कोभिड-१९ शुक्रबार, असार ५, २०७७

'क्वारेन्टिनमा ममाथि जबर्जस्ती गर्नेहरुले उन्मुक्ति नपाऊन्'

हिमालखबर

'क्वारेन्टिनमा ममाथि जबर्जस्ती गर्नेहरुले उन्मुक्ति नपाऊन्'

''म कैलाली जिल्लाको लम्कीचुहाको क्वारेन्टिनमा बसेको ३१ जेठमा १२ दिन भएको थियो । म भन्दा अगाडि आएकाहरूलाई १३/१४ दिन पुगेको भनेर घर पठाएको देखें। अब दुई दिनपछि त घर जान पाइन्छ भन्ने लागेको थियो । परिवार र बच्चाहरूलाई पनि भेट्न पाएकी थिइनँ । तर, ३१ जेठको राति ममाथि क्वारेन्टिनमै जबर्जस्ती भयो।

म चार महीनादेखि बिरामी छु । छालाको समस्या छ । म भारतमा हुँदा पनि उपचार गराइरहेकी थिएँ । यो घटना भएपछि कहिले पुलिसकहाँ कहिले वकिलकहाँ गर्दा बिमार झन् बढेको छ । हिजो त दिनभरि उठ्नै सकिनँ।

श्रीमानले अर्को बिहे गरेर भारत गएपछि मैले साना छोराहरूलाई साह्रै दुःख गरेर हुर्काएँ । उनीहरूकै भविष्य सोचेर दुई वर्षअघि बैङ्गलोर गएँ । त्यहाँ आफन्त र नातागोता धेरै हुनुहुन्छ । उहाँहरूकै नजिक बसेर काम गरेँ । एक वर्षअघि एकचोटि नेपाल आएर फेरि फर्केकी थिएँ।

बैङ्गलोरमै चार महीनाअघि मलाई छालाको रोग देखियो । त्यसपछि लकडाउन शुरु भयो । केही समय आफ्नै कोठामा र त्यसपछि २४ दिन जति आफन्तकोमा बसेँ । लकडाउन कहिलेसम्म लम्बिने हो भन्ने ठेगान नभएपछि नेपाल फर्किएँ।

२० जेठमा नेपाल आइपुगेपछि मलाई सिधै कैलालीको लम्कीचुहा नगरपालिका-१ को शहीद स्मृति माविमा बनाइएको क्वारेन्टिन सेन्टरमा लगियो।

३१ जेठको राति मलाई अलि सन्चो थिएन । टाउको साह्रै दुखिरहेको थियो, निदाउन सकिरहेको थिइनँ । रातिको १२ बजेको थियो । त्यहीँ काम गर्ने एकजना ‘स्टाफ’ (स्वयंसेवक) र अर्को ‘म डाक्टर हुँ’ (स्वास्थ्यकर्मी) भन्ने मान्छेले ममाथि जबर्जस्ती गरे।


त्यो ‘डाक्टर’ आएपछि ‘यसले त मलाई बचाउँछ कि’ भन्ने आशा लागेको थियो । त्यसैले उसको नजिकै गएर ‘आफ्नै बहिनी सम्झिएर मलाई बचाउनुहोस् दाइ ! यो राक्षसले मलाई जबर्जस्ती गर्‍यो’ भनेर धेरै बिन्ती गरेँ । तर, त्यसले पनि ममाथि जबर्जस्ती गर्‍यो । ती दुई जनाले मलाई पालैपालो जबर्जस्ती गरेको भिडियो अर्को एक जनाले कोठाबाहिर बसेर झ्यालबाट खिचिरहेको देखेँ।

त्यस दिन त्यो क्वारेन्टिनमा अरू ६ जना पुरुष पनि थिए । त्यहाँ म मात्रै महिला थिएँ । मलाई सबैभन्दा छेउको कोठामा राखिएको थियो । त्यो मध्यरातमा निकै ठूलो पानी परिरहेको थियो । जस्तापाताको छानामा पानी परेर ठूलो आवाज आइरहेको थियो । सबैले ‘मलाई नै दोष लगाउँछन् अब’ भन्ने लाग्यो । मलाई एकदम डर लागिरहेको थियो । मैले ठूलो स्वरले चिच्च्याउन पनि सकिनँ । बेस्सरी डर लागेपछि त चिच्च्याउन पनि नसकिने रहेछ!

