कला/साहित्य शनिबार, वैशाख १३, २०७७

कलामा आमा, आमामा कला

हिमालखबर

कलामा आमा, आमामा कला
ब्रुनाे डोना मार र राफायल काे चित्र ।
ज्ञानेन्द्र विवश

कलामा आमाका अनेक विम्बहरू शताब्दिऔंदेखि चित्रित हुँदै आएका छन् । मानवीय प्रेम र आमाप्रतिको हार्दिक भावनालाई कलामा अझ संवेदनशील रूपमा आकृतिबद्ध गर्न विश्वप्रसिद्ध कलाकारहरूसमेत सक्रिय रहेको पाइन्छ । आमा र बच्चाहरूसहितका ती चित्र त्यत्तिकै प्रसिद्ध र उत्तिकै महँगा पनि छन् ।

यसका साथै ती चित्रमा पाइने सौन्दर्य चेतना र कलाकारी सिर्जना आजसम्म पनि रहस्य तथा चुनौतीको विषय बनेर रहेको छ । यस आलेखमा केही विश्वप्रसिद्ध कलाकारको चर्चासँगै नेपाली कलामा ‘आमा विम्ब–विधान’ का कलाकर्मीहरूको सिर्जनात्मक उपस्थितिमाथि संक्षिप्त चर्चा गरिन्छ ।

देवीका अनेक रूप तर तिनमा क्रोधभन्दा मातृ वात्सल्यको झल्को पाइन्छ । आमाको स्नेहमय हार्दिकता भन्नु नै आफ्ना सन्तानप्रतिको ममता हो । त्यसैले आमाको मायाभन्दा ठूलो यो संसारमा अरू केही छैन । आमाको महिमा गाएर सकिँदैन । आमाप्रतिको श्रद्धा र भक्ति प्रत्येक सन्ततिका लागि एक अवसर हो । यही अवसरको उपयोग हेतु यस साता आमाको मुख हेर्ने संस्कृतिलाई निरन्तरता दिइएको छ ।

‘आमा’ चित्र बनाउने विश्वप्रसिद्ध कलाकारहरू लियोनार्दो दा भिन्ची, पाब्लो पिकासो, राफायल, एन्जेलिका कफम्यान, पिटर पौल रुवेल्स, जोर्जोन, पर्मिजियोनिनो आदि छन् । रहस्यमय छ, दुई बच्चाकी २४ वर्षीया आमा मोनालिसाको चित्रमा दिव्य सुन्दरता, अलौकिक र रहस्यम मुस्कान ।

‘ला फोर्नारिना’ नामक आमाको अर्को चित्र विश्वप्रसिद्ध कलाकार राफेलकी प्रेमिकाको । उनले बनाएका ‘आमा र बच्चा’ सहितका अरू कैयौं चित्र प्रसिद्ध छन् । विश्वविख्यात कलाकार पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ करिब चार अर्ब ६२ करोड रुपैयाँमा लिलाम बिक्री भएको सन्दर्भ पनि यहाँ स्मरणीय हुन्छ । पिकासोले आफ्नी प्रेमिका डोना मारको ‘सिटेड वुमेन इन ब्लु ड्रेस’ नामक चित्र बनाएका थिए ।

पिकासोले आमा र बच्चा शृङ्खलामा निकै चित्र बनाएका छन् । त्यसमध्ये ‘वुमेन अफ अल्जियर्स’ नामक चित्र सन् २०१५ मा करिब १८ अर्ब ३६ करोड रुपैयाँमा लिलामीमार्फत् बिक्री गरेको थियो । पिकासोको बिक्री भएकामध्ये ‘वुमेन अफ अल्जियर्स’ अहिलेसम्मकै सबैभन्दा मूल्यवान चित्रकला मानिएको छ । जुन चित्रमा एउटी ममतामयी आमाको स्वरूप उतारिएको छ ।

मस्कोस्थित प्राच्य कलासङ्ग्रहालयमा रहेको आमासँग सम्बन्धित चित्र नेपाली कलाका अग्रज चन्द्रमानसिंह मास्केको एक अनुपम सिर्जना मान्न सकिन्छ । जहाँ नेपाली महिलाको तत्कालीन भेषभुषा र अनुहार आकृतिको निश्चल प्रतिविम्ब दृष्टिगोचर हुन्छ । आमाको दिव्य अनुहारलाई उनले अरू चित्रहरूमार्फत् पनि उत्तिकै जीवन्त र त्यत्तिकै सशक्त रूपमा चित्रण गरेका छन् ।

कलाकार ज्योतिप्रकाश वि.क.को तीन वर्षअघि भएको चित्रकला प्रदर्शनीमा ‘आमा’ शीर्षक दिइएको थियो । उनले दुई वर्ष लगाएर बनाएका आमाका व्यथा कलामा चित्रण गरिएका थियो । कलाकारले कलाभित्र आमा खोजिरहेका थिए । उनले सेतो क्यानभासमा सेतै रङको प्रयोग गरी आमाको जीवनका विविध आयाम प्रस्तुत गरेका थिए । आमा आफैंमा व्यापक शब्द भएको र आमा शब्दले देशको अवस्थालाई प्रतिनिधित्व गर्ने उनको दाबी थियो । अन्ततः उनका कलाले हजारौँ आमाका कथा, व्यथा र यथार्थलाई चित्रमा भल्काउने प्रयत्न गरेको थियो । सबै आमाहरूकै सम्मानखातिर ‘आमा’ शीर्षकमा कलासिर्जना गरेर कलाकार ज्योतिले साँच्चै आमाहरूको अभिवन्दना नै गरेका थिए ।

