कोभिड-१९ विहीबार, जेठ २९, २०७७

‘ट्याक्सी चलाएरै गुजारा गर्ने म जस्तालाई गाह्रो भएकाे छ’

हिमालखबर

‘ट्याक्सी चलाएरै गुजारा गर्ने म जस्तालाई गाह्रो भएकाे छ’

आजकल त फेरि राहत बाँडेको भनेर पाँच किलो चामल र एक पोका नून दिएको फोटो पत्रिका, फेसबूक अनि टीभी सबैतिर हालिहाल्छन् । यो सबै देख्दा दिक्क लाग्छ ।

“मेरो नाम सुमन चौधरी हो । म विगत तीन वर्षदेखि बुटवलमा ट्याक्सी चलाउँदै आइरहेकी छु । बुटवलमा हामी आमा–छोरी बस्छौं। मेरी आमा ७० वर्षकी हुनुहुन्छ । आमालाई रोगका कारण अस्पताल लगिरहनुपर्छ । उपचारका लागि सजिलो होस् भनेर घर नवलपरासी भए पनि हामी बुटवलमा नै बस्छौं । बुटवल उपमहानगरपालिका शहरी क्षेत्र भएकाले ट्याक्सी चालकको काम पाउन पनि सजिलो छ । शायद बुटवलमा ट्याक्सी चलाउने म एकजना मात्रै महिला छु ।

तीन वर्ष अघिसम्म मैले प्राइभेट गाडीहरू चलाउँथें तर पछि एकजना साथीसँग मिलेर साझेदारीमा ट्याक्सी किन्ने सल्लाह भयो । जसको लागि मेरो घरबेटी दिदीले पनि सहयोग गर्नुभयो । हामी दुईजना मिलेर ट्याक्सी किन्यांै । त्यही ट्याक्सी मैले चलाउने गरेकी छु ।

दिनभर ट्याक्सी चलायो । त्यसबाट आएको पैसाले कोठाभाडा, आमाको उपचार र दैनिक गुजारा गर्दै आएकी थिएँ । गाडीको सर्भिसिङ र तेल खर्च पनि त्यही कमाइबाट गर्नुपर्ने भएकोले कमाएको खासै बचत थिएन ।

लकडाउन शुरू भएपछि बाहिर निस्कन मिलेन । ट्याक्सी चलाउने बन्द भयो । दैनिक कमाएर खर्च चलाउनुपर्ने मेरो र आमाको जीवन एकदम कष्टकर भएको छ । अहिले घरबेटी दिदीसँग सापटी मागेर घरखर्च चलाइरहेकी छु । सापटी गरेरै अब कति दिन चल्ने हो ? अब अत्यास लाग्न थालिसक्यो ।

यहाँ वडा कार्यालयबाट कतिपयले राहत लिइरहेको थाहा त पाएकी थिएँ । हामी यहींको स्थानीय बासिन्दा नभएकोले राहत पाइन्छ कि पाइँदैन थाहा छैन । आजकल त फेरि राहत बाँडेको भनेर पाँच किलो चामल र एक पोका नून दिएको फोटो पत्रिका, फेसबूक अनि टीभी सबैतिर हालिहाल्छन् । यो सबै देख्दा दिक्क लाग्छ ।

सरकारले बीचमा लकडाउन केही खुकुलो पारेको त थियो, तर संक्रमणको डर भएकोले बाहिर निस्कने आँटै गरिनँ । यस्तो वेलामा आफू जोगिए मात्र पो अरूलाई जोगाउन सकिने रहेछ । मेरो ट्याक्सी चढ्ने धेरैजसो ग्राहकहरूले बिरामी परेको वेला र अरू केही इमर्जेन्सी परेकोे वेला अहिले पनि फोन गरेर बोलाउनुहुन्छ । तर मसँग पास छैन । पास नभएकाले मानवीय धर्म पनि पूरा गर्न पाएको छैन । यस्तो वेलामा अझै दुःख लाग्छ ।”

याे पनि पढ्नुहाेस्– 

‘शल्यक्रियाका लागि रगत अभाव हुन थालेको छ’

'महिलालाई क्वारेन्टिनमा राखेर काम लगाउँदा ठग्छन् भन्नेहरुकाे कमी थिएन'

‘स्वास्थ्यसम्बन्धी प्राविधिक कुरामा हाम्रो देश धेरै पछाडि छ’

‘भान्सामा तरकारी कटौती गरेकी छु’

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघिसकेकाे छ। संक्रमण नियन्त्रणका लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो महीनामा छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिश हो, कथा कोरोना। २६ चैतदेखि कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाइ आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ती कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@himal_khabar

 

प्रतिकृया दिनुहोस