कोभिड-१९ मंगलबार, वैशाख २३, २०७७

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

हिमालखबर

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

“मेरो नाम सन्जु नापित हो । म बालकुमारीमा बस्छु। पेशाले म एक नर्स हुँ। र यो पेशामा संलग्न भएको १० वर्ष भयो। हाल म काठमाडाै‌ंकाे  एक अस्पतालमा प्रसुति तथा स्त्रीरोग विभागमा कार्यरत छु।

कोरोना भाइरसको संक्रमणका कारण वहिरंग सेवाहरु बन्द प्रायः छन्। तर म कार्यरत विभागले भने सुरक्षाका सबै उपायहरु अपनाएर दैनिक २० देखि २५ जना सम्म गर्भवती महिलाहरुलाई सेवा दिदै आइरहेको छ। कोरोना भाइरसका कारणले गर्दा सबै क्षेत्रहरु प्रभावित छन्। लकडाउनले गर्दा यस अस्पतालमा सेवा लिन आउने महिलाहरु विशेष रुपमा प्रभावित छन्।

यातायातका साधनहरु चलेका छैनन्, प्रायः सबै क्षेत्र बन्द भएका कारण आवतजावतमा नै समस्या छ। अझ त्यो भन्दा पनि बढी समस्या त अपरेशन गर्दा आवश्यक रगत सहज रुपले उपलब्ध नहुनु हो। अस्ति मात्र एक गर्भवती महिलाको अपरेशन गर्नु पर्ने थियो। उहाँलाई धेरै मात्रामा रगतको आवश्यकता पर्‍यो। उहाँको श्रीमान रगतको खोजीमा लाग्नु भयो तर सीमित समयमा त्यो संभव भएन। अपरेशन हाललाई स्थगित गर्ने निर्णय गरियो। ती गर्भवती महिला विहानदेखि भोकै हुनुहुन्थ्यो। तर सबै पसल र क्यान्टिन बन्द भएका कारण उहाँले खानेकुरा पाउनु भएन। मैले आफूसँग भएको बिस्कुट र चिया खाना दिएँ। पछि उहाँसँगैको बेडका अरु बिरामी कुरुवाले रोटी र तरकारी दिनुभयो।

म ब्लडपल समुदायको सदस्य पनि हूँ। यो समूहले आफ्ना सदस्यहरु माझ रगतको आवश्यकताको सूचना संचार गर्छ र आवश्यक परेको समयमा रगत उपलब्ध गराउन सहयोग गर्छ। म आफू काम गर्ने हस्पिटलमा यस्तो अवस्था देखेपछि मैले आफ्नो पहल र ब्लडपलसँगको सहकार्यमा आफ्नै टोल छिमेकमा रक्तदान कार्यक्रम सञ्चनलन गर्दैछु। धेरै सहयोगी मनहरुले मेरो यस अभियानमा साथ दिंदै हुनुहुन्छ । मलाई आशा छ यसले धेरै गर्भवती महिलालाई मृत्युबाट जोगाउनेछ।

अहिले लकडाउनको बेला सबैजना आफ्नो परिवारसँग हुनुहुन्छ। मेरो ४ वर्षको छोरा र श्रीमान भने विराटनगरमा हुनुहुन्छ। आमाको मन, छोरालाई धेरै 'मिस' गर्छु, कहिले लकडाउन खुल्ला र छोरालाई भेटुँ जस्तो भएको छ । यो अवस्थामा आफ्नो कामबाट बिदा लिएर परिवार भएको ठाउँमा जान त मन लाग्छ नै तर पनि मेरो नैतिकता अरुको सेवा गर्नु हो।"

याे पनि पढ्नुहाेस्–

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।

विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिलाविपन्न वर्गसिमान्तिकृतअपांगता भएका व्यक्तिहरुलैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।

मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@HImal_khabar

प्रतिकृया दिनुहोस