कला/साहित्य आइतबार, जेठ ११, २०७७

नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

ज्ञानेन्द्र विवश

नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला
नेपाल–तिब्बत युद्ध, सुन्तागढी, केरुङ ।

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं

कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं

– राष्ट्रकवि माधव घिमिरे

ज्ञानेन्द्र विवश

वि.सं. २०१० तिर लेखिएको यो कविता आज पनि उत्तिकै सान्दर्भिक छ । देशको सीमा रक्षा र सार्वभौम सत्ता जोगाउन वीर गोर्खालीले जीवनदान दिएको इतिहास छ । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोध भइरहेको छ । भारतले नेपाली भूभाग समेत समेटेर नक्शामा राखेदेखि नै विरोध भइरहेको थियो । अहिले नेपाल सरकारले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पर्ने नेपाली भूभाग समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गरेको छ।

यसै क्रममा विगत अढाइ सय वर्ष अगाडि तत्कालीन भारत र तिब्बतसँग विभिन्न नाकाहरूमा भएका युद्धहरूले हाम्रो स्वाभिमान गौरवले उज्यालिन्छ । ती युद्धभूमिमा हाम्रा वीर पुर्खाहरूले ज्यानको माया नगरी देशको सीमा रक्षामा आफ्नो अमूल्य ज्यान बलिदान दिएका थिए । तिनै युद्ध र तिनमा कलाकारिताका केही उदाहरणीय विवरण दिनु यस लेखको कोशिश रहेको छ।

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्ध त्यसवेलाको नेपाल अधिराज्य र ब्रिटिश इष्ट इण्डिया कम्पनीबीच भएको थियो । जसको परिणामतः सुगौली सन्धि भएको थियो । सोही सन्धिपछि नेपालले आफ्नो एकतिहाइ भूभाग तत्कालीन बेलायत सरकारलाई सुम्पनु परेको विडम्बनापूर्ण इतिहास छ । नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि उक्त युद्धमा विशाल नेपालको भूमि गुमाउनुपरेको थियो । युद्धमा ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारले नेपालको मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल तथा नालापानीमा आक्रमण गरेको थियो।

सुगौली सन्धि हुनुअघि पूर्वमा दार्जीलिङ टिष्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो । यद्यपि आज यी क्षेत्र भारतका भूभागमा पर्छन् । नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन।

धमिलिंदै गएको तर कालजयी इतिहासलाई कलामा उतारेर विगतको बहादुरी कालखण्ड चित्रित गर्ने कलाकारको काम एक अभिलेखनको सग्लो सचित्र दस्तावेज पनि हो। त्यसका लागि हाम्रा कलाकारहरूले कति इतिहासका रगताम्मे विगत पढे । आँखाले भोक–प्यास र जिन्दगीभन्दा पनि राष्ट्रको सिमाना रक्षार्थ जीवन समर्पण गरे । ललितकलाको पृष्ठभूमि हेर्दा सामाजिक, सांस्कृतिक, प्राकृतिक, जनजीवन आदि अनेक विषयमा कला सिर्जना भएका छन्।

यसैसँग गाँसिएर युद्धको विषयमाथि पनि उत्तिकै प्रभावशाली र रगत तताउने चित्र बनेको पाइन्छ । विश्व कलाजगतलाई फर्किएर हेर्दा युरोपका कतिपय देशहरूबीच भएका लडाइँलाई लिएर कैयौं विश्वप्रसिद्ध कलाकारहरूले युद्धचित्र बनाएका छन् । तिनको चर्चाको पाटो वेग्लै हुन्छ । नेपाली समाजमा भने युद्धकलाको रचनात्मक प्रस्तुति भएको धेरै वर्ष भएको छैन।

कला: मिश्रीमान चित्रकार, केशरमान चित्रकारलगायत ।

मार्ने र मर्ने युद्ध मैदानको ती दर्दनाक दृश्यका भयावह दृश्यलाई कलामा कैद गर्न कलाकारहरूलाई सजिलो थिएन । त्यसका लागि उनीहरूले धेरै अध्ययन गरे । यस किसिमको ऐतिहासिक कालखण्डलाई कलामा उतार्ने महत्वपूर्ण जिम्मेवारी यट्खास्थित यट्खा आर्टस्का मिश्रीमान चित्रकारलाई दिइएको थियो । नेपाली सेनाको एउटै मात्र संग्रहालयका पहिलो संस्थापक निर्देशक तथा क्यूरेटर पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले उनलाई यो कामको जिम्मा दिएका थिए । जुन वेला उनी छाउनीस्थित मिल्ट्री म्यूजियमका निर्देशक थिए ।

उनका अनुसार वर्तमान सैनिक संग्र्रहालयका सम्पूर्ण तेलीय चित्रहरूको कल्पना गरी चित्रकारहरू मार्फत चित्रकला तयार पार्ने काम उनैले गरेका थिए । यसरी चित्रकलामा अभिलेखन गर्ने अभियान २०६१ सालतिर भएको थियो । सोही समय सम्झौता भई यो काम शुरू भएको थियो । यो ऐतिहासिक दस्तावेजलाई कलाका माध्यमबाट अभिलेखित गर्ने उद्देश्यले भएको कामलाई कम महत्व ठान्न सकिन्न।

