल चित्रकार थिए । उनले बनाएका पानीरङका चित्रको चर्चा यतिवेला सान्दर्भिक हुन्छ । आजभन्दा लगभग डेढ दुई सय वर्ष अगाडि भक्तपुरका विभिन्न मठ–मन्दिरमा उनले बनाएका चित्रकलाले तत्कालीन नेपालको अवस्थालाई समेत फर्किएर हेर्न मद्दत गर्छ । ती चित्रहरूमध्ये केही चित्रकृति भक्तपुर नगरपालिकाको मासिक पत्रिका ‘भक्तपुर’ का विभिन्न अङ्कमा पनि प्रकाशित गरिएको थियो । त्यसैगरी उनका समकालीन हुन् अथवा उनीभन्दा अगाडिका काजीमान कर्माचार्य भन्ने चित्रकारलाई त एकजना विद्वान्ले नेपालका ‘दोस्रो अरनिको’ भनेर लेखेका छन् ।

भाजुमान चित्रकार (बायाँ) र राजमानको चित्र ।

यसबाट त्यो समयमा उनले सिर्जना गरेका कलाकृतिहरू अवश्य पनि कलाकौशलले युक्त उच्चकोटिका नै थिए होलान् भन्ने अनुमान गर्न सकिन्छ । प्राप्त केही चित्रकलामा यी कलाकारको पानीरङमा परिपक्व शिल्पक्षमता प्रष्ट रूपमा अभिव्यक्त भएको पाइन्छ । तर उनका अन्य कला र उनकै बारे थप जानकारी पाउन सकिएको छैन । भनिन्छ, उनी संस्कृति र तान्त्रिक शक्तिका पनि ज्ञाता थिए । उनले बनाएका केही पानीरङ चित्रकलामा दृश्यसंरचना र रङ संयोजनको सुन्दर मिलन अत्यन्त कलात्मक लाग्दछ । ती चित्रहरूमा उनले त्यतिवेलै पानीरङको सन्तुलित पारदर्शीपन प्रस्तुत गरेको अनुभव आज पनि गर्न सकिन्छ ।

आजभन्दा लगभग डेढ, दुई सय वर्ष अगाडि नै पानीरङमा विकसित भइसकेको नेपाली चित्रकलाले आजसम्म प्रगतिको उँचाइ हासिल गरिसक्नुपर्ने हो । विश्व कलाजगतलाई समेत प्रभावित पार्न सक्ने शक्ति र सामथ्र्य देखाउन सक्नुपर्ने हो । तर हाम्रा कलाकारले आफ्नै श्रम र सीपद्वारा आफ्नै घर–कोठाभित्र सीमित परिवेशमा सिर्जना गरेका ती अमूल्य सिर्जनाले व्यापकता हासिल गर्ने अवसर कहिल्यै पाउन सकेनन् ।

अन्ततोगत्वा, व्यक्तिगत साधनाले सिर्जित कला व्यक्तिको अन्त्यसँगै तिनको अस्तित्व पनि अतीतकै गर्भमा विलीन भएर गयो । यसैगरी भक्तपुरकै शताब्दी पुराना अर्का कलाकार आशामदु चित्रकारको नाम पनि यहाँ उल्लेखनीय हुन आउँछ । यी चित्रकारले बनाएको भक्तपुरस्थित प्राचीन महेश्वरी मन्दिरको दुर्लभ चित्र पनि आफ्नो समयमा पानीरङद्वारा सांस्कृतिक सम्पदालाई सजीवताका साथ उतारेको देखिन्छ । उनको विषयमा पनि पर्याप्त जानकारी केही पनि पाउन सकिएको छैन ।

नेपाली कला जगतले समयको निकै लामो अन्तरालपछि थाहा पाएको चित्रकारको नाम हो राजमानसिंह चित्रकार । किनभने उनले बनाएका चित्रहरू नेपालमा देख्न सकिने स्थिति नै थिएन । उनका अधिकांश कलाकृतिहरू बेलायतमा रहेका छन् । त्यहाँको कला सङ्ग्रहालयहरूमा उनका कलाका साथै अन्य कलाकार र नेपालका धेरै पुरातात्विक वस्तुहरू रहेका छन् । हरिहरराज जोशी र इन्दु जोशी दम्पतीले बेलायतमै पाएका राजमानकृत कृतिलाई नेपाली जनमानससमक्ष ल्याई नेपाली कलाको नयाँ अध्याय प्रारम्भ गर्न मद्दत पुर्‍याइदिएको कुरा पनि यहाँ स्मरणीय छ ।

सोही पुस्तिकाका आधारमा हेर्दा राजमानसिंहको कलायात्राको कालखण्ड सन् १८२१ देखि प्रारम्भ भई १८५७ सम्म कायम रहेको देखिन्छ । तर उनको सक्रिय कलाजीवन १८२४–१८४३ सम्म रहेको थियो । त्यस समयमा उनले काठमाडाैं उपत्यकाका मठमन्दिर, चैत्य, स्थानीय जनजीवन, जनावर र चराचुरुङ्गीका चित्रकला पानीरङबाट सिर्जना गरेका थिए । त्यसैगरी उनले भारतको दार्जीलिङमा रहेर पनि धेरै कला रचना गरेका थिए ।

