कला/साहित्य सोमबार, वैशाख २२, २०७७

कलामा जात्रा: पृथ्वीनारायण शाहलाई जीवित देवी कुमारीको टीका

हिमालखबर

कलामा जात्रा:  पृथ्वीनारायण शाहलाई जीवित देवी कुमारीको टीका
वरिष्ठ कलाकार हरिप्रसाद शर्माकाे चित्र ।

उपत्यकामा मनाइने जात्रा–पर्व आफैले एतिहासिक तथा सांस्कृतिक महत्व बाेकेकाे छ । त्यसलाई अझ ओझिलाे बनाउने काम गरेका छन्– हाम्रा कलाकारहरुले दुरुस्त चित्रमा उतारेर ।

ज्ञानेन्द्र विवश

कलामा जात्रा अर्थात् जात्रामा कलाको मिश्रण नेपाली संस्कृतिको एक अभिन्न अंग हो । हाम्रा कुनै पनि जात्रामा चित्रकला र मूर्तिकलाको उपस्थिति हुनै पर्दछ । अर्थ–अभिप्राय र रहस्य, रोमाञ्चकतासँगै नेपाली जनजीवनमा संस्कृति र कलाको अन्योन्याश्रित सम्बन्ध प्रगाढ रहिआएको छ।

यो वैशाख महीना त उपत्यका नै एक प्रकारले जात्रापर्वहरूका अनेक उत्सवहरूले मस्त र व्यस्त रहन्थ्यो । तर, यसपालि बन्दाबन्दीका कारण ती सबै बन्द हुन बाध्य बनेका छन् । यस आलेखमा यिनै जात्रा, संस्कृतिमाथि चित्रकला सिर्जनाकर्मका केही उदाहरणीय पाटोलाई संक्षिप्त रूपमा चर्चा गर्ने चेष्टा गरिन्छ।

चैत मसान्तदेखि वैशाख महीनाभरि काठमाडौं उपत्यकाका शहरदेखि काँठक्षेत्रसम्म अनेक देवदेवीका खटजात्राको रौनकले बेग्लै उत्सवको स्वरूप देख्न सकिन्थ्यो । त्यसमा पनि कान्तिपुरको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्राले शहर र टोलभरि ठूलो समूहमा जात्रालुहरूको भेला हुन्थ्यो । अनेक परम्परागत बाजागाजा, नाचगान र भजनकीर्तनको सांगीतिक प्रवाहले सबैजना जात्रामा झुमिरहेका हुन्थे ।

रातो मच्छिन्द्रनाथको जात्रा त महीना दिनभन्दा बढी समयसम्म निरन्तर चलिरहन्थ्यो । उता दोलखाको मच्छिन्द्रनाथ जात्राको उत्सव पनि उस्तै तामझामले हुने गर्दथ्यो । यता भादगाउँ, ठिमी र बोडेमा क्रमशः बिस्केट जात्रा, सिन्दूर जात्रा र जिब्रो छेड्ने जात्रा कम रोचक र रोमाञ्चक हुँदैनथे । यी केही प्रमुख जात्रासँगै उपत्यकाका अधिकांश नेवार समुदाय बसोबास रहेका स्थानहरूमा स्थानीय जात्राको भव्यता, धर्मकर्म र पूजापाठमा मानिसको समर्पण अनि सांस्कृतिक पर्वपरम्पराप्रतिको हार्दिक अनुष्ठान एक अनुपम संस्कृति हो ।

वास्तवमा जात्रामा सहभागीहरूको समग्र दृश्य नै अनेक र अनौठा रङहरूको एक अर्थपूर्ण कोलाज–कला हो । रङहरूको सुन्दर इन्द्रेणी मिलन हो । त्यसमाथि देवीदेवता, बाजागाजा, रथ र खटको उपस्थितिले आफैमा कलाको संरचना वरण गर्दछ । जहाँ धूपदीपको सुगन्ध र धुवाँ, झल्लरी छाता र सिन्दूर छर्किंदाको दृश्य कलात्मक प्रस्तुतिका लागि अर्को विषय खोज्नै पर्दैन ।

पूजाका थाली लिएर लस्करै हिँडिरहेका महिला समूह हुन् वा आ–आफ्नै परम्परागत भेषभुषामा सहभागी वा गुठी र देवतानुसारका फरक–फरक रङका लुगा लगाएका जात्रालुहरूको रूप नै पनि कला हो । यस्तो कलामय दृश्यलाई क्यानभासमा अझ सशक्तताका साथ उतार्ने कलाकारहरू हामीकहाँ धेरै छन् ।

नेपाली कलाजगत्मा जात्रा–संस्कृतिलाई नै मूल सिर्जनाको विषय बनाएर काम गर्ने कलाकारहरू त धेरै छैनन् । शृङ्खलाबद्ध कलाकर्म नगरे तापनि प्रायः कलाकारहरूले जात्रालाई चित्रमा उतारेका छन् । अघिल्लो पुस्ताका चन्द्रमानसिंह मास्के, दिलबहादुर चित्रकार तथा श्यामलाल श्रेष्ठ, राधेश्याम मुल्मी, सुरेन्द्र प्रधान आदि चित्रकारहरूले कलामा जात्राको चित्र बनाएका छन् । ती चित्रहरूले जात्राको रमझमसँगै तत्कालीन भेषभुषा र स्थानको संरचनालाई पनि एकसाथ प्रतिविम्बित गर्दै आएका छन् ।

सिंगापुरका प्रसिद्ध चित्रकार चान चाङ् हाउले बनाएकाे रातो मच्छिन्द्रनाथ जात्राकाे चित्र ।

वरिष्ठ वयोवृद्ध कलाकार हरिप्रसाद शर्माले संस्कृति, परम्परा, वास्तुकलामा अनेक कलारचना गरेका छन् । त्यसमध्ये काठमाडौं उपत्यका विजयपछि एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहले जीवित देवी श्रीकुमारीको हातबाट टीका थाप्दै गरेको दृश्य आफैमा एक अनौठो लाग्दछ । यसै सन्दर्भलाई लिएर इतिहासको एक जीवन्त र घटित यथार्थको पक्षमा शर्माले बनाएको चित्रकला अद्वितीय सिर्जना–सम्पदा नै हो ।

उनले निकै समय र श्रम लगाएर बनाएको उक्त चित्रमा तत्कालीन भाइभारदार, कान्तिपुर शहरका बासिन्दाहरू सबै जात्रामा श्रद्धाले झुमेका छन् । चित्रमा खटजात्रासँगै देवीदेवता, गुठियार, जात्रालुहरूको उपस्थिति अत्यन्त कुशल कलाकारितामा उतारेका छन् । मन्दिरै मन्दिरको शहर र जात्राको एक जीवन्त प्रस्तुतिलाई उनको चित्रले सशक्त रूपमा उतारेको छ । यसबाहेक शर्माले नवरात्री बाजा, खटजात्रा, भैरवजात्रा शीर्षकमा उत्तिकै कलात्मक चित्र बनाएका छन् ।

कलाकार शारदा चित्रकारले मच्छिन्द्रनाथको बाह्रवर्षे जात्राको अवसरमा कहिले पानीमा रुझ्दैभिज्दै, कहिले घाममा पसिना चुहाउँदै आफ्ना आराध्यदेवलाई पानीरङमा आकृतिबद्ध गरेकी थिइन् । उनको चित्रमा पानीरङको कुशलताले जात्राप्रतिको भक्ति मात्र होइन कि कलात्मक उचाइको एक सिर्जनात्मक कर्मलाई पनि उचाइमा पुर्‍याएको अनुभव गर्न सकिन्छ । यस शृङ्खलामा उनले बनाएका चित्रहरू रेखाचित्रमा पनि उस्तै सुन्दर छन् । यी चित्रहरूले हाम्रा सांस्कृतिक पर्वप्रतिको हार्दिक भावनालाई पृथक किसिममा व्यक्त गरेको अनुभव गर्न सकिन्छ ।

अर्का कलाकार रतनकुमार राईले जात्रा शृङ्खलामा रेखाचित्र बनाएर पुस्तक नै निकालेको यहाँ स्मरणीय हुन्छ । उनले रातो मच्छिन्द्रनाथ जात्राको अवसरमा बुङ्मतीदेखि जावलाखेल, पुल्चोक हुँदै लगनखेल र पुनः जावलाखेलसम्मको यात्रालाई रेखाचित्रमा उतारेका थिए । करुणामय रातो मच्छिन्द्रनाथको जात्रासँग सम्बन्धित ‘करुणामय’ शीर्षकमा उनको पुस्तक प्रकाशित छ । सो पुस्तकले रेखाचित्रको सबलता र कलाकारको समर्पित सिर्जना–साधनालाई साकार स्वरूप प्रदान गरेको देख्न सकिन्छ ।

कलाकार प्रदीप बज्राचार्यले एकताका जात्रा शृङ्खलामा प्रशस्तै कलासिर्जना गरेका थिए । जात्रासम्बन्धी एकल कलाप्रदर्शनीकै आयोजना गरी उनले नेपाली जात्रासंस्कृतिको समृद्ध झलक प्रस्तुुत गरेका थिए । अर्धअमूर्त शैलीमा एक्रेलिक माध्यमबाट सिर्जित ती सिर्जनाहरूमा जात्रामय कलाको एक अर्को भिन्न कृति सार्वजनिक गरेका थिए ।

कलाकार सुरेन्द्र प्रधानकाे चित्र ।

यस्तै पर्व, संस्कृति र संस्कारसँग गाँसिएर चित्र कोर्दै आएकी कलाकार रीता मानन्धरले चित्रकला प्रदर्शनीकै आयोजना गरेको सन्दर्भ पनि यहाँ स्मरणीय हुन्छ । ‘कल्चरल एक्सप्रेसन’ शीर्षकमा उनले रातो मच्छिन्द्रनाथ जात्राको पाङ्ग्रा र त्यसमा चित्रित भैरव आकृतिलाई प्रस्तुत गरेकी थिइन् ।

यसैबीच यहाँ अर्को प्रसङ्ग पनि उल्लेखनीय हुन्छ । सिंगापुरका प्रसिद्ध चित्रकार चान चाङ् हाउले नेपाल आएर बनाएका उपत्यकाका अनेक चित्रहरू छन् । त्यसमध्ये पनि एउटा विदेशीले नेपाल आएर बनाएको कलाकृति दुर्लभ हुनुका साथै विशेष महत्वको हुन्छ । उनले रातो मच्छिन्द्रनाथ जात्रामाथि केही सुन्दर चित्ररचना गरेका छन् । यसमा एकजना विदेशी कलाकारको पानीरङको परिपक्व कलाकारी सिर्जना देख्न सकिन्छ । आफ्नो समयको अत्यन्तै लोकप्रिय कलाकारका जलरङ कलाकृतिहरू आज पनि लाखौं रुपैयाँमा अक्सन हुने गरेका छन् । सन् १९४३ मा जन्मेका उनी सन् २०१६ मा दिवङ्गत भए ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको समयमा नेपाल आएका वेला कलाकार ओल्डफिल्ड हेनरी एम्ब्रुस (१८२२–१८७१) ले १८६५ मा कुमारी जात्राको चित्र बनाएका थिए । जात्राको दृश्य र हनुमानढोका दरबारको तत्कालीन दृश्य उनको चित्रमा देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस