कला/साहित्य आइतबार, वैशाख २८, २०७७

नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

ज्ञानेन्द्र विवश

नेपाली कलाकारले कमाउँदैछन्  अन्तर्राष्ट्रिय ख्याति
कलाकारहरु लक्ष्मण श्रेष्ठ, डा. दीपक सिंखडा, र शैलेन्द्र महर्जन (पहिलाे लाइन), परमेश अधिकारी, ज्याेति दुवाडी, शाेभा वाग्ले र युवक तुलाधर ।
ज्ञानेन्द्र विवश

विदेशमा नेपाली कलाकारहरूको नाम र कामको कुरा गर्दा सर्वप्रथम लक्ष्मण श्रेष्ठको नाम आउँछ । उनी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारको सूचीमा पर्छन्।

भारतको मुम्बईमा दशकौंदेखि बस्दै आएका उनी वेलावेला नेपाल आउँछन् । यहाँका पहाड–पर्वत घुमेर फर्किन्छन् र चित्रमा तिनैको अमूर्त विम्ब उतार्छन् । पछिल्लो पटक उनी २०७० सालमा नेपाल आउँदा सिद्धार्थ कला दीर्घामा प्रतिनिधि चित्रहरूको प्रदर्शनी समेत भएको थियो ।

सिरहाको बस्तीपुरमा १९९८ सालमा जन्मिएका कलाकार लक्ष्मण त्रिचन्द्र कलेजमा पढ्दापढ्दै भागेर मुम्बई पुगेका थिए । पछि भारत सरकारको छात्रवृत्तिमा सर जे. जे. स्कूल अफ आर्टस्मा चित्रकलाको उच्चशिक्षा हासिल गरे । त्यसपछि उनी उतै बसे नेपाल फर्किएनन् ।

आफ्नो कलाबारे उनी भन्छन्, “मेरा चित्रहरू रङको निर्भीक प्रक्षेपण हुन् । नेपालका पहाडहरू मेरा चित्रका विषय हुन् ।

सन् १९६४ मा मुम्बईबाट काठमाडौंमा फर्किंदा त्रिचन्द्र कलेजमा उनले एकल कला प्रदर्शनी गरेका थिए । त्यस प्रदर्शनीले उनको कलायात्रालाई तमाम नेपाली कलाकार र कला पारखीबीच परिचित गराउन मद्दत गर्यो ।

फ्रान्स सरकारबाट नेपाल सरकारलाई प्राप्त कला अध्ययनको तीनवर्षे छात्रवृत्तिमा सोही वर्ष उनी छनोट भए । कलाको महानगर मानिने पेरिसमा उनले कलाको अझ गम्भीर र विस्तृत अध्ययन गर्ने सुनौलो मौका राम्ररी सदुपयोग गरे ।

अर्का कलाकार डा. दीपक सिंखडा अमेरिकास्थित क्यालिफोर्नियामा एशियन कलाको इतिहास पढाउँथे । तीसौं वर्षको प्राध्यापनपछि हाल उनले अवकाश पाएका छन् । २०२९ सालदेखि उनी उतै बस्छन् । सात वर्षअघि उनी नेपाल आएका थिए ।

भारतको बरोदाबाट ग्राफिक कलामा उच्चशिक्षा लिएका उनी पीएचडीका लागि अमेरिका गएका थिए । सन् १९७७ मा सिकागोमा पहिलो कला प्रदर्शनी गरेयता उनले खासै कला सिर्जनामा ध्यान दिनसकेका छैनन् । तथापि ४३ वर्षपछि भर्खरै एक्रेलिक माध्यममा चित्र बनाएको र सो चित्र नेपालमै प्रदर्शनी हुने उनी जानकारी दिन्छन् ।

त्यसैगरी अर्का कलाकार शैलेन्द्र महर्जन, जसले नेपालमा सार्कका लागि लोगो बनाएका थिए उनी पनि कला पढ्न कलाको महानगरी पेरिस पुगेको ३१ वर्ष बितिसकेको छ ।