काजीमान कर्माचार्य (बायाँ) र गाेविन्दलाल प्रधानांगको चित्र ।

सन् १८४३ सालतिर उनी बेलायती राजदूत ब्रायन हड्सनको सहयोगीका रूपमा दार्जीलिङ पुगेका थिए । राजदूतको अवकाश जीवनमा उनले सहयोगीको भूमिका निभाउँदै धेरै कलात्मक चित्रण गरेका थिए । उनले बनाएका अधिकांश चित्र पानीरङका थिए । कलाकार भाजुमचा अर्थात् भाजुमानले युरोप जाने अवसर त्यत्तिकै पाएका थिएनन् । उनले पनि पानीरङलाई नै सिर्जनाको माध्यम बनाएर चित्र बनाएका थिए ।

खासगरी भाजुमानले नेपाली चित्रकलामा सर्वप्रथम पाश्चात्य कलाको शैली, रङ र प्रविधि भित्र्याएको कुरालाई बिर्सन मिल्दैन । अर्का कलाकार दीर्घमान आफूलाई चाहिने ब्रस, प्लेट र अन्य आवश्यक सामान आफैं तयार पार्दथे । कुन रङसँग अर्काे कुन रङ मिसायो भने कस्तो रङ बन्दछ भन्ने कुराहरूका विषयमा समेत लेखेका टिपोटहरू फेला परेको छ । दीर्घमान चित्रकारको बेलायत यात्रा सम्बन्धी दस्तावेज पनि इतिहासको अर्काे पाटो हो । उनले नेपालको व्यक्तिचित्र कलामा समृद्ध धरातल निर्माण गरे । त्यसैगरी उनले दृश्यचित्र कलामा पनि उत्तिकै सफलता हासिल गरेका थिए । त्यस्तै धार्मिकचित्र तथा पौभाकलामा समेत उनको दक्षता अत्यन्तै प्रबल थियो।

कलाका धरोहर हाम्रा पुर्खाहरू कृष्णमान चित्रकार, पे्रमलाल मानन्धर, टलकमान चित्रकार, पूर्णमान चित्रकार, मनबज्र बज्राचार्य आदिले पनि तत्कालीन समयमा बनाएका चित्रहरू परम्परागत शैलीका थिए र तिनको माध्यम पानीरङ नै थियो । ती चित्रहरू आज पनि हामी व्यक्तिगत सङ्ग्रहमा रहेका देख्न सक्दछौं, जुन चित्रकलामा लगभग सय, डेढ सय वर्ष पुरानो काठमाडौंका मन्दिर, बौद्धविहार तथा जनजीवनका चरित्र चित्रित भएको पाउन सकिन्छ ।

ती चित्रकलामा पानीरङको ताजा र चम्किलोपनको सुन्दर स्वरूपको पारदर्शी पहिचान अद्यापि देख्न सकिन्छ । आफ्नो जीवनकालमा परम्परागत नेपाली कलाको उत्थान र विकासमा उनीहरूले जीवन समर्पण नै गरे । तर तिनको निधनपछि हामीले तिनका प्रति सानो संवेदनाका शब्दभाव समेत व्यक्त गर्न कन्जुस्याइँ गर्‍यौं । यो हाम्रै लागि पनि लाजमर्दाे कार्य हो । यसैगरी त्यस समयमा परिश्रमी कलाकारहरू धेरै थिए । कतिपयको नाम आज पढ्न पाइन्छ । तर अधिकांश कलाकारका नामै पनि कहींकतै देख्न, पढ्न पाइँदैन ।

दीर्घमान चित्रकारको चित्र ।

त्यसमध्ये बखतमान चित्रकार, शिक्षासेवी चतुररत्न, मास्टर चन्द्रबहादुर मानन्धर आदिको नामसम्म हामीले सुनेका हौंला । सोही कालखण्डमा सक्रिय र सुन्दर कला सिर्जना गर्ने तुलसीबहादुर, पूर्णबहादुर, प्रेमलाल, धनबहादुर, इन्द्रबहादुर, रत्नबहादुर, लक्ष्मीबहादुर, गणेशबहादुर चित्रकार आदिको नामोनिशान कतै पाइँदैन । यी कलाकारहरूले त्यस समयमा धेरै उल्लेखनीय कलाकर्म गरेको कुरा नेपाली कला इतिहासमा आज बिरानो बनेर रहेको छ । तिनका बारे तथ्य कुरा पाउन पनि अब असम्भवप्रायः भइसकेको छ ।

त्यसमध्ये शिक्षासेवी परशुमणि चित्रकारको नाम पनि यहाँ उल्लेख गर्न सकिन्छ । उनले त्यस समयमा चित्रकार जातिलाई भेला गरी पठनपाठनका साथै कला रचनामा पे्ररित गरेका थिए । कलाकार हिरण्यध्वज जोशी, शिलु प्यारी कर्माचार्य, पूर्णदास मानन्धर जस्ता कलाकारहरूको नाम पनि यहाँ स्मरणीय हुन्छ । उनीहरूले पनि पानीरङका माध्यमबाट नेपाली जीवनका विविध पक्षलाई उतारेका थिए । कतिपय चित्रकारका नाम र काम त छैन अब तिनको वंश समेत रित्तिएको दुखद अवस्था छ ।

प्रतिकृया दिनुहोस