मेरो लुगा त्यहीँ कोठाको एउटा कुनामा फालिदिएका रहेछन् । म सम्हालिएर फेरि आफ्नो कोठामा आएँ । बेन्चले ढोका छेकेँ । बेन्चलाई डोरीले बेरेर झ्यालमा बाँधे । अनि त्यही बेन्चमा बसें।

त्यतिवेला तिनीहरू फेरि मेरो ढोकामा आएर मसँग कुरा गर्न खोजिरहेका थिए । मैले ‘भोलि तिमीहरूलाई थाहा हुन्छ, म के गर्छु’ भनेँ । त्यसपछि त्यो भिडियो खिच्नेले ‘मैले भने जति पैसा दे । अनि बल्ल यो भिडियो डिलिट गर्छु । नत्र भने यो भाइरल गर्दिन्छु’ भन्यो।

‘पख ! भोलि तिमीहरूलाई के गर्छु ?’ भनेर मैले भनेको भन्यै गरेपछि उनीहरू त्यहाँबाट गए।

भोलिपल्ट आइतबार बिहानै मैले भाइलाई फोन गरेर ‘ममीलाई लिएर आइज’ भनें । भाइले ममीलाई लिएर आयो । म राम्रोसँग हिंड्न सकिरहेको थिइनँ। त्यो देखेपछि ममीले मलाई ‘के भयो ?’ भनेर सोधेको सोध्यै गर्नुभयो । त्यसपछि मैले ममीलाई सबै कुरा भन्दै थिएँ, भाइले पनि सुनिहाल्यो । उसले ‘मेरो दिदीलाई यहाँ क्वारेन्टिनमा यस्तो घटना भएछ’ भनेर हल्लीखल्ली गर्‍यो। त्यसपछि त्यहाँका सबै र अरूले पनि थाहा पाए।

दिउँसो धेरै जना वडा कार्यालय गएका थिए । त्यही वेलामा कसैले ढुङ्गा हानेछ । त्यही ढुङ्गाले लागेर मेरो बुहारीको दाहिने गाला र भित्र दाँतमा गहिरो चोट लाग्यो । उपचारको लागि नेपालगन्ज नै पुर्‍याउनुपर्‍यो । दु:खमाथि दु:ख थपियो।

यता, कैलालीमै त्यही राति मेरो स्वास्थ्य परीक्षण भयो । भाइको साथमा गएर इलाका प्रहरी कार्यालय, लम्कीमा किटानी जाहेरी पनि लेखाएँ । पछि, धनगढी गएर सरकारी वकिललाई भेटेर आएँ । अहिले अदालतमा मुद्दा चलिरहेको छ । मलाई त्यस्तो गर्ने दुई जना र त्यो भिडियो खिच्नेलाई प्रहरीले समातेको छ भन्ने सुनेको छु । ममाथि ‘त्यस्तो’ अपराध गर्नेहरूलाई सरकारले कडाभन्दा कडा सजाय दिनैपर्छ । उनीहरू उम्कन नपाऊन्।

यो घटना भएपछि मलाई एक मनले त ‘भैगो ! चुप लागेर बस्छु, सबैले मलाई नै दोषी मान्लान्’ भन्ने जस्तो लागेको थियो । तर, फेरि अर्को मनले ‘म चुप लागें भने त क्वारेन्टिनमा बस्ने अरू महिलालाई पनि यस्तै हुनसक्छ, त्यसैले बोल्नैपर्छ’ भनेर आँट जुटाएँ । यसमा मलाई आमा र भाइको साथ मिल्यो।

मलाई घरभित्र मेरो परिवारले साथ दिएको छ । छिमेकी र आफन्तले मेरो पक्षमा बोलेका छन् । सबैले मैले न्याय पाउनुपर्छ भनेका छन् । मैले न्याय कहिले पाउँछु?''

(बलात्कार पीडित महिलासँग 'कथा कोरोना 'समूहले गरेकाे कुराकानीमा आधारित)

कुराकानी मिति: २०७७ असार २, ३ र ४ गते

याे पनि पढ्नुहाेस्– 

‘ट्याक्सी चलाएरै गुजारा गर्ने म जस्तालाई गाह्रो भएकाे छ’

‘शल्यक्रियाका लागि रगत अभाव हुन थालेको छ’

'महिलालाई क्वारेन्टिनमा राखेर काम लगाउँदा ठग्छन् भन्नेहरुकाे कमी थिएन'

‘स्वास्थ्यसम्बन्धी प्राविधिक कुरामा हाम्रो देश धेरै पछाडि छ’

‘भान्सामा तरकारी कटौती गरेकी छु’

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघिसकेकाे छ। संक्रमण नियन्त्रणका लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो महीनामा छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिश हो, कथा कोरोना। २६ चैतदेखि कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाइ आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ती कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@himal_khabar

प्रतिकृया दिनुहोस