त्यसैगरी गत वर्षमात्रै ग्यालरीमा हँसिली आमाको आकृतिलाई चित्रकार सन्ध्या सिलवालको ‘आमा शृङ्खला’ चित्रले जीवन्तता दिएको थियो । उनले आमा केन्द्रित भएर बनाएका चित्रकलामा आमाको मुस्कान मात्र हैन, त्यसको अर्थ र आमाको महत्वलाई मनन गर्न सकिन्थ्यो । चार महिना लगाएर पेपरकट विधिमार्फत् उनले आफ्नै आमा र गुरुआमाको गरी नौवटा चित्र बनाएकी थिइन् ।

त्यसैगरी वरिष्ठ मूर्तिकारद्वय ठाकुरप्रसाद मैनाली र लय मैनालीले आमा र बच्चा शृङ्खलामा थुप्रै मूर्तिकला सिर्जना गरेका छन् । अर्का कलाकार राधेश्याम मुल्मीको मातृत्व प्रेमका चित्र हुन् अथवा कृष्णगोपाल रञ्जितको ‘आमा र बच्चा’ मूर्तिकला आमाप्रतिको हार्दिक श्रद्धाका सिर्जना हुन् । आमा र बच्चाको माया, प्रेम भनेको कस्तो हुँदोरहेछ भनेर झल्काउन बनाइएका कलामा मानवीय संवेदना प्रकट भएको स्वतः अनुभव हुन्छ ।

कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठको ‘मातृत्व’ शीर्षकको कलामा गर्भवती महिलाको कथालाई प्रतीकात्मक रूपमा व्यक्त गरी आकार दिएको कलामा कविहरूले कवितासमेत लेखेका थिए । अर्का मूर्तिकार विश्वम्भर लामिछानेले ‘मातृत्व प्रेम’ शीर्षकको कलामा एउटी आमाले छोरीलाई काखी च्यापेर बोकेको दृश्यले दर्शकलाई निकै भावुक बनाएको सन्दर्भ यहाँ सम्झना हुन्छ ।

त्यस्तै चित्रकार कृष्ण लामाको एकल कलाप्रदर्शनीमा उनले गर्भवती महिलाको विभिन्न गतिविधिलाई समेटेका थिए । आमा र बच्चामाथि २३ वटा चित्रकलाहरू समावेश भएका थिए । नौ महिनाको अवधिमा गर्भवती महिलाले भोग्ने मानसिक र शारीरिक प्रभावलाई उनले चित्रमार्फत प्रस्ट्याएका थिए । उनले बच्चाको अवस्था र महिलाले गर्नुपर्ने शारीरिक व्यायामलाई कलात्मक शैलीमा प्रस्तुत गरेका थिए ।

ठाकुर पी मैनालीकाे धातुकाे कला  र पिकासाेकाे चित्र । 

यसैगरी चित्रकार सपना शाहले आफ्नो आमाको ममतालाई कल्पना गरेर चित्र कोरेकी थिइन् । आमा र सन्तानको सम्बन्धलाई उनले कलामा प्रस्तुत गरेकी थिइन् । मानिस, प्रकृति र पक्षीको अटुट सम्बन्धलाई चित्रमा उतार्ने कलाकार भीम शर्माले गौँथली र मानिसको सम्बन्धको विभिन्न आयाम कोरेका थिए । भोको गौँथलीको मुखमा आमाको दूध तपतप खुवाउँदै गरेको चित्र हृदयविदारक र मातृत्व प्रेमको एक जीवन्त प्रतीक हो ।

उता चीनका कलाकार ली फु छाङले आफ्नी आमालाई खुसी राख्न तथा हँसाउनका लागि आमाका विविध अनुहार–आकृति बनाएका थिए । यता धनगढीमा जन्मिएका भरत सिंह जो मुम्बईमा बसेर चित्रकारितामा सक्रिय छन् ले नेपालमा पहिलो पटक गत साल एकल चित्र प्रदर्शनी गरे । उक्त प्रदर्शनीमा उनले विद्यादेवी भण्डारी, आनी छोइङ डोल्मा, हिमानी शाह, अम्बिका श्रेष्ठ, ऐश्वर्या राय आदि आमाहरूका अनुहारलाई चित्रित गरेका थिए ।

यसरी आमालाई चित्रकलामा आकार दिने अन्य कलाकारहरूमा एरिना ताम्राकारले पनि एकताका आमाको मातृत्व झल्किने सुन्दर सिर्जना गरेकी थिइन् । यसअघि अमर चित्रकार र डिबी चित्रकारले पनि तेल र पेष्टल माध्यममा आमाको आकृतिलाई कलात्मक उचाइमा उतारेका थिए ।

प्रतिकृया दिनुहोस