कोभिड-१९ बुधबार, वैशाख २४, २०७७

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

हिमालखबर

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

“म कुन्ता थापा अहिले काठमाडौं, कपनमा बस्छु। ब्याङ्कमा काम गर्ने भएकाले अफिस सधैं जानुपर्छ। अफिसमा स्यानिटाइजर, मास्क र पञ्जा अनिवार्य प्रयोग गर्छौं। ब्याङ्कमा पैसाको कारोबार त हुने नै भयो। सेवाग्राहीले दिएको चेक र पैसामा पनि स्यानिटाइजर लगाएर मात्रै लिन्छौं।

घरमा म, श्रीमान् र छोरा गरी तीन जनाको परिवार छ। श्रीमान्‌को स्पाइनल कर्ड इन्जुरी भएको धेरै वर्ष भयो। उहाँका लागि दैनिक औषधि चाहिन्छ। खाद्यान्न अलि समयका लागि जोहो गरेको भए पनि औषधि किन्न पाइएला भनेर धेरै किनिएन। उहाँले प्रयोग गर्ने औषधि सकियो। मैले कपनमा भएका तीन–चार वटा औषधि पसलमा खोजें कतै पाइनँ। पछि अनलाइन अर्डर गरेर औषधि लियौं।

घर बाहिर निस्केर हिंड्न पनि डराउनुपर्ने दिन आयो । हुनत आफ्नो लागि डराउनुपर्ने हो। आफ्नो नै हेरचाह गर्नुपर्ने हो। तर घरी–घरी आफ्नो ख्याल गर्ने सुरमा हामीले मानवता नै भुल्न लागेछौं कि जस्तो लाग्छ।

छिमेकमा अलि दिन अगाडि शोक पर्‍यो। अस्पतालमा उपचारका क्रममा छिमेकीको मुटु रोगका कारण मृत्यु भयो। दुई छोराहरू अमेरिका बस्ने । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको हुनाले उनीहरू नेपाल आउन सम्भव भएन। लकडाउनले गर्दा धरानमा रहेका उहाँका अरू आफन्त पनि लाश उठाउन आइपुग्न सक्नुभएन।

हामी यहीं छत जोडिएका छिमेकी अस्पतालसम्म पुगेर आर्यघाट जान निकै समस्या भयो। अस्पतालमा उहाँकी श्रीमती र छोरी–ज्वाईं मात्रै। लाश उठाउने मान्छे भएनन् भनेर अस्पतालबाट फोन आयो। रोगसँग डर छ भन्दैमा मर्दा–पर्दा सहयोग नगर्न नि त भएन !

‘मर्दा–पर्दाको छिमेकी’ उखानै छ, कहाँ गयो ? मरेको वेलामा सहयोग नगर्ने नि के छिमेकी भनेर मैले अस्पताल जाने निर्णय गरें । त्यसपछि भने छिमेकका अरू ७–८ जना पनि जान तयार हुनुभयो। बेलुकाको समय थियो। हामीले गएर अन्त्येष्टि गर्‍यौं।

कोरोनाका कारण हामीले यस्तो दिन पनि देख्नु र भोग्नुपर्‍यो। आशा गरौं, यो संकट छिट्टै नै टर्नेछ।”

याे पनि पढ्नुहाेस्– 

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ। संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो सातामा छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिलाविपन्न वर्गसिमान्तिकृतअपांगता भएका व्यक्तिहरुलैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना। २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखि हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@HImal_khabar

प्रतिकृया दिनुहोस