कलाकार लक्ष्मण श्रेष्ठकाे कला ।

काठमाडौं ज्ञानेश्वर, कालोपुलका यी कलाकारले नेपालमा जनक शिक्षामा पनि काम गरे । किताबमा नमूना चित्र बनाए । नेपाल टेलिभिजनमा पनि काम गरे । थाहा छैन यता बसेको भए के हुन्थे ? तर उता गएर पनि उनले कलामै जीवन दिइरहेका छन् ।

उनको अनुभवमा अहिले सबै किसिमका शैली र माध्यमका चित्रकलाको सिर्जना हुन्छ । आफूले मूलतः मूर्तशैलीमा मानवीय आकृतिलाई नै आकार दिंदै आएको उनी बताउँछन् । 

कलाको ठूलो र महत्वपूर्ण शहरमा काम गर्नुको मजासँगै चुनौती पनि उत्तिकै छ । तथापि कला बिक्री गरेर जीवन धान्न सकिने स्थिति पेरिसमा पनि नभएको उनी स्वीकार्छन् ।

उनी भन्छन्, “आज अमूर्त, सुपररियालिष्टिक शैलीतिर मान्छे आकर्षित छन् । जति काम धेरै गर्न सकियो उति काममा नयाँपन ल्याउन सकिन्छ ।”

अग्रज कवि धरणीधर कोइरालाका नाति ज्योति दुवाडी क्यालिफोर्नियामा बस्छन् । २०२८ सालमा कला पढ्न अमेरिका गएका उनी त्यसपछि उतै बसे । वितेको एकदशकदेखि उनी नेपाल आएका छैनन् ।

नेपाल आउँदा कला प्रदर्शनीको आयोजना गरी भिन्न परिचय र प्रभाव उनी प्रस्तुत गर्दथे । उनले गर्ने कला भनेको नेपाली संस्कृतिको सन्निकट सिर्जना हो । जहाँ कोलाजको रूपमा उनी नेपाली कागजमा रुद्राक्ष, धातु, नाम्लो, डोको आदि प्रयोग गर्छन् । कहिले मानापाथी, कसौंडी जस्ता पुराना घरायसी सामानहरूका माध्यमबाट प्रतीकात्मक कलाको मौलिकता प्रदर्शन गर्छन् ।

उनको विचारमा कला आजका लागि मात्र होइन र कला पैसाकै लागि मात्र पनि बनाइनुहुँदैन । हाल रङ्गीन माटोको प्रयोग गरेर कला सिर्जना गरिरहेका उनी भन्छन्, “चाँडै जन्मभूमिमा फर्किएर कला प्रदर्शनी गर्ने योजना बनाइरहेको छु ।”

कलाकार युवक तुलाधर र उनकाे कला ।

कलाकार शोभा वाग्लेले पनि नेपाल छोडेको एकदशक वित्न लाग्यो । नेपालमा उनको परिचयको पाटो आफ्नै किसिमको थियो । कलामा मानव मस्तिष्कलाई अर्धअमूर्त शैलीमा उतार्ने उनको प्रयत्न नितान्त पृथक् लाग्थ्यो । भन्छिन्, “यता आएर केही काम त गर्दैछु तर यहाँ काम गरेर चिनिन सजिलो छैन । सबै किसिमको काम गर्ने कलाकारहरू छन् यहाँ । कन्सेप्सियल, मिक्स मिडियममा काम गर्न सामान छैन । त्यसैले एक्रेलिकमा उही ह्युमेन माइन्ड र सेन्सेसमा चित्र रचना गर्दैछु ।”

यता आएर नेपाललाई धेरै मिस गरिरहेको उनको अनुभव छ । कलामा त्यहाँ आफ्नै संसार थियो । यता आएपछि आफूले धेरै काम गरिरहनु परेको उनी बताउँछिन् । उनका लागि क्यानडामा स्थापित हुने एक संघर्ष पनि हो । तथापि उनको विचारमा कलामा जति मरिमेटे तापनि त्यसबाट खासै आर्थिक हैसियत कायम गर्न सकिने अवस्था अझै निर्माण हुनसकेको छैन ।

अर्का कलाकार युवक तुलाधरले पनि नेपाल छोडेको बीसौं वर्ष भइसकेको छ । उनी हाल क्यालिफोर्नियामा बस्छन् । भोटेबहालका यी कलाकारले पनि बनारसबाट कलाको उच्चशिक्षा हासिल गरेका थिए । उनी पनि कलाको थप खोजी र ख्यातिका लागि विदेशिएपछि नेपाल कर्म भूमि बन्न सकेन ।

कलाकार शाेभा वाग्लेकाे कला ।

नेपालमा उनको कलाकारिताको बेग्लै परिचय थियो । उनी केही वर्षदेखि नेपाली र तिब्बती जनजीवनका जीवन्त पक्षलाई आकृतिबद्ध गर्ने ध्याउन्नमा व्यस्त छन् । यसलाई उनले आफ्नो महत्वाकांक्षी योजनाका रूपमा लिएका छन् ।

भन्छन्, “मेरो यो काम भविष्यका लागि हो । यसअघि मैले बनाएका चित्रहरू कसले किन्यो र ती कहाँ पुगे ? केही थाहा छैन । तर यी चित्र आफ्नै समुदाय, समाज, जाति र समयका लागि हुने छन् । नेपाली डायस्पोरा चित्र, भिडियो र फोटोग्राफीले एक अभिलेख निर्माण गर्नेछ ।”

नेपालमा पहिलो प्रिन्ट मेकर परमेशकान्त अधिकारी पनि अमेरिकामै नाम, दाम र काममा व्यस्त भएको वर्षौं भइसकेको छ । अमेरिका जस्तो महासागरमा यी कुराको प्राप्ति सानो कुरा होइन ।

भारतको बीएचयूबाट पीएचडी गर्ने पहिलो नेपाली आफू भएको बताउँदै उनी भन्छन्, “अमेरिका बसेको ३१ वर्ष भइसकेको छ । त्यसबीच कलामा कति संघर्ष, कति काम, कति आर्थिक लाभ गरियो ? यसको हिसाबै छैन । तथापि कला जीवनको सौन्दर्य हो । कला विना कोही बाँच्न सक्दैन । कलामा अनेक आयाम हुन्छन् । यसले मानिसलाई खुशी र आनन्द प्रदान गर्ने क्षमता राख्दछ ।”

केशव मल्ल छात्रवृत्ति पाएर कला पढ्न फ्रान्स गएका थिए तर उनी नेपाल फर्किएनन् । नेपाल र आफ्ना परिवारसँगको नाता समेत तोडेर उतै बसेको पनि आधा शताब्दी बढी भइसकेको छ ।

नेपालमा एनिमेशन शुरूआत गरेका निर्मल शेरचन हाल अमेरिकामा व्यस्त छन् । अर्का कलाकार दिनेशचरण श्रेष्ठ पनि उतै बस्छन् । चित्रकला सिर्जनाका साथै हरेक हप्ताको एकदिन उनी क्यालिफोर्नियामा चित्र बनाउने र चित्रकला सिकाउने गर्छन् । त्यसैगरी विदेशमै बसेर कलामै ख्याति कमाउँदै गरेका अन्य कलाकारहरूमा योगन्द्र डंगोल, राजेन्द्र के.सी., विनोद श्रेष्ठ, सुनिला बज्राचार्य, लसता शाक्य, रुरु लम्साल, गोविन्द आजाद, रुमिना मैनाली आदि छन् ।

प्रतिकृया दिनुहोस