कोभिड-१९ विहीबार, वैशाख २५, २०७७

‘भान्सामा तरकारी कटौती गरेकी छु’

हिमालखबर

‘भान्सामा तरकारी कटौती गरेकी छु’

“मेरो नाम यमुना घले हो । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन अहिले हामी सबैजना घरमै छौं । सबै संसारै लकडाउन गरे पनि मान्छेको पेट लकडाउन गर्न सम्भव छैन । बढीमा तीन–चार दिन त सकिएला तर खानेकुरा भएन भने धेरै गाह्रो हुन्छ । त्यसैले संकटका वेला सबैभन्दा पहिले हामी खानेकुराको जोहो गर्न थालिहाल्छौं ।

मैले लामो समय कृषि र खाद्य सुरक्षाको क्षेत्रमा काम गरें । तर यो लकडाउनले मलाई अहिले खाद्यान्न उब्जनी हुने माटोलाई झन् नजिकबाट चिन्ने मौका दिएको छ । अहिले घरमा बसिरहेका वेला मैले भान्सा र करेसाबारीमा धेरै समय बिताएकी छु । यसबाहेक खाद्यान्न, पौष्टिकता र खाद्य सुरक्षाको बारेमा पढ्ने, लेख्ने, स्थानीय तहका जनप्रतिनिधिहरूलाई यसबारेमा जानकारी दिने काम पनि गरिरहेकी छु ।

आफ्नै करेसावारीमा यमुना घले ।

खाद्य सुरक्षा र संरक्षणको उपाय आफ्नो घरमा प्रयोग गर्न पाउँदा नयाँ सिकाइ पनि भइरहेको छ । मैले आज मात्रै लसुनको पात मासको दालमा मिसाएर मस्यौरा बनाएँ । अब त्यो मस्यौरा जहिले खान पनि मिल्छ । कोभिड–१९ को महामारी र यसपछिको अवस्थामा आउन सक्ने खाद्य संकटलाई विचार गरेर अहिलेदेखि नै हामी सबैले खानेकुरा र बीउहरू जोगाउन थाल्नुपर्छ ।

अर्को कुरा, अहिले लकडाउनका वेला हामीसँग पर्याप्त खानेकुरा घरमा नहुन सक्छ । बजारमा भए पनि एकैचोटि किन्नका लागि पैसा नहुन सक्छ । त्यसैले हाम्रो भान्सामा दाल–भात बाहेक अन्य विकल्प पनि खोज्न सकिन्छ । आमाबुवाले पहिला सिकाउनुभएको कुरा अहिले म आफ्नो भान्सामा प्रयोग गर्दैछु । मैले गहुँको पानीरोटी बनाएँ । तरकारीहरू, गहुँको पीठोकोे साना–साना रोटी, पानी, दाल एकैठाउँमा पकाएर खाँदा पौष्टिक आहार पनि पुग्छ र खानाको उपयोग पनि कम हुन्छ ।

मैले हाम्रो भान्सामा तरकारीको संख्या पनि कटौती गरेकी छु । अहिले अरू वेला जस्तो एकै छाकमा दुई–तीन थरी तरकारी खाने वेला छैन । मैले त सुकाएर राख्न मिल्ने खालका तरकारीहरूलाई भण्डारण पनि गर्न थालिसकें । हामीसँग उपभोग गर्न मिल्ने तर उपयोगमा नआएर खेर गइरहेका धेरै खाद्यान्न हुँदारहेछन् । तिनलाई व्यवस्थापन गर्नतिर हामी त्यति जाँगर चलाउँदा रहेनछौं । यसले गर्दा मैले नयाँ–नयाँ कुराहरू पनि पत्ता लगाइरहेकी छु ।

मैले करेसाबारीमा तुरुन्तै उत्पादन भइहाल्ने खालका तरकारीहरू जस्तै: फापर, तोरी, सस्र्युंको साग लगाइसकें । अब यो लगभग १५ दिनमै खानका लागि तयार हुन्छ । हामी सबैले सम्भव भएसम्म करेसाबारी, कौसी, गमला वा बोरामा पनि यस्ता तुरुन्तै खान मिल्ने तरकारी लगायौं भने हामीलाई ताजा तरकारीको खाँचो हुँदैन । यसले खाद्य व्यवस्थापनमा पनि सहयोग पुर्‍याउँछ । हरेकको प्रयासले यसलाई सम्भव बनाउँछ ।

सरकारले पनि यो महामारीको असरका कारण पछि आउन सक्ने खाद्यान्न अभावलाई ध्यानमा राखेर योजनाहरू बनाउन थालिहाल्नुपर्दछ । स्थानीय सरकारले गहुँको न्यूनतम मूल्य तोकेर कृषकहरूसँग भएको गहुँ खरीद गरी भण्डारणको व्यवस्था गर्न सक्छ । मकै र लहरेबालीका लागि बीउ र मलको तुरुन्तै व्यवस्था गरेमा केही महीनामै यी बालीहरू खानका लागि तयार हुन्छन् । त्यतिवेलासम्म अरू कार्ययोजनाहरू बनाएर खाद्य संकट रोक्न सकिन्छ । अन्तर्राष्ट्रिय श्रम बजारमा आउने संकुचनका कारण धेरै युवाहरू स्वदेश फर्किएका छन् र अझै फर्कने छन् । ती युवालाई कृषि पेशामा संलग्न गराएर आत्मनिर्भर बनाउन सरकारका लागि यो अवसर पनि हो ।”

याे पनि पढ्नुहाेस्– 

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ। संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो सातामा छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिलाविपन्न वर्गसिमान्तिकृतअपांगता भएका व्यक्तिहरुलैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना। २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखि हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@himal_khabar

 

प्रतिकृया दिनुहोस