डा. बस्न्यात भन्छन्– हाम्रा पुर्खाहरूको वीरतापूर्ण योगदानलाई जीवित राख्नका लागि चित्रकला मार्फत भावी पुस्ताले सम्झिन सकून् भनी यो काम गरिएको थियो । आर्मी म्यूजियमको संग्र्रहालयभित्रका सबै प्रदर्शनी कक्षको निर्माण मेरै योजनामा भएको थियो । जहाँ ती चित्रहरू राखिएका छन् । त्यसबखत जम्माजम्मी २५–३० ओटा चित्र तयार पारिएका थिए।

उक्त कार्यका शुरूदेखि अन्तिमसम्मका कलाकार सुजन चित्रकार भन्छन्– लगभग तीन–चार महीना लाग्यो होला चित्र तयार हुन । युद्धकालीन चित्रको सम्पूर्ण अन्तिम स्वरूप मेरो बुबा मिश्रीमान चित्रकार र काका केशरमान चित्रकारले गर्नुभयो । त्यसअघि धेरै रेखाचित्रहरूको नमूना तयार पार्ने काम भयो । त्यस कार्यमा म र युवक श्रेष्ठले प्रारम्भिक रेखाचित्रहरू प्रशस्तै बनाएका थियौं । समुद्रमानसिंह श्रेष्ठ र उत्तम श्रेष्ठले पनि उक्त चित्रलाई अन्तिम रूप दिन सघाएका थिए । मैले पनि केही चित्र बनाएर पूर्णता दिने काम गरेको थिएँ।

सरदार भक्ति थापाको नेतृत्वमा मलाउँ, देउथलको लडाइँको झलक दिने कलाकार श्रीजन राजभण्डारीकाे चित्र ।

अन्ततः कलाकारहरूको सामूहिक सिर्जनात्मक कर्मले साकार रूप लिन सक्यो । यसमा अनेकौं युद्ध मैदानका रेखाचित्रहरू तयार पारियो । केर्दै, मेट्दै, सच्याउँदै, सुधार्दै आखिर ती युद्धकालीन समयलाई कलात्मक स्वरूप प्रदान गर्न चित्रकारहरू सफल रहे । जुन चित्र हेरेर आज पनि हाम्रा आँखा रसाउँछन् । मन झस्किन्छ र रगत उम्लिन्छ हाम्रा वीर स्वाभिमानी पुर्खाहरूको योगदानलाई देखेर । इतिहासले कहिल्यै पनि बिर्सिन नसक्ने र बिर्सिन नमिल्ने देशको एक गौरवमय इतिहासको पाटो । हाम्रा वीर पुर्खा सधैं अमर छन्, जसले आफ्नो देशको सिमाना रक्षार्थ जिन्दगी बलिदान दिए।

यसैगरी अर्का चित्रकार श्रीजनकुमार राजभण्डारीले पनि गत २०७६ सालमा यस्तै ऐतिहासिक चित्रकलाको सिर्जनात्मक कर्म सम्पन्न गरेका छन् । उनले नेपाली सेनाको भद्रकालीस्थित सैनिक मुख्यालयमा १० फिट चौडाइ र ३० फिट लम्बाइको भित्ते चित्रकला बनाएका हुन् । सरदार भक्ति थापाको नेतृत्वमा मलाउँ, देउथलको लडाइँको झलक दिने चित्र निकै कलात्मक र त्यतिकै ऐतिहासिक घटनालाई सजीवता प्रदान गर्न सफल रहेको छ।

ती चित्रबारे जानकारी दिंदै उनी भन्छन्– चित्र बनाउनका लागि निकै अध्ययन र अनुसन्धान गर्नुपर्‍यो । त्यो वेलाको पोशाक, हतियार आदि कस्तो किसिमको थियो भन्ने तथ्य खोजियो । यस किसिमको चित्र बनाउँदा वेग्लै राष्ट्रिय भावना र गौरवमय स्वाभिमान एकसाथ आए । त्यो उमेरमा पनि देशको सिमाना रक्षामा भक्ति थापाको देशप्रेम साँच्चै महान् छ । चित्र तयार हुनुभन्दा पनि सन्दर्भ–सामग्री र रेखाचित्रहरूको नमूना सम्बन्धित विषयको विज्ञसँग छलफल गर्दै अन्तिम रूप दिन निकै समय लाग्यो ।

वास्तवमा युद्धसँगै तत्कालीन झलकलाई कलामा उतार्ने कलाकारको योगदानलाई कम महत्व मान्न सकिंदैन । जुनवेला तस्वीर वा भिडियो खिचिने चलन कहाँ हुनु ? त्यसमाथि युद्ध जस्तो जीवनमरण र हारजितको सङ्गीन समयमा । ढिलै भए पनि हाम्रा कलाकारहरूले देशको ऐतिहासिक घटनाक्रमलाई युद्धचित्रका माध्यमबाट अभिलेखन गरे । यो भावी पुस्ताका लागि पनि इतिहास अध्ययन र अध्यायको सुनौलो पृष्ठ हुने निश्चित छ । विश्व कलाजगतमा जस्तै भविष्यमा नेपाली कलामा पनि युद्धकलाको उपस्थितिले एक अलग्गै कालखण्ड निर्माण गर्न सक्ने विश्वास गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस